रास्वपाका काठमाडौँ जिल्ला उपसभापतिका उम्मेदवार मतदान प्रक्रियामा भाग लिनबाटै वञ्चित


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला उप–सभापतिका उम्मेदवार कैलास सिलवालले पार्टी सभापति रवि लामिछानेलार्य खुल्ला पत्र लेख्दै पार्टीमा अलोकतान्त्रिक चरित्र हावी भएको बताएका छन् ।

उनले आफूले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएपछि निर्वाचन अधिकृतबाट बारम्बार उम्मेदवारी फिर्ता लिन दबाब दिउको मतदान प्रक्रियामै भाग लिन नदिएको बताएका छन् ।

उनले भनेका छन्, ‘उम्मेदवारी दर्ता गराएपछि निर्वाचन अधिकृतबाट बारम्बार उम्मेदवारी फिर्ता लिन दबाब दिइयो। मैले त्यसको कारण माग्दा स्पष्ट र लिखित जवाफ दिन अस्वीकार गरियो। बरु, उम्मेदवारी कायम राखेमा निलम्बन गरिने जस्ता धम्कीपूर्ण अभिव्यक्ति प्रयोग गरियो । अन्तिममा मतदान प्रक्रियमा भाग लिन दिइएन ।’

रास्वपा पार्टी सभापति श्री रवि लामिछानेज्यूलाई खुल्ला पत्र
मितिः २०८३/०२/२४
रवि लामिछाने
सभापति,
राष्ट्रिय स्वतन्त्र पार्टी
विषयः काठमाडौं जिल्ला अधिवेशनमा भएको निर्वाचन प्रक्रियाको धाँधली, अनुचित दबाब तथा पार्टी विधानविपरीत गतिविधिबारे गम्भीर ध्यानाकर्षण।
आदरणीय सभापतिज्यू,
म कैलास सिलवाल, राष्ट्रिय स्वतन्त्र पार्टीको निर्वाचन क्षेत्र नं ७ उपसंयोजक, पार्टीप्रति आफ्नो अटल निष्ठा, समर्पण र योगदानका साथ यो खुला पत्रमार्फत गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।

मैले पार्टी स्थापना भएदेखि नै पार्टीको विधि, विधान, नीति र सिद्धान्तभित्र रहेर निरन्तर काम गर्दै आएको छु। पार्टीलाई जनस्तरसम्म पुर्याउने अभियानदेखि संगठन विस्तारसम्मका विभिन्न जिम्मेवारीहरू इमानदारीपूर्वक निर्वाह गरेको छु। तपाईंमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध काठमाडौं, पोखरा, चितवन र भैरहवामा आयोजित आन्दोलनहरूमा सक्रिय भूमिका खेलेको छु। साथै, तपाईंमाथि अन्याय भएको जनमत निर्माण गर्ने उद्देश्यले सञ्चालन गरिएको हस्ताक्षर अभियानमा सदस्यका रूपमा मेची–महाकाली यात्रा गरी करिब ४० लाख हस्ताक्षर संकलन अभियानमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छु।

संगठन निर्माण र विस्तारका लागि देशभरका करिब ६६ जिल्ला र काठमाडौं जिल्लाका १३८ वडा मध्ये १२२ वडाका कार्यक्रमा सहभागी रहेको पार्टीको सन्देश जनतामाझ पुर्याउने काममा समर्पित भएको छु। पार्टीका हरेक अभियान, कार्यक्रम र गतिविधिमा सक्रिय सहभागिता जनाउँदै आएको छु। यी सबै योगदान पार्टीप्रतिको मेरो निष्ठा र विश्वासका प्रमाण हुन्।
यही पृष्ठभूमिमा मैले काठमाडौं जिल्ला अधिवेशनमा जिल्ला उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएँ। उम्मेदवारीका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरी वैधानिक रूपमा उम्मेदवार बनेको थिएँ। उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुँदा मेरो नाम विधिवत रूपमा समावेश भएको थियो।

तर, त्यसपछि निर्वाचन अधिकृतबाट बारम्बार उम्मेदवारी फिर्ता लिन दबाब दिइयो। मैले त्यसको कारण माग्दा स्पष्ट र लिखित जवाफ दिन अस्वीकार गरियो। बरु, उम्मेदवारी कायम राखेमा निलम्बन गरिने जस्ता धम्कीपूर्ण अभिव्यक्ति प्रयोग गरियो । अन्तिममा मतदान प्रक्रियामा भागलिन दिइएन । यस्तो व्यवहारले मलाई मात्र होइन, पार्टीभित्र लोकतन्त्र, निष्पक्षता र विधिको शासनमाथि विश्वास राख्ने सम्पूर्ण कार्यकर्तालाई गम्भीर रूपमा आहत बनाएको छ।

यदि कुनै उम्मेदवार अयोग्य थियो भने अन्तिम नामावली प्रकाशित हुनुअघि नै वैधानिक प्रक्रिया अपनाएर निर्णय गरिनुपथ्र्यो। तर अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई दबाब, निलम्वन गर्ने धम्की वा प्रभावमा पार्ने प्रयास हुनु लोकतान्त्रिक अभ्यासको गम्भीर उल्लंघन हो। त्यसैले म दृढतापूर्वक भन्न चाहन्छु कि मिति २०८३/०२/२३ मा सम्पन्न काठमाडौं जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय रहेको अनुभूति भएन। उक्त अधिवेशनमा भएका गतिविधिहरू पार्टीको विधान, लोकतान्त्रिक मूल्य–मान्यता तथा निष्पक्ष निर्वाचनको मूल भावनाविपरीत देखिएका छन्।

अतः पार्टी सभापति तथा केन्द्रीय नेतृत्वसमक्ष मेरो विनम्र तर दृढ माग छ किः
– काठमाडौं जिल्ला अधिवेशनको सम्पूर्ण निर्वाचन प्रक्रियाको निष्पक्ष छानबिन गरियोस्।
-उम्मेदवारी फिर्ता लिन दबाब दिने तथा धम्की दिने व्यक्तिहरूको भूमिका सार्वजनिक गरियोस्।
– पार्टी विधान र आन्तरिक लोकतन्त्रविपरीत कार्य गर्ने जोसुकैलाई जिम्मेवार बनाइयोस्।
-भविष्यमा कुनै पनि कार्यकर्ताले यस्ता अन्याय र विभेद भोग्न नपर्ने वातावरण सुनिश्चित गरियोस्।
– पार्टीभित्र योगदान, निष्ठा र लोकतान्त्रिक अधिकारको सम्मान हुने संस्कृतिलाई संस्थागत गरियोस्।

आदरणीय सभापतिज्यू,
हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई एउटा फरक राजनीतिक संस्कार, पारदर्शिता, विधिको शासन र आन्तरिक लोकतन्त्रको आशासहित निर्माण गरेका हौँ। यदि पार्टीभित्रै कार्यकर्ताको आवाज दबाउने, उम्मेदवारलाई धम्क्याउने र प्रक्रियालाई प्रभावित गर्ने प्रवृत्ति मौलाउन थाल्यो भने हामीले जनतासामु गरेका प्रतिबद्धताहरू कमजोर हुनेछन्।

म आज पनि पार्टीप्रति समर्पित छु। मेरो यो पत्र कुनै व्यक्तिगत स्वार्थका लागि नभई पार्टीभित्र न्याय, पारदर्शिता र लोकतान्त्रिक अभ्यासको संरक्षणका लागि लेखिएको हो। सत्यको पक्षमा उभिने नेतृत्वबाट निष्पक्ष सुनुवाइ र उचित कदमको अपेक्षा गरेको छु।
जय राष्ट्रिय स्वतन्त्र पार्टी।जय देश जय घन्टी
भवदीय,
कैलास सिलवाल
काठमाडौँ जिल्ला उपसभापति उम्मेदवार
राष्ट्रिय स्वतन्त्र पार्टी