नारायण गाउँले ।
भोट माग्ने बेला सुकुम्बासी बस्तीमा पुग्नुहुन्छ । मायालु र साथीजस्तै देखिनुहुन्छ । धुलोमा माटोसँग खेल्दै गरेका नानीबाबुप्रति माया र करुणा देखाउनुहुन्छ । संसार एआईको रेसमा हुँदा थोत्रो टायर गुडाउँदै कुदिरहेका किशोरकिशोरीका पिठ्यूँमा थपथप्याउनुहुन्छ । तातो टिनको छाप्रोमुनि सङ्घर्षबाट पराजित देखिने बूढाबूढ़ीको हात समाएर आशा र भरोसाको भाव पोख्नुहुन्छ । सामान्य सरसफाइ, पौष्टिक आहार र फलफूलबिनै बच्चा हुर्काइरहेका कलिला आमाहरूलाई हेरेर भित्रभित्रै दुखेजस्तै गर्नुहुन्छ । बासदेखि गास र कपाससम्मको दीनता, दयनीयता र बाध्यतालाई गहिरो गरी नियालेझैँ गर्नुहुन्छ ।
डेढ–दुईआना ऐलानीमा जिन्दगीभर मजदुरी र गिट्टी कुटेको पैसाले आधा छाक खाएर उभ्याएको घरको पिँढीमा आनन्दपूर्वक बसेझैँ गर्नुहुन्छ । सुनेजस्तै, नबोलिकनै धेरै कुरा बुझेजस्तै गर्नुहुन्छ । स्पष्ट शब्दमा पहिले सच्चा सुकुम्बासीको पहिचान हुनुपर्छ, व्यवस्थापन हुनुपर्छ र बल्ल पुनस्र्थापन भन्नुहुन्छ । घूसपैठ गर्न आएका नक्कलीबाट सुकुम्बासी आफैँ पीडित छन्, पहिचान गर्ने भनेपछि तिनलाई भरोसा र खुसी लाग्ने नै भयो ।
तिनको छेउमैं अजङ्गसँग उभिएको तीन तले घरले तिनैको झुप्रोमा घाम छेकेको छ । तिनकै जीवनलाई शङ्काको सुई बनाएको छ, हप्काएको छ, दब्काएको छ र अँठ्याएको छ । पहिचान हुँदा ती बाहिरिन्छन् भन्ने कुराले तीभन्दा बढी खुशी अरू कसलाई होला । तिनलाई लाग्छ, अब सुखका दिन आए । साँचो बोल्ने मान्छे आए । बोलेको गर्ने इमानदारहरू आए । अचम्म त के छ भने चुनाबको मुखसम्म तपाईं त्यहाँ पुग्दा धेरैजसो सुकुम्बासी ‘रियल’ नै हुन्छन् । ती निमुखा र गरिब नै हुन्छन् । समस्यामैं हुन्छन् । तिनको अधिकार पनि हुन्छ भन्ने ज्ञान हामीलाई हुन्छ ।
एकदुई नक्कलीको अगाडि उभिएर तपाईंलाई खतरा छ है भनेको पनि सुनिन्न । अझ द्रवित भएर डोजर चल्दा छाती नै थाप्नेसम्मका उद्गार आउँछन् । मेरै घरको लालपूर्जा छैन किन डराउनुहुन्छ भन्दै आश्वासन आउँछ । तर, चुनाव जितेको दिन ती बस्तीमा एकाएक हुकुम्बासी मात्रै हुन्छन् । चोर–फटाहा र अरू पार्टीका कार्यकर्तामात्रै हुन्छन् । त्यहाँ मान्छे, गरिबी, बाध्यता, रोदन, समस्या, बिमारी या मानवताभन्दा बढी अर्को पार्टीको भोटर र सामन्तहरू हुन्छन्, अपराधीहरू हुन्छन् ।
पहिचान–व्यवस्थापन र विस्थापनको आफ्नै प्रतिबद्धता उल्टो हुन्छ । पहिले विस्थापन, अनि मात्र पहिचान भनिन्छ । नक्कलीको चर्चा हुन्छ, अग्लो घरको मात्रै फोटो छापिन्छ । तपाईं त्यहाँ पुग्नुहुन्न । पहिचान गर्नेहरू पुग्दैनन् । डोजरमात्रै पुग्छ । प्लास्टिककै सही, खेलौना नै सही, एउटा डोजर हातमा बोकेर भोट माग्न गएको भए, तिनको आँखामा हेरेर तपाईंहरू धेरैजसो नक्कली हो भन्न सकेको भए वीरता हुन्थ्यो । तर तपाईं फूल बोकेर जानुभएको थियो, आँखामा दया बोकेर जानुभएको थियो ।
धेरैजसो खाली गरिएका बस्ती त नदीको काखमैँ छन् । जोखिमपूर्ण नै छन् । अलिकति अवगाल र विरोधबिना समाधान नहुने खालकै पनि छन् । अलिकति विधि, अलिकति धैर्य, अलिकति करुणा, अलिकति स्पष्टता र अलिकति मानवता मिसाउने हो भने ताली बजाउन पर्ने खालको साहसिक काम नै हो त्यो । यो देशमा हामी धेरै जसो नागरिकले ऐलानी भनिने सार्वजनिक जग्गामैं घर बनाएका हौँ ।
पछि भोगचलन प्रमाणित गरेर पूर्जा पाएको हो । कतिले अझै पाएका छैनन्, पहुँच हुनेले भोगचलनभन्दा निकै बढी पनि पाए । त्यसैले पनि केही जन्मिँदै धनी भएका हुन् । सबैलाई जग्गा नपुग्ने देखेर नै हदबन्दीको व्यवस्था भएको हो । धेरै हुनेसँग खोसिएको हो ।
त्यसयता पनि लाखौं सुकुम्बासीले पूर्जा पाएका छन्, लाखौंले पाउन बाँकी छ । नदीमाथि नै लालपूर्जा दिन सकिन्न । हिजो पनि दिइएन, आज माग्नु पनि गलत नै हो । हिजो विकल्प दिन सकेनन्, यो सरकारले विकल्प दिन सकोस् भन्ने हो ।
नदीकिनारमा डोजरको विरोध कसैले गरेको होइन । हुकुम्बासीको तीन तले घर भत्किँदा कसैको मन रोएको होइन । सबैलाई यो जीर्ण समस्या हल हुँदै गर्दा ताली बजाउने रहर छ । खुसी देखाउने रहर छ । देशभरि नै आँखा अगाडि मिचिएका सार्वजनिक जग्गा र सम्पत्तिको दुःख सबैलाई छ । सरकारको बलियो उपस्थितिले कम्तिमा पनि ’डिटरेन्स’को भूमिका खेल्छ भन्ने खुसी छ।
तर त्यो खुसी कसैको आँसुले भिजेको नहोस् भन्ने पनि सोच्न नपाइने हुन्छ र ? हामीसँग पूर्जा भएकाले आएको खुसी हो कि, हामीसँग छानो भएकैले त्यो पीडा बुझ्न नसकिएको हो कि भन्ने सोच्नु गलत हो र ? सार्वजनिक जग्गामा घर बनाउनेहरू बीच नै कसैलाई काखा र कसैलाई पाखा नहोस् भन्नु बेठीक हो र । त्यसैले त विधि र पद्धतिको कुरो आएको हो ।
आज देशभर लाखौं सुकुम्बासीहरू त्रासले निदाउन सकेका छैनन् । मान्छे त्रास र निराशाले आत्महत्या गर्ने स्थितिसम्म पुग्नु आफैमा दुःखद होइन र ? एउटा सांसदले आत्महत्या गरेको भए कति ठूलो खबर बन्दो हो । जीवनको सम्पूर्ण कमाइ खर्चेर बनाएको घर शुक्रवार सूचना दिएर शनिवार भत्काउँदा मानवताको प्रश्न त उठ्छ नि । उठ्दैन र ? एक रातमा तपाईंले जीवनको जरा गाडिएको ठाउँ छोड्न सक्नुहुन्छ ? के डेढ आना जग्गाको लोभमा जीवनको तीस वर्ष त्यही रोग–भोक र फोहरको बीच टिनको छानोमुनि कटाउन, बालबच्चा त्यहीँ हुर्काउन सक्नुहुन्छ ? अनिश्चित लाभको आशामा ढल–किनारको दुर्गन्धबीच सिङ्गो जीवन बिताउन सक्नुहुन्छ ?
वास त भत्कियो तर तिनको डिग्निटी र चरित्रमाथि पनि आक्रमण हुँदैछ । केही घरको चित्र देखाएर तिनलाई देशका सबैभन्दा ठूला लुटेराजस्तो भाष्य निर्माण हुँदै छ । गरिबीलाई मजाक बनाउनु पाप हो । यो प्रश्न, त्रास र समस्या देशभरको हो । आफ्नै नागरिकको हो । तिनलाई अपनत्व, स्पष्ट सूचना र आश्वासन दिए हुन्थ्यो भन्ने हाम्रो कामना हो । यति ठूलो प्रश्नमा देशको प्रधानमन्त्री बोले हुन्थ्यो भन्ने चाहना हो । जनता बेघर हुँदा र दुःख पर्दा पनि नबोल्ने भन्ने हुन्छ र । आज तपाईंसँग गणित छ, शक्ति छ, बन्दुक छ, सेना छ । तर ती निमुखासँग त्रासमात्रै छ । भएको एउटा भोट थियो, त्यो पनि हिजै दिइसके ।
हिजो भोट माग्न फुर्सत थियो, त्यहाँ पुग्ने बाटो थाहा थियो, आज कम्तिमा त्यहाँ पुगेर, हिजोजस्तै कलिला बच्चाको हात समाएर के गर्दैछौँ, किन गर्दैछौँ, कसरी गर्दै छौँ भन्न भ्याउनुपर्ने हो । राम्रो काम नै गरे पनि राम्रो हो भनेर बुझाउने जिम्मा त सरकारको हो नि । यत्ति कामना गर्नु पनि झोले हुनु हो ? यस्ता कलिला बालबच्चाकै आँखा अगाडि तिनको घर उजाडिँदा र नाम सुन्दै डर लाग्ने पुलिसले हात समाएर लैजाँदै गरेका दृश्यले उत्पन्न हुने ट्रमाबारे कोही बोल्न नमिल्ने हो र ?
डोजर भोलि पनि सरकारकै हो । गणित र शक्ति पनि सरकारकै हो । यो देश र जनता पनि सरकारकै हो । म्यान्डेट पनि सरकारकै हो । कम्तिमा चुनावअघि गरेका वाचा सम्झेर, सिस्टम निर्माण गरेर, एउटा बस्तीलाई स्याम्पलका रूपमा पुनस्र्थापित गरेर, संसारलाई उदाहरण देखाएर, मानक स्थापित गरेर, यसरी समस्याको दिगो समाधान हुन्छ भन्ने सिकाएर, बालबालिकादेखि वृद्धवृद्धासम्मलाई सम्मानपूर्वक व्यवहार गरेर, शक्तिसँग अलिकति संवेदना मिसाएर त्यही मोडलमा देशको सुकुम्बासी समस्या हल गर्ने हो भने विरोधकै लागि विरोध गर्नेबाहेक अरू कसले ताली बजाउन्न होला ? कुन मुटुले धन्यवाद दिन्न होला ? भोलि गर्नुहोला, तर आजको ट्रमा, पीडा र त्रास त सत्य हो नि ! त्यही भोलि गर्ने काम आज गरेर डोजर सुरु भएको भए भन्ने न हो । तपाईंले भोलि गर्नुहुन्न भन्ने त कसैले सोचेको छैन ।
जसको कोही र केही छैन, त्यसको सरकार छ भन्ने देखियो भने कुन नेपालीको मन नहाँस्ला र ! गरिबको पनि आत्मसम्मान र स्वाभिमान हुन्छ, इज्जत र अधिकार हुन्छ भन्ने देखियो भने त्यसको आशीर्वाद तपाईंलाई नै लाग्छ !

प्रतिक्रिया