काठमाडौँ । अखिल नेपाल फुटबल संघ(एन्फा) का पूर्वअध्यक्ष कर्मा छेरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले शेर्पालाई शुक्रबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–६, गणेशचोकबाट पक्राउ गरेको हो ।
टुङ्गरम इन्टरनेशनल एकेडेमीको ८ करोड ७८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । प्रहरीकाअनुसार शेर्पाले कार्यकारी प्रमुखका रूपमा एकल हस्ताक्षरबाट बैंक खाता सञ्चालन गर्ने जिम्मेवारीमा रहँदा विभिन्न प्रपञ्च र अनुचित प्रभाव प्रयोग गरी विद्यालयको ८ करोड ७८ लाख ३० हजार ८०२ हिनामिना गरेका छन् ।
प्रहरीका अनुसार उनले भक्तपुरको दधिकोटस्थित विद्यालयको करिब २९ रोपनी ४ आना २ पैसा १ दाम जग्गा आफू सम्बद्ध कम्पनीहरूलाई बिक्री गरेका थिए ।
साथै, विद्यालयका लागि सवारी साधन खरिद गर्न छुट्याइएको रकमबाट व्यक्तिगत तथा आफू सम्बद्ध कम्पनीको नाममा जग्गा र सवारी साधन खरिद गरी विद्यालयलाई आर्थिक नोक्सानी पुर्याएको आरोप पनि छ ।
रामचन्द्र बहाला श्रेष्ठको जाहेरीका आधारमा दर्ता भएको मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि शेर्पालाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।


प्रतिक्रिया