समानतामूलक नीति ल्याउँदा वामपन्थीहरुले जयजयकार गर्नुपर्नेमा विरोध गरेको देख्दा अचम्मित छुः अर्थमन्त्री वाग्ले


काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्ताव गरिएको करले गरिब तथा सीमान्तकृत नागरिकलाई असर नगर्ने स्पष्ट पारेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले शिक्षा र स्वास्थ्यको कर सार्वजनिक शिक्षा सुदृढीकरणका लागि समानतामूलक नीतिअन्तर्गत ल्याइएको दाबी गरेका हुन् ।

शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्ने भन्ने धारणा भ्रमपूर्ण रहेको उनको भनाई छ । उनले भने,‘शिक्षा र स्वास्थ्यमा लगाइएको करले भुइँमान्छे र गरिबलाई असर गर्छ भनेर कुरा उठाउनुभयो । बजेट आएको एक महिना भयो, यस विषयमा पर्याप्त छलफल गरेका छौँ। करले भुँइमान्छे र गरिबहरुलाई छुँदैन ।’ करको प्रस्ताव निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावकलाई मात्र लक्षित गरिएको उनको भनाइ थियो । उनले भने, ‘नेपालको झण्डै ७५ देखि ८० प्रतिशत बालबालिका गैरनिजी विद्यालयमा पढ्छन्। गैरनिजीमा यो करको प्रस्ताव गरिएको होइन ।’

अर्थमन्त्रीले समानतामूलक नीति ल्याउँदा पनि त्यसको विरोध भएकोमा आश्चर्य व्यक्त गरे। विशेषगरी वामपन्थी राजनीति गर्ने सांसदहरूले यस्तो नीतिको स्वागत गर्नुपर्नेमा विरोध गरेको देख्दा आफू अचम्मित भएको उनको भनाइ थियो । उनले भने, ‘नेपालका वामपन्थी राजनीति गर्दै आउनुभएका धेरै सांसदहरूले त जयजयकार गर्नुपर्ने खालको नीति ल्याउँदा पनि त्यही कोणबाट विरोध भएको देख्दा म अचम्म परेको छु ।’

उनले सरकारले बजेटमार्फत ऐतिहासिक कर सुधारको प्रस्ताव अघि सारेको दाबी गर्दै यसलाई दीर्घकालीन सामाजिक न्याय र सार्वजनिक सेवा सुदृढीकरणसँग जोडेर हेर्न आग्रह गरे ।

उनले पूँजीगत खर्चको वर्तमान हविगत आगामी वर्षबाट तोड्ने दाबी गरे । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन हेर्दा आजसम्म ३५ प्रतिशत मात्र पनि पूँजीगत खर्च नभएको स्वीकार गर्दै उनले आगामी वर्षबाट सो अवस्था नआउने दाबी गरेका हुन् ।