भीमदत्त नगर सभापति कलौनीको अन्त्येष्टि


 

कञ्चनपुर । नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगरका सभापति अच्युतराज कलौनीको आइतबार हिन्दू परम्पराअनुसार महाकाली नदीस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

कलौनीको पार्थिव शरीरमा गृहमन्त्री रमेश लेखक र सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापाले पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे । शवयात्रामा पार्टीका कार्यकर्ता र हजारौँ सर्वसाधारणको सहभागिता थियो ।

शनिबार बिहान कलौनी भीमदत्त नगरपालिका– १८ मामाभान्जा चोक नजिकको सडकपेटीमा मृत भेटिएका थिए । महाकाली अस्पतालमा फरेन्सिक मेडिसिनविज्ञ डा अरविन शाक्य नेतृत्वको टोलीले कलौनीको शवपरीक्षण गरेका छन् ।

‘फरेन्सिक रिपोर्ट’ आउन भने बाँकी रहेको छ । मृत्युको कारणबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले शवपरीक्षण रिपोर्ट भोलिसम्म सार्वजनिक गरिने बताए । “शरीरमा कुनै चोटपटक लागेको देखिएको छैन भन्ने छ,” उनले भने ।