कर्णाली प्रदेश अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण



कर्णाली । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरस्थित प्रदेश अस्पताल सुर्खेतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको छ । बर्दघाट नगरपालिका–४ नवलपरासीका २२ वर्षीय मोतिबहादुर थापाको शनिबार मिर्गौला प्रत्यारोपण गरिएको हो ।

कानुनी तथा व्यवस्थापकीय प्रक्रिया पूरा भएपश्चात् शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा पुकारचन्द्र श्रेष्ठ र अस्पताल निर्देशक डा डम्बर खड्का नेतृत्वको संयुक्त टोलीले प्रत्यारोपण कार्य सम्पन्न गरेको हो ।

थापालाई उनकी ४३ वर्षीया आमाले मिर्गौला दान गरेकी हुन् । प्रत्यारोपण कार्यमा काठमाडौँ उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक र कर्णालीमा पहिलो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले जानकारी दिए ।

उनका अनुसार प्रदेश अस्पतालले अनुमति पाएको तीन महिनापछि सफल मिर्गौला प्रत्यारोपण भएको छ ।

शहीद धर्मभक्त माथेमा राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरका निर्देशक डा श्रेष्ठ र कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डा खड्काले प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणका लागि विसं २०७८ चैत १० गते सम्झौता गरेका थिए ।

केन्द्रबाट डा रविकिरण गौतम, डाक्टर हरि बराल, एनेस्थेसियोलोजिस्ट डा सोभित थापा, रश्मित श्रेष्ठ, नेफ्रोलोजिस्ट डा सुमित आचार्य, डा दीपा लामिछाने र रेडियोलोजिस्ट डा समीर दवाडी संलग्न थिए ।

त्यस्तै, सुर्खेत अस्पतालबाट डा पूजन बल्ल, डा जनी बज्राचार्य, फिजिसियन डा कुलराज शाही, ओटी इन्चार्ज प्रभा रावल तथा ओटी र आइसियुमा कार्यरत नर्स प्रयोगशालाका इन्चार्ज भरत देवकोटालगायत कर्मचारीहरूको टोली मिर्गौला प्रत्यारोपण कार्यमा संलग्न भएको थियो ।

प्रत्यारोपण सेवालाई नियमित सञ्चालन प्रदेश अस्पतालको आगामी योजना रहेको छ । यसका लागि अस्पतालमा कार्यरत चिकित्सक, नर्स तथा प्राविधिकलाई क्षमता वृद्धि गर्न उच्चस्तरको तालिमका लागि केन्द्रमा पठाउने निर्देशक डा डम्बर खड्काले बताए ।

प्रत्यारोपण केन्द्रमा हालसम्म एक हजार ११ जनाको मिर्गौला र नौजनाको कलेजो प्रत्यारोपण गरिएको कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

“अब कर्णालीका बिरामीले काठमाडौँ धाउनुपर्ने अवस्था आउँदैन र बिरामीले एक रुपैयाँसमेत खर्च गर्नुपर्दैन”, उनले भने, “यसको सेवा निरन्तर हुन्छ तर कुनै पनि हालतमा बन्द हुँदैन ।”

मिर्गौला प्रत्यारोपण निःशुल्क भएको र कुनै पनि शुल्क तिर्नु नपरेको मोतिबहादुरका बुबा तुलबहादुर थापाले बताए ।

“म शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गएको थिएँ”, उनले भने, “सुर्खेतमै उपचार हुन्छ भनेपछि एक्लै यहाँ आउन साहस गरे । मिर्गौला प्रत्यारोपण कार्य पनि सोचेजस्तो भएको छ ।” अहिले छोराको स्वास्थ्य अवस्था सन्तोषजनक भएको थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

बेदकोट (कञ्चनपुर) । कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक तेस्रो

इटालीका राष्ट्रपतिसमक्ष राजदूत सुवेदीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौँ । इटालीका लागि नेपालका गैरआवासीय राजदूत रामप्रसाद सुवेदीले मङ्गलबार त्यहाँका राष्ट्रपति सेर्गियो

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला गरिने, तीन प्रकारका प्रवेश अनुमतिपत्रको व्यवस्था

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा यार्सागुम्बा सङ्कलन गर्न

महोत्तरीको मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रणमा

  जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा बुधबार दिउँसो लागेको आगो ६