डा. गोविन्दशरण उपाध्याय ।
विश्वका हरेक व्यक्ति कुनै न कुनै अर्थमा भौतिकवादी नै हुन्छ । किनभने मान्छेको जीवनको आरम्भ, निरन्तरता र अन्त्य सबै भौतिक आधारमै घटित हुन्छन् । मानिसको जन्म शरीरबाट हुन्छ, उसको भरणपोषण अन्न, जल, वायु, ताप र वातावरणबाट हुन्छ, र मृत्यु पनि शरीरकै विघटनका रूपमा देखिन्छ । यस अर्थमा कसैले आफूलाई आध्यात्मवादी भनोस् वा भौतिकवादी, उसको दैनिक जीवन भौतिक जगत्बाट अलग हुन सक्दैन। शरीर, इन्द्रिय, मस्तिष्क, स्नायु, श्वासप्रश्वास, भोजन, निद्रा, रोग, स्वास्थ्य, श्रम र मृत्यु-यी सबै मानवीय अस्तित्वका प्रत्यक्ष भौतिक आधार हुन् ।
तर यदि कुनै व्यक्ति आफूलाई आध्यात्मवादी भन्छ भने त्यसको अर्थ उसले भौतिक जीवनलाई अस्वीकार गरिरहेको छ भन्ने होइन । साधारण अर्थमा उसले शरीरभन्दा पर, वा शरीरसँगै जोडिएको कुनै गहिरो चेतनात्मक आयामको कुरा गरिरहेको हुन्छ । उसले श्वासप्रश्वास, प्राण, चेतना, अनुभूति, आत्मबोध, नैतिकता, करुणा, स्मृति, मृत्यु–पछिको सम्भावना वा परमसत्ताका विषयमा विचार गरिरहेको हुन्छ । आध्यात्मिकता भौतिक जीवनको विरोध होइन अपितु भौतिक जीवनभित्रै अनुभव हुने चेतनात्मक गहिराइको खोज हो । त्यसैले भौतिकवाद र आध्यात्मवादलाई सधैँ शत्रु–शत्रुका रूपमा बुझ्नु उचित हुँदैन ।
आधुनिक विज्ञानले सामान्यतया चेतनालाई भौतिक प्रक्रियाकै विशिष्ट अवस्था मान्ने प्रवृत्ति राख्छ । मस्तिष्क, स्नायु प्रणाली, जैव–रसायन, विद्युत् संकेत र शारीरिक प्रतिक्रियाहरूको जटिल अन्तःक्रियाबाट चेतना उत्पन्न हुन्छ भन्ने धारणा वैज्ञानिक वृत्तमा बलियो छ । भौतिकवादी दार्शनिकहरूले पनि यही वैज्ञानिक व्याख्यालाई आफ्नो दार्शनिक आधार बनाउँछन् । उनीहरूको विचारमा शरीर नै चेतनाको आधार हो, र शरीर नष्ट भएपछि चेतनाको स्वतन्त्र अस्तित्व रहँदैन । यस दृष्टिले आत्मा, परमात्मा, पुनर्जन्म, पाप–पुण्य वा अमरताजस्ता अवधारणाहरू प्रत्यक्ष परीक्षणमा नआएकाले तिनलाई दार्शनिक विश्वासभन्दा बढी ठान्न नहुने तर्क गरिन्छ ।
तर यहाँ एउटा कुरा स्पष्ट गर्न आवश्यक छ : भौतिकवाद कुनै नयाँ विचारधारा होइन । आधुनिक विज्ञान विकसित हुनुभन्दा धेरै अघि भारतवर्षका चार्वाक दार्शनिकहरूले भौतिकवादी दृष्टिकोण अत्यन्त प्रखर रूपमा प्रस्तुत गरेका थिए । उनीहरूले प्रत्यक्ष प्रमाणलाई मुख्य माने । उनीहरूको दृष्टिमा शरीर नै चेतनाको आधार हो । प्रसिद्ध उदाहरणका रूपमा भनिन्छ : जसरी पान, सुपारी र चुना मिल्दा मुख रातो हुन्छ, त्यसैगरी भौतिक तत्त्वहरूको विशेष संयोजनबाट चेतना प्रकट हुन्छ । यसको अर्थ, चेतना कुनै छुट्टै आत्मतत्त्व होइन अपितु भौतिक वस्तुहरूको विशिष्ट अवस्थाबाट उत्पन्न हुने गुण हो । यसरी हेर्दा आधुनिक भौतिकवादले नयाँ भाषा, नयाँ उपकरण र नयाँ वैज्ञानिक शब्दावली प्रयोग गरे पनि यसको मूल प्रवृत्ति प्राचीन छ ।
तर विज्ञानको आफ्नै मर्यादा छ । विज्ञानले प्रश्न उठाउन सक्छ, परिकल्पना गर्न सक्छ, परीक्षण गर्न सक्छ, निष्कर्ष निकाल्न सक्छ र पुराना निष्कर्षलाई नयाँ प्रमाणका आधारमा संशोधन गर्न सक्छ। विज्ञानको शक्ति यही हो । तर विज्ञानले पर्याप्त निरीक्षण, परीक्षण र पुनःप्रमाणीकरण नगरी कुनै विषयलाई पूर्ण सत्य वा पूर्ण असत्य घोषणा गर्न मिल्दैन । विज्ञानको विधि विनम्र विधि हो अपितु त्यसले ‘मलाई थाहा छैन’ भन्न जान्नुपर्छ । जुन विषयको प्रत्यक्ष परीक्षण भएको छैन, जुन वस्तु वा अनुभूतिको यथेष्ट वैज्ञानिक परीक्षण सम्भव भएको छैन, त्यसलाई सीधै असत्य भन्नु विज्ञानको मर्यादा होइन ।
यही कारण आत्मा, परमात्मा, ईश्वर, अमरता, पुनर्जन्म, पाप–पुण्यजस्ता विषयमा भौतिकवादी अस्वीकारलाई पनि अन्तिम वैज्ञानिक निर्णय मान्न सकिँदैन । यी विषयहरू प्रत्यक्ष प्रयोगशालामा सजिलै नाप्न, तौलन वा दोहोर्याएर प्रमाणित गर्न सकिने वस्तु होइनन् । यसको अर्थ ती स्वतः सत्य हुन् भन्ने पनि होइन, तर स्वतः असत्य हुन् भन्नु पनि वैज्ञानिक सावधानीको विपरीत हुन्छ । वैज्ञानिक दृष्टिकोणले भन्न सक्ने कुरा यति हो : यी विषयहरू अहिले उपलब्ध वैज्ञानिक उपकरण र पद्धतिबाट निर्णायक रूपमा सिद्ध वा असिद्ध भएका छैनन्। त्यसैले तिनलाई छलफलको विषय मान्न सकिन्छ, तर अन्तिम निर्णयको विषय मान्नु हतार हुन्छ ।
विज्ञान र भौतिकवादलाई एउटै ठान्नु पनि ठीक होइन । विज्ञान विधि हो, भौतिकवाद दर्शन हो । विज्ञानले प्रमाण खोज्छ तर भौतिकवादले संसारको व्याख्या भौतिक तत्त्वका आधारमा गर्छ । विज्ञान खुला रहनुपर्छ, जबकि कट्टर भौतिकवाद कहिलेकाहीँ अन्धविश्वासमा रूपान्तरित हुन्छ । जब कुनै भौतिकवादी विचारकले आत्मा वा ईश्वर असम्भव छन् भनेर निश्चित निर्णय दिन्छ, तब ऊ विज्ञानको नाम लिँदै आफ्नो दार्शनिक विश्वास प्रस्तुत गरिरहेको हुन सक्छ । त्यसरी नै जब कुनै आध्यात्मवादीले आत्मा र ईश्वरको नाममा परीक्षण, तर्क र अनुभवको सम्पूर्ण उपेक्षा गर्छ, तब ऊ पनि विवेकबाट टाढा जान सक्छ । अतः दुवै पक्षलाई नम्रता चाहिन्छ ।
मानवीय चेतना आफैँमा अत्यन्त रहस्यमय विषय हो । शरीर र मस्तिष्कसँग यसको गहिरो सम्बन्ध छ भन्ने कुरा अस्वीकार गर्न सकिँदैन । चोट, रोग, औषधि, निद्रा, नशा, स्मृतिभ्रंश, तनाव, ध्यान र भावनात्मक अवस्था : यी सबैले चेतनालाई प्रभाव पार्छन् । यसले चेतना शरीरसँग सम्बन्धित छ भन्ने संकेत दिन्छ । तर यति तथ्यका आधारमा चेतना केवल शरीरकै उत्पादन हो भन्ने निष्कर्ष अन्तिम रूपमा प्रमाणित हुन्छ कि हुँदैन भन्ने प्रश्न अझै खुला छ । अनुभवको आन्तरिकता, आत्मबोध, नैतिक निर्णय, सौन्दर्य–अनुभूति, मृत्युको भय, परम सत्यको खोज र ध्यानमा प्राप्त हुने गहिरा अनुभूतिहरू अझै पनि गम्भीर दार्शनिक तथा वैज्ञानिक अध्ययनका विषय हुन् ।
आजको समयमा आवश्यकता कट्टर अस्वीकार वा अन्ध स्वीकृतिको होइन, विवेकपूर्ण संवादको हो । आध्यात्मवादीले विज्ञानलाई शत्रु ठान्नु हुँदैन । विज्ञानले शरीर, मस्तिष्क, स्वास्थ्य, प्रकृति र जगत्का धेरै रहस्य खोलिदिएको छ । त्यस्तै भौतिकवादीले पनि आध्यात्मिक अनुभूति, चेतना, नैतिकता र आत्मबोधका प्रश्नलाई बालसुलभ भ्रम भनेर तिरस्कार गर्नु हुँदैन । मानव जीवन केवल रासायनिक प्रतिक्रिया मात्र हो कि त्यसमा मूल्य, अर्थ, सौन्दर्य र आत्मबोधको कुनै विशिष्ट आयाम पनि छ-यो प्रश्न अझै जीवित छ ।
यसकारण आत्मा, परमात्मा, ईश्वर वा अमरताका विषयहरू आज पनि विचार, संवाद र अनुसन्धानका विषय हुन्। यी विषयमा विश्वास गर्नेहरूले पनि तर्क र अनुभवको मर्यादा राख्नुपर्छ तर अस्वीकार गर्नेहरूले पनि विज्ञानको मर्यादा बिर्सनु हुँदैन । विज्ञानले प्रमाण नभएको विषयलाई अप्रमाणित भन्न सक्छ, तर असत्य भन्न अत्यन्त सावधान हुनुपर्छ । त्यस्तै धर्मले अनुभूति र श्रद्धाका आधारमा सत्यको संकेत गर्न सक्छ, तर वैज्ञानिक प्रमाणको स्थान लिन सक्दैन ।
अन्ततः मानिस भौतिक शरीर भएको चेतनशील प्राणी हो । ऊ अन्न पनि खोज्छ, अर्थ पनि खोज्छ; शरीर पनि बचाउँछ, आत्मबोध पनि खोज्छ। यही द्वैतमा मानव जीवनको वास्तविक गहिराइ छ । भौतिकता मानव जीवनको आधार हो, तर चेतनाको प्रश्न त्यसको शिखर हो । यही प्रश्नले विज्ञानलाई नम्र बनाउँछ, दर्शनलाई सक्रिय बनाउँछ र आध्यात्मिकतालाई अर्थपूर्ण बनाउँछ ।

प्रतिक्रिया