न्यायाधीशलाई नै कोरोना संक्रमण भएपछि धनुषास्थित उच्च र जिल्ला अदालत बन्द


जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित, उच्च अदालत र जिल्ला अदालत धनुषाको निश्चित कामकारबाही बाहेक अन्य सबै सेवाहरु बन्द भएको छ । उच्च अदालत जनकपुरका एक न्यायाधीशलाई कोरोना संक्रमण भएपछि शुक्रबारदेखि साउन ३१ गतेसम्मको लागि निश्चित कामकारबाही बाहेक अन्य सबै सेवा बन्द भएको हो ।

बिहीबार बसेको उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, उच्च तथा जिल्ला सरकारी वकिलको कार्यालय एवं बार एसोशिएसनको छलफलबाट यस्तो निर्णय लिएको हो । लकडाउमा प्रदान गर्दै आएको निश्चित कामकारबाही बाहेक अन्य कामकारबाही शुक्रबारदेखि साउन मसान्तसम्मको लागि स्थगन गर्ने निष्कर्शसहित सर्वोच्च अदालतलाई अनुरोध गर्ने निर्णय गरको जनाइएको छ ।

साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जना कर्मचारीहरुको स्वाब प्रादेशिक प्रयोगशाला जनकपुरमा परीक्षण गर्दा एकजना न्यायाधीशको रिपोर्ट पोजेटिभ आएको थियो ।

प्रादेशिक अस्पताल जनकपुरका विज्ञ डाक्टरका अनुसार कोरोना संक्रमण तिब्रगतिमा फैलिरहेकोले सुरक्षित र सावधान रहनु पर्ने रायसुझावलाई मनन गरी छलफलबाट उच्च अदालत जनकपुर र जिल्ला अदालत धनुषाका निश्चित कामकारबाही बाहेक सबै साउन मसान्तसम्मको लागि स्थगन गर्ने निर्णय गरेको हो ।