सिराहा । सिराहा जिल्लाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरबाट संयुक्त सुरक्षा टोलीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा गत शुक्रबार बिहान करिब ६:२५ बजे सशस्त्र प्रहरी बेस क्याम्प सुखीपुरबाट सशस्त्र प्रहरी नायव निरीक्षक अनिल कुमार यादवको कमाण्डमा खटिएको ७ जना सुरक्षाकर्मी र प्रहरी चौकी लर्कनहाबाट प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा खटिएको ४ जना गरी ११ जनाको संयुक्त टोलीले सो अभियान सञ्चालन गरेको हो।
संयुक्त टोलीले पोखरिया स्थित ६० वर्षीय मेदी यादवको एकतले पक्की घरको पूजा कोठामा प्लास्टिकमा प्याक गरि बोरामा राखिएको अवस्थामा २६ पोका गाँजा फेला पारेको थियो। प्रारम्भिक रूपमा तौल नगरे पनि तत्काल नियन्त्रणमा लिइएको थियो। अधिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाउनका लागि बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय सिराहाबाट प्रहरी निरीक्षक राज यादवको नेतृत्वमा थप ७ जना सुरक्षाकर्मी खटिएर सोही घरको सुत्ने कोठामा थप खानतलासी गर्दा प्लास्टिकमा प्याक गरि बोरामा राखिएको थप १ पोका गाँजा फेला परेको हो। दुवै कोठाबाट बरामद गरिएको गाँजा नापतौल गर्दा प्लास्टिक र बोरा सहित कुल ७१७.६ केजी (कुल २७ पोका) भएको पुष्टि भएको छ।
बरामद गरिएको लागुऔषध आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सिराहामा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिरहाले जानकारी दिएको छ। प्रहरीले गाँजासँग सम्बन्धित व्यक्तिहरु उपर थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।

प्रतिक्रिया