डा. जीवन क्षेत्री।
अमेरिका भन्ने एउटा देश छ । त्यहाँ उद्दण्ड १३ वर्षे किशोरजस्तो राष्ट्रपति छन् । ऊ उछलकुद गर्छ, तोडफोड गर्छ । अन्टसन्ट बोल्छ । त्यसको जवाफ ऊ वरिपरिका मानिसहरुले दिनुपर्छ । तर जब उसले मिसाइल हानेर सयभन्दा बढी बालिकाहरुको हत्या गर्छ, त्यसको जवाफ दिने कोही हुँदैन किनकी जसले जे भने पनि उनीहरुका ज्यान फर्किंदैनन् । जब उसले युद्ध शुरु गरेर हजारौंको हत्या गर्छ, नरसंहारकारी इजरायललाई डलर र हतियार दिएर ७१ हजारको हत्यामा सामेल हुन्छ, जवाफ दिन केही बच्दैन ।
जब उसले विश्व अर्थतन्त्रलाई खर्बौँ डलरको क्षति पुर्याइदिन्छ, अर्बौँलाई गरिबीमा धकेल्छ, त्यो उसको आफ्नो मति वा स्वभाव हो तर त्यसको मुल्य तपाइँ, हामी सबैले र सबैभन्दा बढी विपन्न तप्काका मानिसहरुले तिर्नुपर्छ । नेपालमा सरकारको आलोचना गर्दा उसका समर्थकहरुलाई चिडचिडाहट हुन्छ । त्यसले समाजमा ध्रुवीकरण बढाउँछ । साथी साथीबीच तिक्तता बढाउँछ ।
‘सबैले एकै किसिमले सोच्ने’ र सरकारका सबै काममा ताली बजाउने हो भने देशमा धेरैजसो विवाद यसै पनि समाधान हुन्छन् वा किनारा लाग्छन् ।
तर त्यसो गर्नुको परिणाम अन्ततः समाज र देशका लागि भयानक हुन सक्छ । प्रश्न र मतान्तर विनाको समाजमा मसानघाटजस्तै चकमन्न हुन्छ । त्यो या त जीवित समाज रहँदैन, या हिटलर र मुसोलिनीको जस्तो भयावह समाज बन्छ । सत्तालाई नागरिकले सोध्ने प्रश्न निष्प्रभावी हुने र शासक तानाशाही बन्दै जाने भने कहाँ पुगिन्छ त भनेर हेर्न फेरि मेरा धेरै मित्रहरु अहिले बस्ने देश अमेरिकातिरै जाऔं ।
आफूलाई मन नपरेका देशहरुलाई ‘मलद्वार देश’ (shithole countries) भन्ने ट्रम्पलाई खास गरी उसको पार्टीभित्रका मानिसहरुले प्रश्न सोध्न र जवाफदेही बनाउन नसकेकाले अन्ततः ऊ समुद्रका मछुवार डुंगामा अन्धाधुन्ध बम हान्ने, स्कुले बालबालिकालाई सयौं जनाको एउटै चिहान बनाउने, विश्व अर्थतन्त्रलाई तहसनहस पार्ने अनि जातीय सफाया र आम नरसंहारको साझेदार बन्ने अवस्थामा पुगेको हो ।
रिपब्लिकन पार्टीले बेलैमा जवाफदेही बनाउन सकेको भए ट्रम्पको दोस्रो राष्ट्रपतिय कार्यकाल असम्भव थियो । डेमेक्रेटहरुले जो बाइडेनका पालामा झुरै शासन गरेका थिए भने पनि अर्को कुनै सद्दे रिपब्लिकन राष्ट्रपति बन्न सक्थ्यो । अमेरिकी महाशक्तिको ओरालो यात्रा शायद जारी रहन्थ्यो तर यसरी ढिकबाट ठाडै खस्ने थिएन ।
साथीहरु, मैले मानें कि प्रश्न सोध्दा बहस हुन्छ, ध्रुवीकरण बढ्न सक्छ । तर प्रश्नको हरेक खडेरीले त्रासदीलाई जन्म दिने गर्छ ।
बालेनले डेढ वर्ष अगाडि टेकु किनारमा मूलतः मधेसी मुलका कवाडी संकलक र व्यवसायीहरुमाथि आततायी हमला गर्दा, टाउका फुटाइदिंदा र अरु बेला पनि सडक व्यापारीमाथि असंवैधानिक रुपमा हिंसात्मक बल प्रयोग गर्दा पर्याप्त प्रश्नहरु सोधिएको भए शायद यसपाली सुकुम्बासी बस्तीहरुमा यसरी डोजर चल्ने थिएनन् । कसैले उनको आतंकको पहिलो संस्करण हेर्न बाँकी छ भने म कमेन्टमा भिडियो नै राखिदिन्छु ।
नेपाल अमेरिका हैन । बालेन ट्रम्प हैनन् । बालेन ट्रम्पझैं जिन्दगीभर यौन दुराचार र कर छलीजस्ता अपराध गरेका भ्रष्ट र पतित मानिस हैनन् । आर्थिक अपचलन र भ्रष्टाचारका मामलामा नेपालका राजनीतिज्ञहरुबीच तुलनै गर्ने हो भने उनी शायद स्वच्छ छवि भएका एकाध मानिसमध्ये पर्छन् । (त्यो कति नैतिकताका कारण र कति अवसर नपाएका कारण हो, भविष्यले नै बताउला । )
उनीसित ट्रम्पको जस्तो पचासौं वर्ष भ्रष्टाचार र दुराचारको इतिहास छैन, त्यसैले मेयर छँदाका अनेक कमजोरीका बाबजुद पनि उनी सिक्दै जालान्, बदलिंदै जालान् र परिपक्व हुँदै जालान् भनेर आशा राख्नेमा रास्वपा बाहिरको जनमत पनि ठुलो थियो ।
तर आज आएर तमासाका भरमा जवाफदेहीरहित शासन गर्ने ग्रन्थि दुवैको दुरुस्त एउटै देखिन्छ । गल्ती नस्वीकारेपछि सच्चिने ढोका यसै बन्द भइहाल्छ । अनि व्यक्ति ग्रस्त हुन्छ आफू भगवान् बनें भन्ने ग्रन्थि अर्थात् God complex बाट । त्यो प्रक्रिया अहिले अमेरिका र नेपालमा दुरुस्त उही देखिन्छ । उता Fox News / QAnon हरु छन्, यता रुटिन अफ नेपाल बन्द र एमआरआरहरु छन् ।
ढाकछोप, स्तुति र देवत्वकरणको भाषा उता जस्तो छ, यता पनि त्यस्तै छ । पहिले भूमिहीनहरुका बासमा डोजर लाग्यो । अनि तुरुन्त व्यवस्थापन हुन्छ भनियो । मान्छेलाई लगेर विभिन्न ठाउँमा थन्क्याइयो । अब समाचार आइरहेका छन्ः होल्डिङ सेन्टरमा खाना खुवाउन रोकियो । मानिसको बिचल्ली नै भइसक्यो । उनीहरुले भोक मेट्न फुका चिउरा र दालमोठ खाएका भिडियोहरु अहिले यत्रतत्र छन् ।
आज समाचार आएको छः असार तेस्रो साताबाट सुकुम्बासीलाई लालपुर्जा बाँड्ने भनेर सम्बन्धित मन्त्रीले भनिन् भनेर । कहाँको जमिनको लालपुर्जा कसरी बाँडिन्छ, सरकारले नागरिकहरुको तोडेको सम्पत्ति र गुमेको जीविका फर्काउन के गर्छ, हेर्न बाँकी नै छ ।
रास्वपा–समर्थक मध्यम र उच्च वर्गीय मित्रहरु, अब भन्नुस्, सरकारको एकसरो आलोचनाले तपाईँहरु उत्तेजित हुनुहुन्छ, सरकारले उठिबास लगाइदिएपछि पुस्तौंदेखिको सम्पत्ति गुमाएका र अहिले भोकै बस्न अभिशप्त मानिसहरुको मनस्थिति अहिले के होला ? केहीले त आजित भएर पुरानो ठाउँमा फर्किन्छौं भनिसकेका छन् ।
लगत्तै सरकारले भूमिहीनहरुको चित्त बुझ्ने गरी लालपुर्जा बाँड्यो र यो समस्या समाधान भयो भने सबैको भलो त्यसैमा छ । तर त्यसो हुन सकेन र सरकारको यो नालायकीबाट जन्मने आक्रोशले हिंसाको रुप लियो भने के हुन्छ, त्यो कल्पना गर्दा पनि डर लाग्ने कुरा हो । पोहोर सालको भदौ २४ यसै पनि सबैका मनमा ताजै छ ।अब कुरा आयो, हामी जो किनारबाट हेर्छौं, हामीले ती आवाजहीनको आवाज बोल्ने कि तपाईँहरुका चित्त दुख्लान्, ध्रुवीकरण होला भनेर चुप बस्ने ?
अब के होला हेर्दै जाऔं तर अहिलेसम्म तीन करोड नेपालीको सधैंका लागि उद्धार गर्छौैं, सुशीला कार्कीजीको ‘रौरव नर्क’बाट समाजलाई निकाल्छौं भनेर आएको सरकारले २, ४ हजार भूमिहीनको सम्मानजनक व्यवस्थापन गर्न सकेको देखिएन ।
यो त प्रतिपक्ष वा नागरिक समाजको भन्दा पनि सत्तारुढ दल र त्यसका समर्थक–शुभेच्छुकहरुका लागि ठुलो चिन्ता र चासोको विषय हुनुपर्ने हैन र ?तपाईँहरु कसैलाई यो बजेटको नयाँ व्यवस्थाबाट आयकरमा वर्षेनी लाखौं फाइदा हुँदैछ, कोही विदेशमा भएकाले यहाँको ‘रौरव नर्क’ भोग्ने बाध्यतै छैन । त्यसैले ढुक्कसित ‘हामी एक वर्ष पर्खिन्छौं’ भन्नुहुन्छ । तर ती जसको पुस्तौंको सम्पत्ति सरकारले स्वाहा पारिदियो अनि अहिले भोको पेट भौंतारिइरहेका छन्, तिनले कसरी एक वर्ष पर्खुन् ? लौ त, ध्रुवीकरण नबढ्ने गरी यसको जवाफ दिनुहोला ।

प्रतिक्रिया