कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ, सुरक्षा व्यवस्था चुस्त



काठमाडौँ ।  कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि सङ्घीय राजधानी काठमाडौँ सिँगारिएको छ । कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।

काठमाडौँ महानगरपालिकाले काठमाडौँका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताए ।

“काठमाडौँ महानगरपालिकाले कतारका राजाको नेपाल भ्रमणका सन्दर्भमा हामीले गर्दै आएको काम थप प्रभावकारी बनाएका छौँ, सरसफाइ, स्वागतद्वार, साजसज्जाका साथ नगरप्रहरीहरु परिचालनमा विशेष ध्यान दिएका छौँ”, उनले भने ।

काठमाडौँका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ ।

उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

‘कतारका मौसुफलाई हार्दिक स्वागत छ, कतारका अमिर र विशिष्ठ पाहुनालाई हार्दिक स्वागत छ’ जस्ता ब्यानरले काठमाडौँको सडक सजिएका छन् । विशिष्ठ पाहुना आवतजावत गर्ने सडकमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ । प्रत्येक स्वागतद्वारमा सुरक्षाकर्मीले पहरा दिइरहेका छन् ।

विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवास, राजा बस्ने पाँचतारे सोल्टी होटल, कार्यक्रम हुने स्थल द्वारिकाज होटलसम्मको सडक चिटिक्क पारिएको छ । काठमाडौँ महानगरपालिका, गैरआवासीय नेपाली सङ्घ र नेपालस्थित कतार राजदूतावासले कतारका अमिरको भव्य स्वागतका लागि स्वागतद्वार निर्माण गरेका छन् ।

सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदैछन् ।

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त

कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि आज यहाँ आउँदैछन् ।

उनको भ्रमणका सन्दर्भमा सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृतरथीको संयोजकत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका विभिन्न टोली परिचालन भएको छ । उक्त संरचना मातहत विभिन्न सुरक्षासम्बन्धी व्यवस्था गरिएको छ ।

विशिष्ट पाहुनाका स्वागतदेखि बिदाइसम्मका विभिन्न कार्यक्रम र समारोहस्थलमा आवश्यकताका आधारमा सुरक्षा संयन्त्र परिचालन गरिएको नेपाली सेनाले जनाएको छ । कतारी अमिरको भ्रमणका सिलसिलामा विभिन्न तयारी बैठक समेत गरी कार्य जिम्मेवारी बाडँफाँट गरिएको छ ।

सरकारले जारी गरेको विशिष्ट व्यक्ति शान्ति सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ अनुसार सुरक्षा प्रबन्ध मिलाइएको छ । विशिष्ट पाहुनाको सुरक्षाका लागि सुरक्षा व्यवस्थापन चुस्त तुल्याइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले रबताए ।

कतारी अमिरको सुरक्षा व्यवस्थालाई मध्यनजर गरी उनको आगमन र प्रस्थानका समयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्य सबै उडान १५/१५ मिनेट स्थगित गरिने विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले जानकारी दिए  ।

कतारका अमिरको आजदेखि हुने भ्रमणले दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास लिइएको छ । मध्यपूर्व एसियाबाट नेपालमा पहिलो पटक हुन लागेको यो उच्चस्तरको भ्रमणमा हो । पश्चिम एसियाको महत्वपूर्ण शक्ति राष्ट्रका प्रमुखको भ्रमणलाई महत्वका साथ हेरिएको छ । नेपालको वैदेशिक श्रम गन्तव्यमध्ये कतार एक महत्वपूर्ण देश हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने

यसरी गरियो टी–२० विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ,सन्दीप पनि सहभागी

काठमाडौँ । टी–२० विश्वकप खेल्ने नेपाली टोलीको शुक्रबार बिदाइ गरिएको छ । नेपाल

राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने ७४ इञ्जिनियर सम्मानित

काठमाडौँ । राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान गर्ने इञ्जिनियरलाई सम्मान गरिएको छ । नयाँ

सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि बझाङको अधिकांश भूभाग अँध्यारो

चैनपुर। बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि आज वायु प्रदूषणले जिल्लाको