संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइका लागि आज संवैधानिक इजलास गठन हुँदै


काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेका रिटमाथि आजदेखि संवैधानिक इजलासमा सुनुवाई हुँदै छ । संवैधानिक इजलासमा रहेका दुई न्यायाधीशको निष्पक्षतामाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि जेठ १८ मा आइतबार सुनुवाई हुनेगरी इजलास स्थगित गरिएको थियो ।

यसअघि गठन गरिएको संवैधानिक इजलासका दुई न्यायाधीशमाथि कानुन व्यवसायीले प्रश्न उठाएपछि सुनुवाइ प्रभावित हुँदै आएको थियो । इजलासका लागि आज प्रधानन्यायाधीशले वरिष्ठताका आधारमा नयाँ न्यायाधीश चयन गर्नेछन् ।

सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य सहितका प्रतिनिधिसँग जबराले वरिष्ठताको आधारमा इजलास गठन गर्ने आश्वासन दिएका थिए । शुक्रवार बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकमा पनि वरिष्ठताको आधारमा इजलास गठन गर्न बाधा नपर्ने निष्कर्ष निकालेर संवैधानिक इजलास कार्यसंचालन नियमावली शंसोधनका लागी सिफारिस नगर्ने निर्णय गरिएको थियो ।