अब दैनिक १५ हजारको पीसीआर परीक्षण हुने
काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम नघटेको भन्दै सावधानीपूर्वक आवश्यक काम गर्न मात्र लकडाउन खुल्ला गरेको स्पष्ट पारेको छ । बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको जोखिम नघटेको स्पष्ट गर्दै आफ्नो सुरक्षा आफैं गर्न सुझाव दिए । उनले लकडाउन खोलिएको अर्थ पहिलेको कोरोना नभएको अवस्थामा फर्किएको भनेर नबुझ्न आग्रह पनि गरे ।
सबै कुरालाई ध्यान दिएर सरकारले लकडाउन हटाएको भन्दै गौतमले कोरोना नियन्त्रणमा जनताको महत्वपूर्ण भूमिका हुने बताए । त्यस्तै उनले अहिलेको अवस्थामा सबै नेपालीको कोरोना परीक्षण गर्न सम्भव नभएको बताए । एउटा कोरोना जाँचको पाँचहजार पाँच सय रुपैयाँ खर्च हुने भन्दै प्रवक्ता गौतमले तीनलाख भन्दा बढीको कोरोना परीक्षण गर्दा अर्बौं खर्च भएको बताए ।
त्यस्तै प्रवक्ता गौतमले ७ वटा मेसिन खरिद गरिएको भन्दै अब कोरोना परीक्षण दर दैनिक १५ हजार भन्दा माथि हुने जानकारी दिए । सात वटा मेसिन प्रत्येक प्रदेशमा एक–एक वटा पठाइने मन्त्रालयले जनाएको छ । जसमा धनगढी, सुर्खेत, नेपालगञ्ज, पोखरा, धुलिखेल, वीरगन्ज र विराटनगरलाई वितरण गरिने छ । मन्त्रालयले तत्काल कोरोना परीक्षण किटको अभाव नहुने पनि जानकारी दिएको छ ।