सांसदलाई ‘पदेन बौद्धिकता’ र ‘पदेन महानता’को भारी नबोकाइदिनुस्


गणेश कार्की ।

हिजो एउटा फोटो र पछि भिडियो सामाजिक सञ्जालमा आयो, सांसद तथा हाम्रो पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई कसैले छाता ओढाएको । कविन्द्रजीका बारेमा म यति ढुक्कले भन्न सक्छु, उहाँ ‘भाउ’ खोज्ने वा सम्मानको भोको मान्छे हुँदै होइन । सरलता नै कविन्द्रजीको परिचय हो । बरू सरलताकै कारण उहाँका कतिपय कमजोरी पनि नजरअन्दाज गरिन्छ । विवाद भएको सन्दर्भको पुरा भिडियो हेरियो भने थाहा हुन्छ, त्यही छातामा अरू मान्छेहरू पनि आएर उभिएका छन् ।

तर, मेरो मुख्य चासो चै कविन्द्रजीले छाता ओढेको हो कि होइन भन्नेमा होइन, एकजना सांसदका लागि कोही किन छाता समाएर उभिन्छ भन्ने चैँ हो । मैले सांसद भएपछि अहिलेसम्म महसुस गरेको कुरा के हो भने समाजमा एउटा गहिरो भ्रम व्याप्त छ । धेरैलाई लाग्दो रहेछ, सांसद हुनु भनेकै ’अचम्मै महान्’, ’विलक्षण प्रतिभा’ वा ’सर्वज्ञानी’ हुनु हो । तर वास्तविकता के हो भने चुनाव जित्दैमा कसैको बौद्धिकता रातारात बदलिँदैन । कोही महान् भइहाल्दैन । कोही विलक्षण प्रतिभाको छ भन्ने पुष्टि हुँदैन । मतदाताले विभिन्न कारणहरूले गर्दा कसैलाई मत दिन्छन् । उम्मेदवारको योग्यता सहायक त हुन्छ तर त्यति मात्रैले कोही निर्वाचित हुन काफी हुँदैन ।

यो कुरा समाजले र सांसदले जति चाँडो बुझ्छ, त्यति नै समाज र सांसद दुवैलाई न्याय हुनेछ । नत्र, सांसद रिसाउला कि, नजिक बन्ला कि भनेर केहिले चाप्लुसी गरिरहने, अनि त्यही प्रशंसाको भ्रममा परेर सांसदले ढर्राको जीवन बाँचिरहने अवस्था भइरहन्छ ।

मेरो त आग्रह छः सांसदलाई ’पदेन बौद्धिकता’ र ’पदेन महानता’को भारी नबोकाइदिनुस् । सांसदका लागि भेटघाट, शुभकामना, बधाई भन्दै अनावश्यक तडकभडकमा, फोनकल, म्यासेज गर्दै समय र उर्जा खर्च भइरहेको छ । सांसद पनि सधैँ एउटा मानसिक बोझमा हुने रैछ, कतै कसैले थाहै नपाई छाता ओडाइदिने हो कि, कतै हिँड्ने बाटोमा विनासित्ती ’रेड कार्पेट’ ओछ्याइदिने हो कि । पहिले पहिले प्रधानमन्त्री आउने थाहा पाएर रातारात पिच हुन्थ्यो नि, त्यस्तै सांसद आउँदैछ रे भनेर बाटो सम्याइदिने हो कि । अनि यी सबै कुराको अबगाल सांसदले पाउने हो कि । सांसदका लागि विशेष केही गर्नै पर्दैन । एउटा मान्छेले अर्को मान्छेलाई गर्ने जति सम्मान, प्रेम मात्रै सांसदलाई गरिदिए पुग्छ । सांसद पनि मान्छे हो, यसको पनि सिमा छन् भन्ने मानिदिएर सानातिना कमजोरीलाई वेवास्ता गरिदिए पुग्छ ।

बाँकी त सांसद आफ्नो जिम्मेवारीमा इमानदार छ कि छैन, तपाईँको आवाज संसदमा बोल्छ कि बोल्दैन, त्यो चाहिँ निर्धक्क भएर हेर्नुस् र खबरदारी गर्नुस् । त्यो तपाईँको अधिकार हो र कर्तव्य पनि । अनि मात्रै केही फरक होला ।