३० कैदीबन्दी त्रिपालमुनि


चितवन, जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा ३० जना त्रिपालमुनि बस्न बाध्य छन् । भवनभित्र सुत्ने ठाउँ अभाव भएपछि उनीहरुलाई त्रिपालमुनि राखिएको छ ।

जेन-जी आन्दोलनपछि भागेर फर्किएका कैदीबन्दीमध्ये ४६ जनालाई स्थानान्तरण गर्दा भित्र कोठामा ठाउँ नपुग्दा उनीहरुलाई त्रिपालमुनि राख्नुपरेको कारागार प्रमुख रविन्द्रप्रसाद ढुङ्गानाले बताए । उनका अनुसार भवनभित्र ठाउँ नपुगेपछि अहिले दुई ठाउँमा १५ जनाका दरले त्रिपालमुनि राखिएको छ । कैदीबन्दीको चाप बढेसँगै राख्ने ठाउँको अभावका कारण उनीहरुलाई त्रिपालमुनि राख्नुपरेको हो ।

विगतमा पनि कैदीबन्दी त्रिपालमुनि बस्नुपर्ने अवस्था रहेको बताउँदै उनले गत आर्थिक वर्षमा केही ठाउँ जस्ता हालेर बनाइएको जानकारी दिए । चिसो र गर्मीको समयमा त्रिपालमुनि बस्न कैदीबन्दीलाई समस्या हुने गरेको छ । ‘भित्र बस्ने ठाउँ पर्याप्त छैन, त्रिपालमुनि राख्नुपरेको छ, चिसोका कारण बिरामी हुन्छन् कि भन्ने डर छ,’ उनले भने ।

यस वर्ष त्रिपाल रहेको ठाउँमा समेत जस्ता हाल्ने योजना रहेको उनले बताए । यस कार्यालयमा हाल ६३० कैदीबन्दी छन् । यहाँ ५९३ पुरुष र ३७ महिला रहेका छन् । उनीहरुसँग दुई जना आश्रितसमेत रहेका छन् ।

कारागारको क्षमता ३० महिला र ४७५ पुरुषको रहेको छ । गत भदौ २५ गते भागेका ७४३ कैदीबन्दी फर्कनेक्रम जारी रहेको छ । भागेकामध्ये अझै ११३ कैदीबन्दी फर्कन बाँकी छन् । त्यसमा दुई बालबालिकासमेत रहेका छन् । उनीहरु फर्किएपछि थप कैदीबन्दी त्रिपालमुनि राख्नुपर्ने बाध्यता हुन्छ ।