किन सधैं बाघजाले ?



जुम्लाको बाघजालेको लेकमा चट्याङका कारण पाँच वर्षमा १५०० भेडा मरे। चट्याङकै कारण सम्पत्ति सकिंदा पशुपालक किसानलाई गुजारा चलाउनै मुश्किल छ। तर, अरूका लागि किसानको यो पीडा मुद्दा नै बनेन।

मुकेश पोखरेल | खाेज पत्रकारिता केन्द्र

जुम्लाको पातारासी गाउँपालिका–४ लुमका शंकर नेपालीले एक वर्षअघि मात्रै २ लाख ५० हजार रुपैयाँ ऋण काढेर २० वटा भेडा किनेका थिए। यसपालि केही भेडा बेचेर ब्याज तिर्ने र बचेको पैसाले दशैं खर्चको जोहो गर्ने उनको सोच थियो। तर, १७ असार २०७९ मा परेको चट्याङले उनको योजना भताभुङ्ग बनायो।

“पाँचवटा भेडा बेचेर ऋणको ब्याज तिरौंला, नून–तेलको जोहो गरौंला भन्ने सोचेको थिएँ, चट्याङले गोठै रित्तो बनायोे” उनले भने, “गाउँमै काम गर्ने भनेर भारततिर गइएन। अब त्यत्रो ऋण कसरी तिरौं ?”

बाघजालेको लेकबाट लुम (गाउँ) झरेका शंकरको भेडीगोठ नै रित्तिएको छ।

भेडा मरेपछि तीन रात निदाउन नसकेका शंकर लेकमा चट्याङ पर्दा अरू गोठालासँगै पालमुनि बसेका थिए। दिउँसो करीब १ बजेदेखि गड्याङगुडुङ गर्दै पानी पर्न थाल्यो। एक घण्टा पानी परेपछि एक्कासी ठूलो आवाज र आगोको झिल्का देखिएको उनी बताउँछन्।

“त्यसपछि हामी सबै बेहोश भएछौं” उनी भन्छन्, “झण्डै आधा घण्टापछि होशमा आउँदा भेडा पाटनमै पल्टिएका थिए।”

१७ असारको चट्याङबाट लुमका रामबहादुर रेउलेका पनि ५० वटा भेडा मरे, १०० भन्दा बढी हराए। त्यसपछिका दुई दिनसम्म रामबहादुर सुद्धी हराए जस्ता भए। “सुतेको सुत्यै गर्नुभयो, कसैसँग पनि बोल्नुभएन” छोरा सुक रेउले भन्छन्, “हाम्रो सबै सम्पत्ति भनेकै त्यही भेडा थियो। बाह्रै मास लेकमा बसेर हुर्काएका भेडा सकिंदा कसरी मन थाम्नु ?”

जुम्लाको पातारासीमा नेपाली र रेउले जस्ता थुप्रै पशुपालक किसानले चट्याङका कारण बर्सेनि जनधनको क्षति व्यहोरिरहेका छन्।

जिल्लामा सबैभन्दा धेरै भेडापालन गरिने गाउँपालिका हो, पातारासी। यो गाउँपालिकाको पशु सेवा शाखा प्रमुख गगन केसी यहाँ करीब ३० हजार भेडा पालन गरिएको बताउँछन्।

१९ हजार जनसंख्या र ३३०० घरपरिवार रहेको यो गाउँपालिकाका बासिन्दाको प्रमुख आयस्रोत नै भेडापालन र खेती–किसानी हो। केसीका अनुसार, चरन क्षेत्रका लागि आवश्यक पर्ने प्रशस्त पाटन र लेक भएका कारण यहाँ धेरैले भेडा नै पाल्छन्।

जिल्ला पशुसेवा कार्यालय जुम्लाका अधिकृत धनबहादुर बुढा किसानको एउटा भेडा न्यूनतम २० देखि ३० हजार रुपैयाँमा बिक्री हुने बताउँछन्। “जिल्ला बाहिर बिक्रीका लागि हामीले सहयोग गरेका छौं” उनी भन्छन्, “गत वर्षबाट भेडाको मूल्य वृद्धि भएको छ।”

भेडा गाेठाला बास बस्ने ठाउँ ।

गत वर्ष जिल्ला पशु सेवा कार्यालयको समन्वयमा १५०० भेडा बिक्रीका लागि पोखरा पठाइएको थियो। जुम्लाको भेडा मासुका लागि राम्रो मानिन्छ।

पातारासी गाउँपालिकाका अनुसार, १७ असारको चट्याङबाट लुम गाउँमा १३० भेडा मरे। पशु सेवा शाखाका केसी गाउँलेले ३०० भेडा मरेको दाबी गरे पनि प्रहरीसहितको टोली गएर हेर्दा १३० वटा मरेका भेडा भेटिएको बताउँछन्।

उनी भन्छन्, “मरेका भेडा नभेटिएसम्म मरेको भन्न मिलेन, गाउँलेको दाबी अनुसार २५० भेडा अझै हराइरहेका छन्।”

जिल्ला पशु सेवा कार्यालय जुम्लाले तीन वर्षदेखि मृत्यु भएका भेडाको रेकर्ड राख्न थालेको छ। हरेक वर्ष किसान भेडा मरे भनेर क्षतिपूर्ति माग्न आउन थालेपछि रेकर्ड राख्न थालिएको हो। रेकर्ड अनुसार, ८ भदौ २०७७ मा पातारासीकै बाघजाले क्षेत्रमा चट्याङका कारण २१७ वटा भेडा मरेका थिए।

त्यसैगरी ५ असार २०७८ मा पातारासी–४ स्थित बजेरी पाटनमा ८१ वटा भेडा–बाख्रा मरे। २०७० सालमा जुम्लामा हावाहुरी र चट्याङका कारण ७०० भेडा मरेका थिए।

लुमका शुकबहादुर राउत २०७२ यता करीब १५०० भेडा चट्याङका कारण मरेको बताउँछन्।

पातारासी गाउँपालिका–४ का पूर्व वडाध्यक्ष कालीबहादुर बुढा कृषकले रेकर्डमा आएभन्दा धेरै क्षति व्यहोर्नु परेको दाबी गर्छन्। भन्छन्, “पोहोरदेखि सोधखोज गर्न लागेको हो। २०७२ सालदेखि नै भेडा मात्रै होइन, च्याङग्रा, खच्चर, घोडा पनि चट्याङमा परेर मरेका छन्।”

किन सधैं बाघजाले ?

भेडाको चरनका लागि राम्रो मानिएको बाघजाले लेकमा किन सधैं चट्याङ पर्छ ? कुनै अध्ययन भएको छैन। यद्यपि, जुम्ला जिल्लाको मौसमसम्बन्धी तथ्याङ्क र जानकारका भनाइमा, विश्वव्यापी तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण चट्याङका घटना बढ्न थालेका हुन्।

अमृत साइन्स क्याम्पसमा भौतिकशास्त्रका सह–प्राध्यापक श्रीराम शर्मा १ डिग्री तापक्रम बढ्दा चट्याङ पर्ने दर १० देखि २० गुणाले बढ्ने बताउँछन्। जल तथा मौसम विज्ञान विभागका अनुसार, जुम्लामा प्रति वर्ष ०.०५२ डिग्री सेल्सियसका दरले तापक्रम वृद्धि भइरहेको छ। यही आधारमा हिसाब गर्दा पछिल्लो २० वर्षमा जुम्लाको तापक्रम १ डिग्री सेल्सियसले बढेको छ।

भेडा चराउन लैजाँदै ।

जल तथा मौसम विज्ञान विभागकी सिनियर मेटेरियोलोजिष्ट डा. इन्दिरा कँडेल जुम्ला जिल्लाको तापक्रम वृद्धिदर उल्लेखनीय रहेको र यसले सम्पूर्ण पर्यावरणमा उथलपुथल ल्याउने बताउँछिन्।

विज्ञहरूका भनाइमा चट्याङ पर्नुभन्दा आधा घण्टा अघि त्यसको पूर्वानुमान गर्न सकिन्छ। “चट्याङ पार्ने खालको बादल बन्दै गर्दा त्यसलाई सेन्सरको सहायताले पत्ता लगाउन सकिन्छ” सह–प्राध्यापक शर्मा भन्छन्, “यदि सम्भावित जोखिम रहेको ठाउँमा सेन्सरहरू जडान गरेर पूर्व सूचना दिने संयन्त्र निर्माण गर्न सकियो भने क्षति कम गर्न सकिन्छ।”

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, चट्याङबाट बढी जोखिम रहेको क्षेत्रमा पूर्व सूचना प्रणाली जडान गर्ने योजना छ। त्यसबाट किसानहरूले समयमै सूचना पाउने र क्षति कम हुने प्राधिकरणको दाबी छ।

नाम मात्रैको राहत

चट्याङबाट भेडा गुमाउने किसानलाई कर्णाली प्रदेश सरकार र पातारासी गाउँपालिकाले राहत रकम उपलब्ध गराएका छन्। तर, त्यो राहत क्षतिको तुलनामा नगन्य छ।

पातारासी गाउँपालिकाका सूचना अधिकारी दानबहादुर विष्टका अनुसार २०७७ सालमा बनाइएको कार्यविधिले प्रतिभेडा रु.२ हजार राहत दिने व्यवस्था गरेको छ। “क्षतिको तुलनामा हामीले दिने राहत निकै कम छ तर, थोरै भए पनि सहयोग होस् भनेर दिइरहेका छौं”, उनी भन्छन्।

“चट्याङ पार्ने खालको बादल बन्दै गर्दा त्यसलाई सेन्सरको सहायताले पत्ता लगाउन सकिन्छ, यदि सम्भावित जोखिम रहेको ठाउँमा सेन्सरहरू जडान गरेर पूर्व सूचना दिने संयन्त्र निर्माण गर्न सकियो भने क्षति कम गर्न सकिन्छ।”

कर्णाली प्रदेश सरकारले पनि प्रति भेडा रु.४ हजारका दरले राहत रकम दिन थालेको छ। पातारासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहोरा भन्छन्, “यो राहत रकम केही पनि होइन, हामी समस्याको दीर्घकालीन समाधान खोज्दैछौं।”

चरन क्षेत्रमा चट्याङको पूर्व सूचना दिने प्रणाली र जोखिम न्यूनीकरणका लागि ‘अर्थिङ’ गर्ने आदि जस्ता उपाय स्थानीय सरकारको बुता बाहिर भएको अध्यक्ष बोहोरा बताउँछन्। उनी भन्छन्, “त्यसैले चरन क्षेत्रमा ‘अर्थिङ’ गर्न बेलायत सरकारको सहयोग रहेको नेपाल जलवायु सहयोग कार्यक्रमसँग कुरा भइरहेको छ।”

किन बन्दैन चुनावी मुद्दा ?

बर्सेनि किसानका भेडा मर्दा पनि क्षति न्यूनीकरण र समाधानका उपाय नखोजिनुको मुख्य कारण हो, यो राजनीतिक दलको मुद्दा बन्न नसक्नु।

नेपाली कांग्रेसका स्थानीय नेता एवम् जुम्ला जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यको बुझाइमा, यो प्राविधिक र विज्ञानसँग जोडिएको विषय भएकाले दलहरूको ध्यान जान नसकेको हो।

जुम्लाको बाघजालेको लेकमा चट्याङले पारेकाे खाल्डो ।

“चट्याङ विज्ञान र प्रकृतिसँग सम्बन्धित विषय भयो, हामीले चुनावी मुद्दा बनाएर रोक्न सक्ने कुरा पनि भएन” आचार्य भन्छन्, “जनतालाई क्षति भएको कुरामा दलहरूले ध्यान दिनुपर्ने हो। आगामी दिनमा हामी छलफल चलाउँछौं।”

विज्ञहरू किसानलाई राहत दिन भरपर्दो भेडा बीमा कार्यक्रम लागू गर्नुपर्ने उपाय सुझाउँछन्।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार, बीमा कार्यक्रम भए पनि त्यो लक्षित किसानको तहसम्म पुग्न सकेको छैन।

“बीमा कार्यक्रमलाई किसानसम्म पुर्‍याउन यथेष्ट प्रयत्न गरिएको छैन” उनी भन्छन्, “पहिला सम्बन्धित पालिकाले क्षतिको आकलन गर्नुपर्छ। पञ्चवर्षीय कार्यक्रममा किसानका भेडाको बीमा गर्ने कार्यक्रमलाई समावेश गर्नुपर्छ।”

गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहोरा पनि किसानका भेडाको बीमा गर्नुपर्ने आवश्यकता देखिएको बताउँछन्। उनी गाउँपालिकाले प्रिमियमको रकम उपलब्ध गराएर भए पनि बीमा कार्यक्रम सञ्चालन गर्ने योजनामा रहेको बताउँछन्।

वन तथा वातावरण मन्त्रालयले तयार गरेको संकटासन्नता, जोखिम विश्लेषण र अनुकूलताका उपाय सम्बन्धी प्रतिवेदनका अनुसार; बाढी, पहिरो, चट्याङ र हिमताल विस्फोट जस्ता जलवायुजन्य घटना देशभर बढ्दै गएका छन्।

पछिल्लो पाँच वर्षयता प्रमुख राजनीतिक दल एमाले, कांग्रेस र माओवादीले आफ्नो चुनावी घोषणापत्र र पार्टीको दस्तावेजमा जलवायुको विषयलाई समेटेका छन्। तर, त्यसको कार्यान्वयन चाहिं हुनसकेको छैन।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल प्राकृतिक विपत्का मुद्दाहरूको सम्बोधन दलको प्रतिबद्धता र सक्रियता विना सम्भव नहुने बताउँछन्। “सुरुवात भएको छ, अझै पुगेको छैन” उनी भन्छन्, “हामीले पछिल्लो २० वर्षमा हासिल गरेको उपलब्धि जोगाउन पनि यो विषय राजनीतिक मुद्दा बन्नुपर्दछ।” दलहरूले राजनीति गरेको पनि धनजनको रक्षा र समृद्धिकै लागि भएकाले यो मुद्दा प्राथमिकतामा पर्नुपर्ने उनको भनाइ छ।

जलवायुविज्ञ राजु पण्डितका भनाइमा किसानको पशुधन र बालीको बीमा जस्ता कार्यक्रम ल्याउन दलहरू नै अग्रसर हुनुपर्छ।

 बर्सेनि १०३ को मृत्यु

चट्याङका कारण हुने आर्थिक नोक्सानीको हिसाब सरकारसँग छैन। सह–प्राध्यापक श्रीराम शर्मासहितको टोलीले सन् २०२१ मा गरेको अध्ययन अनुसार, १४ अप्रिल २०११ देखि १५ अप्रिल २०२० सम्म नेपालमा चट्याङका कारण ९३० जनाको मृत्यु भएको छ।

सोही अवधिमा चट्याङका कारण घाइते हुनेको संख्या २ हजार ४५४ छ। यस हिसाबले नेपालमा हरेक वर्ष सरदर १०३ जनाले चट्याङका कारण ज्यान गुमाइरहेका छन्।

मृत्यु हुनेमध्ये ५०.८ प्रतिशत पुरुष छन् भने ३५.३ प्रतिशत महिला। १४ प्रतिशतको पहिचान हुनसकेको छैन। यो अवधिको तथ्याङ्कलाई विश्लेषण गर्दा प्राकृतिक प्रकोपमध्ये सबैभन्दा बढी मृत्युको कारण चट्याङ बनेको छ।


कसरी पर्छ चट्याङ ?

श्रीराम शर्मा, सह–प्राध्यापक, भौतिकशास्त्र विभाग, अमृत साइन्स क्याम्पस

चट्याङ ठूलो मात्राको विद्युतीय तरंग हो। अमृत साइन्स क्याम्पस भौतिकशास्त्र विभागका सह–प्राध्यापक श्रीराम शर्माका अनुसार, बादलभित्र घर्षणको प्रतिक्रिया स्वरुप चट्याङ पर्छ।

सूर्यको तापका कारण वाष्पीकरण भएका पानीका कणहरू वायुमण्डलको एउटा निश्चित बिन्दुमा गएपछि चिसिएर वरफ बन्छन्। माथि पुगेका ती गह्रुङ्गा कणहरू तलतिर झर्न थाल्छन् भने हलुका कणहरू माथितिर सोझिन्छन्। यस क्रममा घर्षण शुरू हुन्छ। यो प्रक्रियामा नेगेटिभ र पोजेटिभ चार्ज बोकेका कणहरूबीचको घर्षण बढ्दै गएपछि ठूलो मात्रामा करेन्ट प्रवाह हुन्छ र त्यसले चट्याङ उत्पन्न हुन्छ।

विश्व मानचित्रमा तीन वटा बढी चट्याङ पर्ने स्थान (हटस्पट) छन्। पहिलो, मध्य–अफ्रिकामा पर्छ। दोस्रो, दक्षिणी र उत्तरी अमेरिकाको बीचको भूभाग हो। तेस्रो, पूर्वी एशिया।

पूर्वी एशियाका इण्डोनेसिया, सिंगापुर, मलेशिया चट्याङका भुङ्ग्रो नै हुन्। एउटा सानो चोइटो बंगालको खाडी वरिपरि पनि छ र त्यसको छिटा नेपालमा पनि परेको शर्मा बताउँछन्।

उनका अनुसार, तराई र चुरे क्षेत्र नजिक चट्याङ बढी पर्नुको कारण त्यहाँको तापक्रम नै हो। तापक्रम बढी भएपछि जमीनको सतहमा न्यून चाप सिर्जना हुन्छ र तातो हावा वायुमण्डलतिर जान्छ। जमीनबाट वाष्पीकरण भएर गएको हावा चिसो ठाउँतिर जाने क्रममा उत्तरतर्फ पहाडले छेक्छ र त्यसक्षेत्रको वायुमण्डलमा उथलपुथल भई चट्याङ पर्छ।

शर्मा सहितका विज्ञहरूको टोलीले गरेको अध्ययन र सन् २०२१ मा प्रकाशित ‘नेपालमा चट्याङको खतराः घटना र मानवीय प्रभाव’ विषयको अनुसन्धान पत्रमा उल्लिखित विवरण अनुसार; अप्रिल, मे, जून र जुलाई सबैभन्दा बढी चट्याङ पर्ने महीना हुन्।

सन २०१६–२०२० सम्मको मे महिनामा २७ हजारभन्दा बढी पटक चट्याङ परेको रेकर्ड गरिएको छ। त्यसैगरी जूनमा २६ हजारभन्दा बढी चट्याङ परेको रेकर्ड गरिएको छ। प्रि–मनसुनको समयमा दिउँसो १२ बजेदेखि ४ बजेको बीचमा बढी चट्याङ परेको उक्त अध्ययनले देखाएको छ। त्यसैगरी मनसुन र पोष्ट मनसुनमा रातको समयमा बढी चट्याङ  पर्ने गरेको पाइएको छ।

जल तथा मौसम केन्द्रीय विभाग, त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका सह–प्राध्यापक डा. विनोद पोखरेल बिहानदेखि घाम लागेर पृथ्वी तात्दै गएपछि त्यसबाट वाष्पीकरण भएर चट्याङका लागि उपयुक्त वातावरण निर्माण हुने र दिउँसो १२ देखि ३ बजेको बीचमा बढी चट्याङ पर्ने बताउँछन्।

यद्यपि, रातिमा पनि चट्याङ पर्ने र त्यसको कारण केही फरक रहेको उनी बताउँछन्। वायुमण्डलबाट आउने चिसो हावा र तातेको जमीनले वायुमण्डललाई असन्तुलित बनाइदिंदा रातिमा पनि चट्याङ पर्ने गरेको उनले बताए।

‘नेपालमा चट्याङको खतराः घटना र मानवीय प्रभाव’ विषयको अनुसन्धान प्रतिवेदनका अनुसार, विश्वमा चट्याङका कारण बर्सेनि २४०० मानिसले ज्यान गुमाउँछन् भने करीब २ लाख ४० हजार मानिस घाइते हुन्छन्।

अर्का अनुसन्धानकर्ता एवम् त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका उप–प्राध्यापक वसन्तराज अधिकारीको ‘लाइटिङ फेटालिटिज एण्ड इन्जुरिज इन नेपाल’ नामक ‘जर्नल अफ अमेरिकन मेट्रोलोजिकल सोसाइटी’ मा प्रकाशित शोध लेख अनुसार सन् १९९० यता नेपालमा चट्याङ पर्ने क्रम बढेको छ।

तर, नेपालमा १० वर्षअघिको तथ्याङ्क नै नभएकोले चट्याङ पर्ने क्रम बढेको नै भन्न नसकिने अमृत साइन्स क्याम्पसका सह–प्राध्यापक शर्माको तर्क छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन आयोगद्वारा समानुपातिकको सिट बाँडफाँट, कसले कति पाए सिट ?

काठमाडौं ।  निर्वाचन आयोगले मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत

महाकालीमा तटबन्ध निर्माण रोक्न भारत सहमत

धनगढी । दार्चुलास्थित महाकाली नदी पारी भारतले एकतर्फी रुपमा निर्माण सुरु गरेको तटबन्धका

संसद सचिवालयका महासचिवको पत्र कार्यान्वयन नगर्न बारको आग्रह

काठमाडौं । नेपाल बार एसोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको निलम्बन पत्रलाई निष्प्रभावी

महाभियोग निष्क्रिय पार्ने निर्णयविरुद्ध परेको रिटमा शुक्रबार सुनुवाई हुने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्ने