काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद ज्वाला सङ्ग्रौलाले प्रतिनिधिसभाको बैठकमा सभामुखको मानमर्दन हुने गरी बोलिएका शब्दहरू रेकर्डबाट हटाउन माग गरेकी छन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा प्रतिपक्षी दलका नेताहरूको व्यवहार र शब्द चयनप्रति आपत्ति जनाउँदै यस्तो बताएकी हुन् ।
उनले नियमावलीको नियम २१ को खण्ड ‘ख’ उल्लेख गर्दै भनिन्, ‘सभामुखले पद अनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने स्पष्ट कानुनी व्यवस्था छ । तर, यहाँ जुरुक्क उठेर सभामुखले कान सुन्नुहुन्छ कि हुँदैन भन्दै प्रश्न गरिन्छ, यो कस्तो नियत हो ?’
उनले प्रतिपक्षी बेन्चका नेताहरूलाई चुनौती दिँदै त्यस्तो भाषाको अर्थ र आधार प्रस्ट पार्न माग गरिन् । उनले भनिन्, ‘सभामुखलाई सोधिएको कान सुन्नुहुन्छ कि हुँदैन’ भन्ने शब्द या त संसद्को रेकर्डबाट तत्काल हटाइयोस् । यदि हटाइँदैन भने त्यसलाई जस्ताको तस्तै राखियोस्, ताकि भोलिको पुस्ता र इतिहासले हेरोस् कि प्रतिपक्षी बेन्चमा हामीले कस्ता–कस्ता दिग्गज सांसदहरू पठाएका थियौँ ।’
एमाले सांसद राजेन्द्र राईले सभामुख डीपी अर्याललाई कान सुन्नुहुन्छ कि सुन्नुहुन्न भनेपछि सङ्ग्रौलाले नियमापत्ति जनाएकी थिइन् ।

प्रतिक्रिया