काठमाडौँ । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि पक्राउ परेका पूर्वमन्त्री दीपक खड्काको अनुसन्धान फाइल झिकाएको छ ।
खड्काको तर्फबाट दायर बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापाको संयुक्त इजलासले बुधबार सुनुवाइ गर्दै राजस्व अनुसन्धान विभागलाई बिहीबार १२ बजेभित्रमा लिखित जवाफ पेश गर्न र अनुसन्धानको फाइल समेत बुझाउन आदेश दिएको हो ।
आदेशमा भनिएको छ, ‘वैशाख ३ गते १२ बजेसम्ममा प्राप्त हुने गरी राजस्व अनुसन्धान विभाग र ललितपुर जिल्ला अदालबाट निज निवेदकलाई थुनामा राख्नुको कारण सहितको लिखित जवाफ समेत झिकाइ प्रस्तुत रिट निवेदनको वैशाख ३ गते पेशी तोक्नू।’
खड्कालाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गत चैत १५ गते पक्राउ गरेको थियो । यसअघि सम्पत्ति शुद्धीकरण विभागले नै म्याद थप गरे पनि फाइलसहित बुझाएपछि राजस्वबाट अनुसन्धान अगाडि बढेको हो ।

प्रतिक्रिया