परकम्पले भेनेजुएलाका भूकम्पपीडित थप त्रसित


बीबीसी । गत साताको शक्तिशाली भूकम्पबाट प्रभावित भेनेजुएलाका धेरै क्षेत्रमा सरकारी सहयोग अझै प्रभावकारी रूपमा पुग्न नसक्दा स्थानीय बासिन्दा आफैं उद्धार तथा राहत कार्यमा जुट्न बाध्य भएका छन् ।

सबैभन्दा बढी प्रभावित बन्दरगाह सहर ला ग्वाइरामा स्थानीयले फलामका रड, हथौडा र कोदालोको सहायताले आफन्त र छिमेकीलाई भग्नावशेषबाट निकाल्ने प्रयास गरिरहेका छन्। दशौँ हजार मानिस अझै बेपत्ता रहेको अनुमान गरिएको छ।
सोमबार बिहान आएको ४.६ म्याग्निच्युडको परकम्पले प्रभावित क्षेत्रमा पुनः त्रास फैलाएको भए पनि थप क्षतिको विवरण प्राप्त भएको छैन।

अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजका अनुसार हालसम्म भूकम्पमा १,७०० भन्दा बढीको मृत्यु भइसकेको छ। उनले यसलाई भेनेजुएलाको इतिहासकै सबैभन्दा भीषण प्राकृतिक विपत्ति भएको बताएकी छन्।

अन्तर्राष्ट्रिय उद्धार तथा राहत सहयोग परिचालन भएपनि जीवित व्यक्तिको उद्धार हुने सम्भावना क्रमशः घट्दै गएको छ। यद्यपि सोमबार १०० घण्टाभन्दा बढी समय भग्नावशेषमा फसेका २१ वर्षीय आरोन लेभी कान्टिलो भार्गासलाई जीवित उद्धार गरिएको छ।

गत बुधबार उत्तरी ला ग्वाइरा राज्यमा ३९ सेकेन्डको अन्तरमा ७.२ र ७.५ म्याग्निच्युडका दुई भूकम्प जाँदा करिब ८०० भवन पूर्ण रूपमा भत्किएका थिए।

प्रभावित क्षेत्रमा स्थानीय स्वयंसेवक र अन्तर्राष्ट्रिय उद्धार टोली नै मुख्य रूपमा सक्रिय देखिएका छन् भने उद्धारमा सरकारी ढिलाइप्रति स्थानीयले असन्तुष्टि जनाएका छन्। स्थानीयका अनुसार भारी उपकरण समयमै परिचालन हुन नसक्दा धेरैको ज्यान जोगाउने अवसर गुमेको छ।

काराकास नजिकको एल जुनक्विटो क्षेत्रमा पनि सरकारी उपस्थिति न्यून रहेको भन्दै स्थानीयले किसान र समुदायकै सहयोगमा राहत वितरण भइरहेको बताएका छन्।

राष्ट्रपति रोड्रिगेजले २५ हजारभन्दा बढी आपतकालीन उद्धारकर्मी, प्रहरी र सैनिक प्रभावित क्षेत्रमा परिचालन गरिएको बताएकी छन्। उनले क्षतिको मूल्याङ्कन गर्न राष्ट्रिय सभाका अध्यक्ष होर्खे रोड्रिगेजको नेतृत्वमा विशेष आयोग गठन गरिएको जानकारी दिँदै विस्थापितका लागि अस्थायी शिविर स्थापना भइरहेको बताइन्।

संयुक्त राष्ट्रसंघका आवासीय मानवीय समन्वयकर्ता जियानलुका राम्पोला डेल टिन्डारोका अनुसार भूकम्पपछि हालसम्म ५०० भन्दा बढी परकम्प आइसकेका छन् भने कम्तीमा २,५०० संरचना प्रभावित भएका छन्, जसमध्ये अधिकांश पूर्ण रूपमा ध्वस्त भएका छन्। उनले उद्धार अभियानका लागि १० हजार शव राख्ने झोला (बडी ब्याग) व्यवस्थापन भइरहेको र मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन्।

यसैबीच अमेरिकाले भेनेजुएलाका लागि घोषणा गरेको राहत सहायता बढाएर ३० करोड अमेरिकी डलरभन्दा बढी पुर्याएको छ। अमेरिकी विदेश मन्त्रालयका अनुसार उक्त सहयोग स्वास्थ्य सेवा, खाद्य सहायता, खानेपानी, सरसफाइ, अस्थायी आवास तथा राहत सामग्री ढुवानीमा खर्च गरिनेछ।

अमेरिकी युद्धपोत यूएसएस फोर्ट लाउडरडेल हाल ला ग्वाइराको तटमा तैनाथ रहेको छ। त्यसमा रहेका अमेरिकी सैनिक र जलसेनाले सबैभन्दा बढी प्रभावित तटीय क्षेत्रमा राहत सामग्री पुर्याइरहेका छन्।