दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि



दैलेख । दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरिएको छ । नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टि गरेको हो ।

चिनियाँ प्राविधिक टोलीले खानी तथा भूगर्भ विभागलाई पठाएको प्रतिवेदनमा यहाँ ग्यास र पेट्रोल भएको पुष्टि गरेको बताइएको छ । चिनियाँ टोलीले प्रतिवेदन पठाएपछि उत्खननका लागि थप प्रक्रिया अघि बढाइएको विभागका भूगर्भविद् डा. सुधीर रजौरेले बताए । “सर्भे गरिएको स्थानमा ग्यास र पेट्रोल छ भन्ने प्रमाणित भयो”, उनले भने, “अब कुन भू–भागमा कति परिमाणमा पेट्रोलियम पदार्थ वा ग्याँस छ भनेर अन्तिम सर्भे हुनेछ ।”

कोरोना भाइरस सङ्क्रमणको कारण देखाउँदै विज्ञ तथा प्राविधिकको टोलीलाई चीन सरकारले आउने अनुमति दिएको छैन । अहिले विज्ञ टोली चीनको प्राकृतिक स्रोत मन्त्रालयको अनुमति कुरेर बसेको उनको भनाइ छ । “चारवटा क्षेत्रमा गरिएको सर्भेको नतिजा सकारात्मक देखिएको छ”, उनले भने, “टोली आउनासाथ धमाधम काम सुरु हुन्छ ।”

दुबै देशका सरकारबीच जीटुजी सम्झौताअनुसार काम सुरु भएकाले यसलाई निरन्तरता पाउने विभागले जनाएको छ । “विस्तृत सर्भे र ड्रिलिङको काम पनि अहिलेसम्म सकिन्थ्यो होला”, भूगर्भविद् डा. रजौरेले भने, “कोभिडका कारण झन्डै डेढ वर्ष अन्वेषणको काममा ढिलाइ भएको छ ।”

दैलेखका विभिन्न ठाउँमा २०७६ असोजदेखि अन्वेषणको काम सुरु गरिएको थियो । विभागले श्रीस्थान, पादुका, कोटिला, दैलेख बजार तथा कर्णाली राजमार्ग आसपासका क्षेत्रमा ड्रिलिङको काम सकिएको जनाएको छ ।

करिब १० वर्षअघि पनि दैलेखमा बलेको ग्याँसकै कारण नेपालको कुनै भू–भागमा पेट्रोलियम पदार्थ हुनसक्छ भन्दै केही अन्तर्राष्ट्रिय कम्पनीले नेपालका विभिन्न १० वटा जिल्लामा अन्वेषण सुरु गरेका थिए । विभिन्न कारणले अन्वेषणका काम हुन नसकेपछि सरकारले सम्झौता रद्द गरेर चीनसँग नयाँ सम्झौता गरेको थियो । तत्कालीन समयमा ७२ लाख बढी अमेरिकी डलर खर्च गरिएको खानी तथा भूगर्भ विभागको तत्थ्याङ्कमा उल्लेख छ ।

चार हजार मिटर ड्रिलिङ हुने

अन्वेषणको अन्तिम चरणमा जमिनमुनि चार हजार ५०० मिटर गहिरो ड्रिलिङ गरिने भएको छ । विभागले दिएको जानकारीअनुसार यही ड्रिलिङपछि मात्र कति परिमाणमा ग्याँस वा पेट्रोल छ भनेर थाहा हुनेछ । यो काम पहिलो सर्भे गरिएको कुनै स्थानभित्र हुनसक्छ, अहिले स्थान भन्न मिल्दैन खानी तथा भूगर्भ विभागले जनाएको छ । अन्वेषणको पछिल्लो प्रतिवेदनलाई आधार मान्ने हो भने दैलेखको कुनै भूभागभित्र ग्याँस वा पेट्रोल छ भनेर सहजै अनुमान गर्न सकिने देखिएको हो ।

नेपाल र चीन सरकारले भने पेट्रोलियम पदार्थको उत्खननका लागि सन् २०१७ मा सम्झौता गरेको थियो । सोहीअनुसार विभिन्न चरणमा काम सुरु भइरहेका छन् ।

कोरोनाका कारण रोकियो अन्तिम सर्वेक्षण

विभागका अनुसार काम सुरु भइरहेकै बेलामा कोरोना सङ्क्रमणको दर बढेपछि केही समस्या भएको छ । अन्तिम सर्वेक्षणका लागि प्राविधिक टोली र आवश्यक उपकरण ल्याउन समयमै सकिएको भए अहिलेसम्म अन्तिम नतिजा पनि आइसक्थ्यो । कोभिड सङ्क्रमणकै कारण झण्डै १८ महिना अन्वेषणको काममा ढिलाइ भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
त्रिविको उत्तरपुस्तिका हराएको सम्बन्धमा छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय समिति

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग

काठमाडौँ । उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी मान्यता दिन माग गरेका छन्

नेपालमा ६० देशका अवैतनिक वाणिज्यदूत

  काठमाडौँ ।  पछिल्लो समय नेपालमा विभिन्न देशका लागि अवैतनिक वाणिज्यदूतको सङ्ख्या बढ्दै

सरकारले तोक्यो चैते धानको मूल्य

काठमाडौँ ।  सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ ।  मन्त्रिपरिषद्को बिहीबारको बैठकले