भैरहवा । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका क्षेत्रमा नक्कली नोट छाप्ने मेसिनसहित दुई जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा भारत उत्तर प्रदेश सिद्धार्थनगर नौगढ ककरहवाका ३८ वर्षीय अब्दुल हमिद र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मसिनाका २२ वर्षीय बिक्की भनिने अनिल पासीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार उनीहरुको साथबाट नक्कली नोट छाप्न प्रयोग गरिएको कम्प्युटर, प्रिन्टर, मोनिटर, कैँची तथा प्रिन्ट गरिएका र प्रिन्ट हुन बाँकी नक्कली नोट बरामद गरिएको छ । बरामद सामग्रीमा एउटै नम्बर ‘ङ २५ ०२४९१२’ अंकित नेपाली पाँच सय दरका ३० थान नक्कली नोट रहेका छन् ।
यस्तै, १००, ५०० र १००० दरका प्रिन्ट भई कटिङ हुन बाँकी सात थान नोट, एक थान सिपियु, एक थान प्रिन्टर, एक थान मोनिटर, चार रिम प्रिन्ट पेपर, दुई थान मोबाइल र एक थान कैँची बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया