आज पार्टीको पाँचौँ स्थापना दिवस र चौँथो वार्षिक उत्सव । साथै, आजै प्रथम ऐतिहासिक महाधिवेशन पनि सुरु हुँदैछ । ठीक चार वर्षअघि आजकै दिन हामीले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका थियौँ । पार्टी दर्ताका लागि आवश्यक ५०० वटा नागरिकता जुटाउनसमेत संघर्ष गर्नुपरेको त्यो अवस्थाबाट छोटो समयमै पार्टी दुई तिहाइ जनमतसहित सरकारमा पुगेको छ। संघर्षका ती दिनहरू इतिहासमा लेखिए वा लेखिएनन्, त्यो मलाई थाहा छैन। भगवानले माथिबाट हेर्नुभयो कि हेर्नुभएन, त्यो पनि मैले बुझ्न सकेको छैन। तर ती दिनहरूलाई प्रत्यक्ष बाँचेका हामी प्रत्येकको मानसपटलमा त्यो इतिहास सधैँ जीवन्त रहनेछ।
आज पार्टीले आफ्नो प्रथम ऐतिहासिक महाधिवेशन गर्दैछ। विडम्बना, पार्टीलाई ‘Fuc’ लेख्ने व्यक्ति प्रधानमन्त्री बनिसक्दा, पार्टी स्थापना गर्ने म भने महाधिवेशनको निम्तो सूचीमा समेत परिनँ । मेरो भौतिक शरीर आज चितवनमा छैन। भएको भए पनि करिब ४००० प्रतिनिधिहरूमध्ये एक जना प्रतिनिधि थपिन्थ्यो मात्र।
तर राजनीति गर्ने व्यक्तिका लागि शरीर कहाँ उपस्थित छ भन्नेभन्दा उसका विचार, मूल्य र सिद्धान्तले कति स्थान ओगटेका छन् भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । महाधिवेशनमा उपस्थित प्रत्येक प्रतिनिधिको एक मत छ। यदि मेरो त्यही एक मत नहुँदा पार्टीले सही दिशा निर्धारण गर्न नसक्ने हो भने, म आज त्यहाँ नभएकोमा दुःखी हुने थिएँ। तर यदि महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय गर्छ भने, मेरो मत पनि त्यही निर्णयमा रहने थियो।
त्यसैले आज महत्वपूर्ण कुरा म उपस्थित छु कि छैन भन्ने होइन। महत्वपूर्ण कुरा महाधिवेशनले के निर्णय गर्छ भन्ने हो ।
प्रिय साथीहरू,
म आशा गर्दछु, यो महाधिवेशन केवल पद बाँडफाँट वा व्यक्ति चयनको कार्यक्रममा सीमित हुने छैन। को कुन पदमा जित्यो वा हार्यो भन्नेभन्दा ठूलो प्रश्न पार्टीले कुन दिशा रोज्छ भन्ने हो । पद वा व्यक्तिमा सीमित हुनु राजनीति होइन, “राजव्यक्ति” गर्नु हो। राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस हो । तपाईंहरूलाई मेरो आग्रह छ, व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई, र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस् । ‘राजव्यक्ति’ नगर्नुहोस्, ‘राजनीति’ गर्नुहोस् । महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय गरोस् । सबैमा धेरै शुभकामना, विश्वास र सम्झना।
डा. मुकुल ढकाल
संस्थापक

प्रतिक्रिया