बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसमा पुनरागमन गरेको पहिलो वर्षमै क्रिप्टोकरेन्सीसम्बन्धी व्यवसायबाट १ अर्ब अमेरिकी डलरभन्दा बढी आम्दानी गरेका छन् । सन् २०२५ को अनिवार्य वित्तीय विवरणअनुसार ट्रम्पले आफूले राष्ट्रपति पद सम्हाल्नुअघि सार्वजनिक गरेको ‘ट्रम्प मेम क्वाइन’बाट ६३ करोड ५० लाख डलर रोयल्टी प्राप्त गरेका छन् । उक्त मेम क्वाइनको मूल्य भने सार्वजनिक भएपछि उल्लेखनीय रूपमा घटेको छ।
त्यस्तै, उनका छोरा तथा विशेष दूत स्टिभ विटकोफका सन्तानहरूले स्थापना गरेको क्रिप्टोकरेन्सी कम्पनी वल्र्ड लिबर्टी फाइनान्सियलबाट ट्रम्पले ५० करोड डलरभन्दा बढी आम्दानी गरेको खुलासा भएको छ ।
पछिल्लो वित्तीय विवरणअनुसार ट्रम्पको आम्दानीमा घरजग्गा व्यवसाय, गल्फ क्लब तथा ट्रम्प ब्रान्डका विभिन्न उत्पादनबाट भएको आम्दानी पनि समावेश छ। तर ह्वाइट हाउसले भने राष्ट्रपतिको पदको दुरुपयोग गरी आर्थिक लाभ लिएको आरोप अस्वीकार गरेको छ।
ह्वाइट हाउसकी उपप्रेस सचिव एना केलीले ट्रम्पले अमेरिकालाई ‘विश्वकै क्रिप्टो राजधानी’ बनाउने अभियान अघि बढाएको उल्लेख गर्दै राष्ट्रपति वा उनको परिवारले कुनै पनि स्वार्थको द्वन्द्वमा संलग्न नभएको दाबी गरेकी छन्।
एक समय बिटक्वाइनलाई ‘ठगी’ र ‘भविष्यको विपत्ति’ भन्दै आलोचना गर्ने ट्रम्पको पछिल्लो वित्तीय विवरणले भने उनको क्रिप्टो आम्दानीले घरजग्गा व्यवसायबाट भएको आम्दानीलाई समेत उछिनेको देखाएको छ।
विवरणअनुसार फ्लोरिडास्थित मार–ए–लागो क्लबबाट उनले करिब ७ करोड ७० लाख डलर तथा डोरालस्थित गल्फ क्लबबाट १२ करोड २० लाख डलर आम्दानी गरेका छन्। न्यू जर्सीको बेडमिन्स्टर, फ्लोरिडाको जुपिटर र स्कटल्यान्डको टर्नबेरीस्थित गल्फ क्लबबाट पनि उनले प्रत्येकबाट ३ करोड डलरभन्दा बढी आम्दानी गरेका छन्।
ट्रम्पले ट्रम्प ब्रान्डका घडी, बाइबल, जुत्ता, सुगन्धित वस्तु र गिटार बिक्रीबाट ४७ लाख डलर रोयल्टी प्राप्त गरेका छन्।
प्रथम महिला मेलानिया ट्रम्पले पनि गत वर्ष सार्वजनिक भएको आफ्नै वृत्तचित्रसँग सम्बन्धित लाइसेन्स सम्झौताबाट १ करोड ७० लाख डलर तथा एनएफटी बिक्रीबाट ६० लाख डलर आम्दानी गरेको विवरणमा उल्लेख छ।
यसैगरी, ट्रम्पले एबीसी, सीबीएस, मेटा, युट्युब र एक्सविरुद्धका विभिन्न कानुनी मुद्दाको सम्झौतामार्फत करोडौं डलर प्राप्त गरेका छन्। ह्वाइट हाउसका अनुसार उक्त रकमको अधिकांश हिस्सा ट्रम्पको भावी राष्ट्रपति पुस्तकालय र गैरनाफामूलक संस्थामा खर्च गरिनेछ।
फोब्र्सका अनुसार ट्रम्पको अनुमानित कुल सम्पत्ति हाल ६ अर्ब डलर पुगेको छ, जुन सन् २०२४ मा २ अर्ब ३० करोड डलर थियो। ब्लूमबर्ग बिलिनेयर्स इन्डेक्सले भने उनको सम्पत्ति ७ अर्ब ६० करोड डलर रहेको अनुमान गरेको छ।
ह्वाइट हाउसमा फर्किएपछि ट्रम्पले क्रिप्टो उद्योगप्रति अनुकूल नीति अपनाएका छन्। उनले गत जुलाईमा ‘जिनियस एक्ट’ मा हस्ताक्षर गर्दै अमेरिकालाई डिजिटल सम्पत्तिको क्षेत्रमा विश्वकै अग्रणी राष्ट्र बनाउने लक्ष्य अघि सारेका छन्।

प्रतिक्रिया