‘समस्या राति गएर महिलाहरूमाथि बल प्रयोग गर्नेहरूमा होइन, राजनीतिक चरित्रमै छ’


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले समस्या यो व्यवस्थाले निर्माण गरेको राजनीतिक चरित्रमा भएको बताएका छन् ।

बुधबार सामाजिक संजालमार्फत मिश्रले स्थिति बसभन्दा बाहिर जानु अगावै शान्तिपूर्ण संक्रमणमार्फत नवीनसमझदारीमा जानुपर्ने बताएका हुन् । उनले भनेका छन्, ‘नवीन समझदारीको बाटो पहिल्याउन ढिलो नगरौँ । समस्याका तदर्थ समाधानतिर नलागौँ। ‘सर्भिसिङ’ गरेर हुँदैन ‘ओभरहलिङ’ नै गर्नुपर्छ। जति ढिलो गर्यौँ, उति यो बिग्रिँदै जान्छ ।’
यस्तो छ मिश्रको धारणा
हुँदैन के, चल्दैन यसरी – मान्नोस् न !
समस्या राति गएर महिलाहरूमाथि बल प्रयोग गर्नेहरूमा होइन । समस्या यो व्यवस्थाले निर्माण गरेको राजनीतिक चरित्रमा छ । समाजको पत्रपत्र पतित भएको छ भनेर मैले त्यसै भनेको होइन । हिजोमात्र होइन राजनीतिक भागबण्डमा सर्वोच्चको न्यायाधीश सिफारिस भएको ? अंश–अंशमा समाधान खोजेर के मात्रै सुधार्नु हुन्छ ? यस्तो लाग्दैछ, गणतन्त्र हाँक्ने भन्दा देशै ध्वस्त हुने बाटोमा जाँदा समेत गणतन्त्र जोगाऊँ भन्ने विद्वान, टिप्पणीकार, नागरिक समाजका अगुवा र मिडिया यो देशको दुर्दशाका लागि अझ बढी जिम्मेवार छन् । तिनले लिँडेढिपी गरिरहे भने शान्तिपूर्ण संक्रमण हुनेछैन र त्यो सुखद हुने छैन । स्थिति बसभन्दा बाहिर जानु अगाबै शान्तिपूर्ण संक्रमणमार्फत नवीनसमझदारीमा जाऊँ । नयाँ÷पुराना प्रचण्डपन्थीहरूले राजसंस्थावादीहरूलाई या राजसंस्थावादीहरूले प्रचण्डपन्थीहरूलाई न्यूनिकरण गरेर कोही, काँही पुग्नुवाला छैन। देश बन्नेवाला छैन । नवीनसमझदारीको बाटो पहिल्याउन ढिलो नगरौँ । समस्याका तदर्थ समाधानतिर नलागौँ। ‘सर्भिसिङ’ गरेर हुँदैन ‘ओभरहलिङ’ नै गर्नुपर्छ। जति ढिलो गर्यौँ, उति यो बिग्रिँदै जान्छ ।