प्रधानन्यायाधीश सिफारिस विवादमा स्वयं कामु प्रधानन्यायाधीश व्यक्तिगत रूपमा संलग्न देखिनु उचित हुँदैनः संविधानविद् अधिकारी


काठमाडौँ । संविधानविद् डा. विपिन अधिकारीले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई संवैधानिक परिषदको विवादित निर्णयकाबारेमा व्यक्तिगतरुपमा संलग्न नदेखिन सुझाव दिएका छन् ।

सामाजिक संजालमार्फत संविधानविद् अधिकारीले यसबारे समाजमा बहस निरन्तर भइरहने भएकाले आफूलाई त्यसमा संलग्न नहुन कामु प्रधानन्यायाधीशलाई आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ’वरिष्ठतालाई स्वीकार नगरिएको विषयमा निमित्त प्रधानन्यायाधीश सपना प्रधान मल्लबारे नेपालको मिडिया, न्याय क्षेत्र र नागरिक समाजमा पर्याप्त टीका–टिप्पणी भइरहेको छ। यो स्वतन्त्र तथा निष्पक्ष न्यायपालिकासँग जोडिएको महत्त्वपूर्ण विषय हो, र यसबारे बहस निरन्तर भइरहने देखिन्छ । तर यस विवादमा स्वयं कामु प्रधानन्यायाधीश व्यक्तिगत रूपमा संलग्न देखिनु उचित हुँदैन। उहाँ ‘सिटिङ जज’ मात्र होइन, ‘सिनियरमोस्ट जज’ पनि हुनुहुन्छ। त्यसैले उहाँले न्यायिक स्वतन्त्रता, संवैधानिक मर्यादा र अदालतको संस्थागत गरिमाबारे सामान्य रूपमा बोल्न सक्नुहुन्छ; तर आफ्नै वरिष्ठता वा नियुक्तिसम्बन्धी विवादमा पक्षजस्तो देखिने अभिव्यक्तिबाट जोगिनु उपयुक्त हुन्छ।’

उनले यसले अदालतको छवि, गरिमा र जनविश्वास जोगाउन मद्दत गर्ने भएकाले यस्ता बहसमा संलग्न नहुनु नै उचित हुने बताए । शनिबार कानुन दिवसमा अवसरमा आयोजित कार्यक्रममा कामु प्रधानन्यायाधीश मल्लले संवैधानिक परिषदको निर्णयप्रति आपत्ति जनाएकी थिइन् ।