जेठ २० गतेसम्म लकडाउन लम्ब्याउने सरकारको निर्णय
काठमाडौं । सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन जेठ २० गते सम्म लम्ब्याएको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले लकडाउनलाई १५ दिन थप गरी जेठ २० गतेसम्म पुर्याउने निर्णय गरेको हो । अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले थप १५ दिन लकडाउन लम्ब्याइएको जानकारी दिए ।
उनले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथाम नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले सिफारिस गरे अनुसार लकडाउन लम्ब्याउने निर्णय भएको बताए । लकडाउन र सामान्य आर्थिक जीवनलाई सँगसँगै लैजाने विषयमा समेत छलफल भइरहेको उनले बताए । लकडाउनकै समयमा पनि कृषि उत्पादन र उद्योगसँग सम्बन्धित क्रियाकलापहरु र ढुवानीको क्रियाकलाप यथावत रहने बताए ।
निर्माणसँग सम्बन्धित विषय, ठूला आयोजना र साना आयोजना तथा सहरी क्षेत्रमा निर्माण भइराख्ने क्रियाकलापहरु यथावत नै रहने मन्त्री खतिवडाले बताए । यस्तै आफ्नै गाउँमा क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई सुरक्षाका उपायहरु अपनाएर काममा जोड्न सकिने विषयमा समेत छलफल भइरहको उनले बताए । सरकारले गत चैत ११ गते यता लकडाउन गर्दै आएको छ । सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रोपटक एक साता थप गरी चैत २५ गते सम्म पुर्याएको थियो ।
त्यसलाई निरन्तरता दिदै तेस्रोपटक समय थप गरी वैशाख ३ गते सम्म लकडाउन लम्ब्याएको थियो । त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गते सम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गते सम्म र पछिल्लो पटक जेठ ५ गते सम्मका लागि लकडाउनको अवधि थप गरेको थियो ।
पछिल्लो पटक लकडाउनको अवधि थप गर्दा काठमाडौं उपत्यका भित्र टाइमकार्ड लागू गरी लकडाउनलाई केही खुकुलो बनाएको थियो । तर कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि सरकारले फेरी लकडाउनलाई कडाई गरेको थियो । नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या २ सय ९५ पुगेको छ भने २ जनाको कोरोनाकै कारण मृत्यु भएको छ ।