निर्वाचन आयोगले माधव नेपाल र महन्थ ठाकुरको दल दर्ताको सनाखत गर्दै


काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत  समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक  समाजवादी  पार्टी नेपाललाई सनाखतका लागि आज बोलाएको छ । आयोगले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा  भौतिक  रूपमा उपस्थितिका लागि बोलाएको हो ।

संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो । यसलगत्तै नेता  नेपाल  पक्षका ९५ जना  केन्द्रीय  सदस्य र ३१  जनाभन्दा बढी सांसदले नेकपा  (एकीकृत  समाजवादी) नामको   नयाँ दल दर्ता गराएका थिए ।  नेता नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम आयोगमा पेस गरेका थिए ।

४१ जना सदस्यको खनाखत भए नेकपा (एकीकृत  समाजवादी) दर्ता हुनेछ। त्यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ  ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएको हो । नेता नेपाल  नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा नेपाल दल दर्ताका लागि भदौ  ४ गते शुक्रबार आयोगमा निवेदन दर्ता भएको थियो  । आज बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र दुवै दलको सनाखत  गरेर यस सम्बन्धमा आयोगले    निर्णय लिने आयोगले जनाएको छ ।