पार्टीलाई नयाँ दिशामा अघि बढाउन नेकपाले ‘आइटी फौज’ निर्माण गर्ने


काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ दिशामा अघि बढाउन ‘आइटी फौज’ निर्माण गर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेकपाको डिजिटल सदस्यता नवीकरण तथा वितरण अभियानको शुभारम्भ कार्यक्रममा प्रचण्डले पार्टी संगठन विस्तारका लागि डिजिटल प्रविधिको प्रयोग अपरिहार्य भइसकेको भन्दै नयाँ आवश्यकतासँग लड्न सक्ने बनाउन आईटी आर्मी चाहिएको बताए ।

उनले भने,‘हाम्रो पार्टी अहिले नयाँ सिराबाट अगाडि बढ्न खोजिरहेको छ । सबैले सोच्ने बेला पनि भएको छ । अहिले सदन, सडक र सरकारका सबै मोर्चाबाट संघर्ष गर्ने मुडमा छौं । आइटी प्रयोग गर्ने सन्दर्भमा आइटी सेना वा एउटा विशाल आइटी फौज तयार गर्नुपर्ने नै भयो । यो कम्युनिष्टहरुले मात्रै सक्ने कुरा हो । लाखौं जनतालाई गोलबद्ध गरेर त्यस्तो फौज तयार पार्ने कुरा कम्युनिष्ट र देशलाई माया गर्ने पक्षधरहरु नै गर्न सक्ने कुरा हो ।’

उननले डिजिटल क्षेत्रमा लगानी कम भएको भन्दै चुनावी खर्चसँग तुलना गर्दै असन्तुष्टि पनि व्यक्त गरे। उनले भने, ‘एउटै निर्वाचन क्षेत्रमा करोडौं खर्च भएको छ, त्यही रकमको आधा आईटीमा लगाएको भए परिणाम फरक हुन सक्थ्यो।’

उनले वर्तमान सरकारको नीति तथा कार्यक्रमप्रति आलोचना गर्दै सरकार गरिब, मजदुर र किसानको हितभन्दा बढी उच्च वर्गको हितमा केन्द्रित भएको आरोप लगाए । उनले प्रतिक्रियावादीहरुलाई फाइदा पुग्नेगरी निराशाको खेती नगरी नयाँ सोच र जोशकासाथ अघि बढ्न पार्टीका सम्पूर्ण सदस्यहरुलाई निर्देशन दिए ।