आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउन आयोगको सुझाव
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानुन बनाउनुपर्ने बताएका हुन् ।
उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए ।
उनले कर्मचारी र कैदीबन्दीलाई यसै पटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आउँदा दिनमा कानुन बनाएर आम मतदातालाई मतदान गर्न दिइनुपर्ने बताए । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको सङ्ख्या बढ्ने उनको भनाइ छ ।
उनले भने, ‘तपाईँ काठमाडौंमा एउटा एनजीओमा काम गरिरहनुभएको छ तर तपाईँको घर चाहिँ मनाङ वा ताप्लेजुङ हो भने तपाईँले भोट नै हाल्न नपाउने भन्ने हुन्छ ? जो जहाँ छ त्यहीँबाट कम्तीमा पनि समानुपातिकतर्फबाट भोट हाल्न पाउने कुराको ग्यारेन्टी गर्ने गरी कानुन बनाउनुपर्छ ।’
थपलियाले जनअनुमोदित राजनीतिक दलहरूलाई मात्रै सर्वदलीय बैठकमा समावेश गराउने प्रावधान राख्ने गरी आयोगले निर्णय गर्न लागेको बताए ।