अयोध्यामा जारी सत्सङ्गमा सशस्त्रका पूर्व प्रमुखद्वारा भारतवासीलाई नेपाल दर्शनको निमन्त्रणा
अयोध्या, भारत – श्रीराम जन्मभूमि अयोध्यास्थित श्री मणिराम दास छावनीमा जारी श्रीराम कथा वाचन तथा सुरत शब्दयोग ध्यान साधनाको दिव्य सत्सङ्ग कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकाल, व्यवसायी राजेन्द्र राउत लगायतका नेपालका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको छ ।
कार्यक्रमको विशेष अवसरमा सशस्त्र प्रहरी बल नेपालका पूर्व प्रमुख शैलेन्द्र कुमार श्रेष्ठले भारतवासीलाई पशुपतिनाथ, जनकपुर, मुक्तिनाथलगायत नेपालका दिव्य तीर्थस्थलको दर्शनका लागि सत्सङ्ग मञ्चबाट आमन्त्रण गर्नुभएको छ ।
महायोगी सिद्धबाबाको प्रमुख आतिथ्यतामा जारी उक्त कार्यक्रम जेठ १८ देखि जारी रहेको छ । सत्सङ्गमा भारतभरिका साधु–सन्त, महात्मा र विशिष्ट व्यक्तिहरूको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी हुँदै पूर्व प्रमुख श्रेष्ठले नेपाल र भारत सीमानाले छुट्याइएको भए पनि आध्यात्मिक रूपमा एउटै आत्मा भएका राष्ट्रहरू भएको उल्लेख गर्दै भगवान् राम र शिव दुवैको आराधना सम्पूर्ण मानवजातिको साझा सम्पत्ति भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले नेपालमा रहेका आध्यात्मिक सम्पदाहरू, विशेषतः पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम जस्ता दिव्य धामहरूको महत्त्व उल्लेख गर्दै ती स्थलहरूमा भारतवासीको आगमनले धार्मिक पर्यटनको अभिवृद्धि र सांस्कृतिक सेतु निर्माणमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी नेपाल सरकारका पूर्व सचिव श्रीधर सापकोटाले वर्तमान समयमा मानिस मानसिक, सामाजिक र आध्यात्मिक संकटमा रहेको बताउँदै समाधानका लागि महायोगी सिद्धबाबाद्वारा पुनः जागृत सुरत शब्दयोग साधना अत्यन्त उपयोगी भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “सद्गुरुदेवको असिम कृपाले आध्यात्मिक चेतनाको नयाँ लहर सुरु भएको छ। यसले मानव जीवनमा आत्मशुद्धि, अनुशासन र चरित्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ।”
कार्यक्रममा जगद्गुरु श्री स्वामी रामकृष्णाचार्यलगायत भारतका साधु, सन्त, महन्त लगायतका आध्यात्मिक गुरुहरूको दिव्य उपस्थितिले अयोध्याको वातावरण अध्यात्ममय बनाएको छ ।
भारतका प्रमुख सञ्चार माध्यमहरूले यस कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्दै सत्सङ्गका मुख्य सन्देशहरूलाई करोडौं जनसमक्ष पुर्याइरहेका छन् ।