काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई करिब १०० अर्ब डलरको अर्थतन्त्रमा रूपान्तरण गर्ने लक्ष्य हासिल गर्न निजी क्षेत्रको सक्रिय साथ अपरिहार्य रहेको बताएका छन् ।
सोमबार नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले निजी क्षेत्रको संरक्षण र प्रवद्र्धनका लागि रणनीति तयार गर्ने निर्णय गरिसकेको जानकारी दिए ।
उनका अनुसार मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्ताव पारित गर्दै निजी क्षेत्रमैत्री नीति निर्माणतर्फ महत्वपूर्ण कदम अघि बढाएको छ । उनले भने, ‘हामीले झन्डै १०० अर्ब डलरको अर्थतन्त्रको परिकल्पना गरेका छौँ। यो लक्ष्य हासिल गर्न निजी क्षेत्रको साथ बिना सम्भव छैन । निर्वाचनको बेला होस् वा सरकारमा आएपछि, हाम्रो प्राथमिकतामा निजी क्षेत्र सधैं अग्रस्थानमा छ ।’
उनले उक्त लक्ष्य हासिल गर्न करिब सात वर्षको समयावधि लाग्न सक्ने उल्लेख गर्दै आर्थिक विस्तार, रोजगारी सिर्जना र उत्पादन वृद्धि सबैमा निजी क्षेत्रको भूमिका निर्णायक हुने बताए । उनले अर्थतन्त्रलाई फराकिलो बनाउने र नयाँ उचाइमा पुर्याउने जिम्मेवारीमा निजी क्षेत्र प्रमुख साझेदार भएको बताए ।
अर्थमन्त्री वाग्लेले रोजगारी सिर्जनामा निजी क्षेत्रको योगदान उल्लेखनीय रहेको भन्दै सरकार र निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औंल्याए ।
उनले भने, ‘रोजगारी सिर्जनादेखि लिएर उत्पादन वृद्धि र निर्यात विस्तारसम्म निजी क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण छ ।’
उनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिगत वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दै लगानीमैत्री वातावरण, सहज नियम प्रक्रिया र स्थायित्वमा सरकारले जोड दिने बताए । साथै, निजी क्षेत्रको विश्वास जित्दै आर्थिक सुधारका कार्यक्रम अघि बढाइने उनको भनाइ थियो ।
सरकारले ल्याउन लागेको ‘निजी क्षेत्रको संरक्षण र प्रवद्र्धन रणनीति’ मार्फत उद्योग, व्यापार र लगानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्दै आर्थिक गतिविधि बढाउने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया