शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन सर्वोच्चको आदेश


काठमाडौँ । सर्वोच्च अदालतले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।

मंगलबार न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले पक्राउ र थुनाको कारणसहितको लिखित जवाफसँगै २४ घण्टाभित्र बन्दीलाई उपस्थित गराउन आदेश दिएको हो ।

शेखरका तर्फबाट सोमबार सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम आदेश किन जारी हुनुनपर्ने हो ? आदेश जारी हुनुनपर्ने भए सोको आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेश गर्नू ।’

साथै, इजलासले निवेदकलाई म्याद थप गरी अनुसन्धान भइरहेको भनिएको फाइलसमेत झिकाउन आदेश दिएको छ ।

नेपाल धितोपत्र बोर्डले तयार पारेको ‘दीपक भट्टले गरेको धितोपत्र कारोबारसम्बन्धी प्रारम्भिक जाँचबुझ सुपरिवेक्षण प्रतिवेदन, २०८३’ मा गोल्छाको नाम समेत मुछिएको देखिएपछि पक्राउ गरिएको हो।