राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित
काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ वर्ष २०८१ को अवसरमा आयोजित ‘भेटघाट तथा शुभकामना आदान–प्रदान’ कार्यक्रममा ७८ वर्ष नाघेका ७४ जना इञ्जिनियरलाई दोसल्ला र करदपत्रद्वारा सम्मान गरिएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा डा जीवराज पोखरेलले ती सम्मान वितरण गरे । डा पोखरेलले गीत प्रस्तुत गरेर उपस्थित इञ्जिनियरलाई मनोरञ्जनसमेत दिए ।
राष्ट्र निर्माणमा इञ्जिनियर पेशाको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै यस क्षेत्रमा योगदान गर्ने वरिष्ठ इञ्जिनियरलाई सम्मान गरिएको नेपाल इञ्जिनियरर्स एशोसिएसनका पूर्वअध्यक्ष इञ्जिनियर किशोर शाक्यले बताए । उनका अनुसार सेवा निवृत्त इञ्जिनियरको पहलमा वरिष्ठ इञ्जिनियरलाई सम्मान गरिएको हो ।
“इञ्जिनियरिङ पेशामा वरिष्ठलाई कनिष्टले सम्मान गर्नुपर्छ भन्ने भावना युवा पुस्तामा जगाउने उद्देश्यले मित्रमिलनको कार्यक्रम गरिएको उनले उल्लेख गरे । “देश निर्माणमा इञ्जिनियरको योगदान छ । यो पेसामा वरिष्ठलाई कनिष्टले सम्मान गर्नुपर्छ, पेशागत सम्मानको संस्कृतिलाई निरन्तरता दिनुपर्ने भन्ने उद्देश्यले कार्यक्रम गरिएको हो”, उनले भने ।
सरकारी सेवामा लामो समयसम्म इञ्जिनियर पेशामा आबद्ध सेवा निवृत्तहरुको भेटघाट, मित्रमिलन र सुख दुःखका कुरा आदानप्रदान गर्ने उद्देश्यले सम्मान कार्यक्रम गरिएको शाक्यले बताए । नेपाल सरकारबाट सेवा निवृत्त इञ्जिनियर एवं ५८औँ वसन्त पार गरेका इञ्जिनियरको सहभागिता नववर्ष–२०८१ को अवसरमा सेवा निवृत्त इञ्जिनियरलाई सम्मान गरिएको हो । कार्यक्रममा विभिन्न साङ्गीतिक प्रस्तुति गरिएको थियो ।