मनिषाप्रति भारतीय मिडियाले गरेको अपमानजनक व्यवहारप्रति राष्ट्रिय जनमोर्चाद्वारा क्षोभ प्रकट
नेपालकी अभिनेत्री मनिषा कोइरालाप्रति भारतीय मिडियाले गरेको अपमानजनक व्यवहारप्रति राष्ट्रिय जनमोर्चाले दुःख र क्षोभ प्रकट गर्दछ ।
नेपाल सरकारले लिपुलेक, कालापानी, लिम्पियाधुरा समेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गरेपछि परराष्ट्रमन्त्रीको ट्विटलाई रिट्विट गरेर उनले त्यो नक्साको प्रकाशनप्रति आफ्नो समर्थन जनाएकी थिइन् । त्यसपछि भारतीय मिडियाले ‘भारतको खाएर चीनको गीत गाएको’ भन्ने आक्षेप लगाएर उनीमाथि आक्रमण गरेका छन् । त्यसको जवाफमा उनले पुनः यो ट्वीट गरेकी थिइन्, ‘हामीले श्रम बेच्न सक्दछौँ, तर स्वाभिमान बेच्न सक्दैनौँ ।’
प्रथमतः मनिषाले देखाएको देशभक्तिको भावनालाई हामीले प्रशंसा गर्दछौँ । भारतीय मिडियाले आक्रमण गरिसकेपछि उनले स्वाभिमान बेच्न नसक्ने कुरा स्पष्ट गरेकी थिइन् ।
उनले भारतीय सिनेमामा काम गरेर वास्तवमा आफ्नो श्रम मात्र बेचेकी थिइन् । तर त्यसको अर्थ स्वाभिमान बेच्नु हुँदैनथ्यो भन्ने विचारलाई दृढतापूर्वक राखेर उनले उच्च नैतिक मनोबल र स्वाभिमानको प्रदर्शन गरेकी छन् । त्यसका लागि हामीले उनलाई धन्यवाद दिन्छौँ ।
उनले चीनको गीत गाएकोे भन्ने आक्षेप अत्यन्त आपत्तिजनक र अराजनीतिक प्रकारको छ । वास्तवमा नेपाल सरकारले कालापानी समेतलाई नेपालमा देखाएर नक्सा प्रकाशित गरेपछि भारतीय मिडियाले नेपाल सरकारमाथि चीनले उकासेर नै त्यो नक्सा प्रकाशित गर्ने कार्य गरेको भनेर आक्षेप लगाएका छन् । वास्तवमा कालापानीमा भारतीय कब्जा तथा त्यो भूमिलाई मुक्त गराउनको लागि नेपाली जनताले गत करिब साढे पाँच दशकभन्दा बढी समयदेखि आवाज उठाउँदै वा आन्दोलन गर्दै आएका छन् । त्यो बेलादेखि नेपालमा कैयौँ सरकारहरु बन्दै आएका थिए । तर उनीहरुले त्यो विषयमा कुनै कदम उठाउन सकेका थिएनन् ।
ओली सरकारले नेपालको भारतले कब्जा गरेको तथा भारतीय नक्सामा सामेल गरेको भूमिलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने साहसिलो कदम उठाएको छ । हाम्रो पार्टीले त्यसलाई स्वागत गर्छ र त्यसका लागि ओली सरकारलाई धन्यवाद दिन्छ । तर भारतले कब्जा जमाएको कालापानी समेतको भूभागलाई मुक्त गर्ने दिशामा यो खाली प्रारम्भिक कारबाही मात्र हो र त्यो दिशामा हामीले अझै लामो संघर्ष गर्नुपर्ने छ ।
भारतीय साम्राज्यवादले करिब ६ महिना पहिले नेपालको लिम्पियाधुरासम्मको भूमिलाई भारतमा देखाएर नक्सा प्रकाशित गरेपछि र हालै लिपुलेक भएर मानसरोबर जाने बाटोको उद्घाटन गरेपछि नै भारतीय हस्तक्षेपका विरुद्ध तीव्र र व्यापक असन्तोष देखापरेको थियो । भारतका त्यसप्रकारका कारबाहीहरुका विरुद्ध नेपालमा देशव्यापी रुपमा आन्दोलनहरु पनि भएका थिए ।
ओली सरकारले अहिले नक्सा प्रकाशित गर्ने जुन काम गरेको छ, त्यो साढे पाँच दशकभन्दा बढी समयदेखि नेपाली जनताले गर्दै आएको आन्दोलन र भारतीय साम्राज्यवादद्वारा कालापानीमा गरिएको कब्जा तथा नक्साको प्रकाशन विरुद्ध देशमा विद्यमान व्यापक जनमतको परिणाम हो । त्यसप्रकारको ऐतिहासिक पृष्ठभूमिलाई उपेक्षा गरेर चीनको उक्साहटमा लागेर नै नेपाल सरकारले नक्सा प्रकाशित गरेको वा मनिषाले चीनको गीत गाएको भन्ने आरोप कति निराधार र झुटा छ ? स्वयम् प्रष्ट छ ।
कुरा यो मात्र होइन कि, नेपालको कुनै नागरिकलाई संसारको जुनसुकै देशमा वा भारतमा भएपनि उसलाई आफ्नो देशभक्तिको भावना प्रकट गर्ने अधिकार हुन्छ र त्यो अवस्थामा मनिषाले देखाएको त्यसप्रकारको देशभक्तिको भावनामाथि आक्रमण गर्नु स्वयं भारतको संविधानमा स्वीकृत वैचारिक स्वतन्त्रताका विरुद्धको कुरा हो । कुरा त्यो मात्र होइन, त्यसको अर्को महत्वपूर्ण पक्ष पनि छ । कालापानी समेतको भूभागमा भारतीय कब्जा वा दावी अन्यायपूर्ण छ र त्यसको विरोध गर्नु स्वयं न्यायप्रेमी भारतीय जनताको पनि दायित्व हुन्छ । त्यसको विपरीत भारतीय सरकारको नेपालमाथिको अन्यायपूर्ण कारबाहीको समर्थन गर्नु भारतीय जनताको देशभक्ति होइन, अन्धराष्ट्रवादी सोचाइ नै हुनेछ । हामीले भारतका सबै न्यायप्रेमी जनतास“ग नेपालको न्यायपूर्ण पक्षलाई समर्थन गर्नको लागि पनि अपील गर्दछाँै ।
मिति : २०७७ जेष्ठ ८ गते
दुर्गा पौडेल
उपाध्यक्ष, प्रवक्ता तथा सांसद
राष्ट्रिय जनमोर्चा, केन्द्रीय कार्यालय