काठमाडौँ । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।
जसअनुसार कार्य विभागमा कार्यरत एआईजी उमा चतुर्वेदीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सीआईबीका एआईजी डा. मनोज केसीलाई अपराध अनुसन्धान विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा एआईजी सुशील सिंह राठौर र रानीपोखरीमा रहेका एआईजी ईश्वर कार्कीको मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ ।
त्यस्तै, मानव स्रोत विकास विभागका एआईजी राजन अधिकारीलाई नेपाल प्रहरी प्रशिक्षण प्रतिष्ठान, एकेडेमीका एआईजी सिद्धिविक्रम शाहलाई कार्य विभाग, प्रदेश समन्वय विभागका एआईजी डम्बर विकलाई प्रशासन विभागमा र प्रशासन विभागका एआईजी हिमालयकुमार श्रेष्ठलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ ।

प्रतिक्रिया