उपेक्षा गरिएको सत्य : गाउँले बुढ्यौली 



डा. गोविन्दशरण उपाध्याय ।

पश्चिमा संस्कृतिसंग जोडिएको आधुनिकताको नेपालमा प्रवेशसंगै नेपाली परिवारका धेरै परम्परागत प्रणालीमा सीधा प्रहार भएको छ | सरकार, शिक्षा र पश्चिमा मिडियाहरूले “व्यक्तिगत तथा स्वतन्त्र एकल परिवार”लाई प्रमोशन गरेकोले अनेकौं समस्या निम्तिएका छन् |

“अमुक पतिपत्नी र तिनका बालबालिका”लाई परिवार मान्ने र मातापिताको उत्तरदायित्व केवल “आफ्नो परिवार”भित्र सीमित पार्ने पश्चिमा मोडेलको विस्तारले गर्दा नेपाली समाजमा सबैभन्दा बढी “बृद्धवृद्धा”हरू सबैभन्दा बढी समस्या ग्रस्त भएका छन् |

धेरैलाई “शहरिया” बृद्धवृद्धाहरू बढी पीडित होलान् भन्ने अनुमान गर्छन् तर अव यो असत्यलाई चिर्ने वेला आएको छ | सम्पन्न मुलुकमा कामदारका रूपमा सुविधा सम्पन्न देशमा जाने जाने र तेहाबाट एकल परिवारको सिको सिकेका युवावर्गले बूढा भएका आफ्ना मातापितालाई गाउँमा छोडेर “श्रीमती र छोराछोरीसंग” शहर वसाई सार्ने प्रक्रिया बढेको छ |

अहिले शहरी संघसंस्थाले बृद्धवृद्धाको समस्या केवल शहरी र सम्पन्न वर्गमा रहेको आधारमा “बृद्धवृद्धा”को व्यबस्थापन वारे चर्चापरिचर्चा गरिरहेका छन् तर दूरदराज गाउँका बृद्धवृद्धाहरूले भोगिरहेका समस्याहरू वारे खासै चासो दिएको देखिन्न |

व्यक्तिगत सुखको तीब्रतर लोभमा परेका गाउँले युवाहरूले आफ्नो परिवार लिएर शहरिया बन्ने गति निकै भयावह छ | गाउँमा केवल बृद्धवृद्धाहरू छन् र तिनले खेतीपातीको समेत जिम्मेदारी पुरा गर्नुपर्ने दायित्व वहन गरिरहेका छन् | एसले गर्दा गाउँले बृद्धवृद्धाहरूमा शारीरिक तथा मानसिक समस्याहरू बढ्दो छ |

केही दिन अगाडी शहरमा वस्ने छोरालाई सघाउन आएकी ८१ वर्षीय आमालाई छोरा (लकडाउनको वेलामै) छ पटक कुटेर घरबाट निकाली दिए | गाउँमा प्रसस्त जग्गाजमिन भएर पनि उनीले माग्दै जीवन विताउदै थिइन् | पछि एउटा सामाजिक संस्थाले ऊद्धार गर्यो |

अर्को उदाहरण ” अमुक गाउँको एउटो परिवारले दुखजिलो गरेर छोराछोरी पढायो | तर ती सबै शहरमा भासिए | शरीर स्वाथ्य रहँदासम्म काम गरे, शरीर थलियो तर छोराछोरी फर्केनन् | अन्तत: ९१ वर्षीय बृद्धाको सुसार नै नपाई मृत्यु भयो | मृत्यु भएको तीन दिनपछि क्रियाकर्म गर्न छोराछोरी आए | छोराछोरीमा कुनै पछुतोको भाव देखिएन |

अहिलेका धेरैजसो बृद्धवृद्धाहरू सामूहिक परिवारमा हुर्केका हुन् र आफ्ना बालबालिकालाई पनि तेस्तै परिवेशमा हुर्काएका हुन् | सामूहिक परिवारमा रमाएकाहरू एकल परिवार वा शहरिया (एउटा घरभित्र वन्द भएर) वस्न सक्दैनन् र कोठामा मन रम्दैन | गाउँमा एक्लो हुन्छन् | घरले “खाला जस्तो गर्छ, राती निंद पर्दैन, छोराछोरीको सम्झना आउँछ, नातिनातिनीको मुख हेर्न मन लाग्छ तर नातिनातिनाले हाम्रो वास्ता गर्दैनन् – पर्वतको पैयुका ७२ वर्षीय बृद्धले आँसु बगाउँदै मसंग भनेका थिए |

शहरमा जन्मेका हुर्केकाहरुका लागि गाउँ रमाइलो “ठाउँ” हुनसक्छ तर गाउँको परिवेशमा हुर्केकाहरूले गाउँका व्याबहारिक समस्याहरूसंग पौठेजोरी खेल्नपर्छ | घरमा भित्रिने चामलका हरेक दानामा कठोर शारीरिक श्रम लुकेको हुन्छ भने दूधघीउको हरेक वूँदमा तेस्तै शारीरिक श्रम लुकेको हुन्छ | शरीरमा बल हुँदासम्म हरेक काम गर्न सकिन्छ तर ताकत नहुँदा साथ भोकै मर्ने अवस्था उपस्थित हुन्छ | तेसैले गाउँले बृद्धवृद्धाका सामु समस्याहरूका पहाड हुन्छन् |

हातमा पैसो हुँदैन र पैसो हुँदा पनि किन्ने ठाउँ हुँदैन | अझै स्वाथ्यसमस्या आयो भने त मर्नु मात्र विकल्प रहन्छ | एसको तुलनामा शहरिया र हुँदाखाँदा बृद्धवृद्धाहरू अलि सुरक्षित ठहरिन्छन् | शहरिया बृद्धवृद्धाहरूसंग टेलिभिजन, फोन, कितावजस्ता घरभित्रका मनोरंजन हुन्छन् र भिडियो कालका माध्यमबाट क्षणिक रूपमा भए पनि एक्लोपन मेटाउने सुविधा छ तर गाउँमा यी सुविधा हुँदैनन् र भए पनि बृद्धवृद्धाले प्रयोग गर्न जान्दैनन् | अन्तत: एकलपनको कठोर मानसिक तथा शारीरिक समस्यासंग जुध्नुपर्छ | उनीहरूसंग जिउँदो हुँदासम्म शारीरिक श्रमको विकल्प हुँदैन | औषधि-उपचार र विश्राम भन्ने कुरा त निकै विलासी ठहरिन्छ |

सरकार होस् वा सामाजिक संस्थाहरू धेरैजसो शहरिया बृद्धवृद्धको समस्याहरू न्यूनीकरणतिर केन्द्रीत छन् | खासगरी शहरियाहरू (हुनेखानेले) सुविधासम्पन्न वृद्धाश्रम वारे वहस गर्न थालेका छन् | दुर्भाग्यवस, नेपाली जनताको अभिभावक मानिने सरकार पनि पश्चिमाशैलीला “ओल्ड-हाउस”को वहसमा सामेल भएको छ | सामूहिक परिवारमा अव्यस्त र आफ्ना छोराछोरी आफन्तको न्यानो छहारीमा “मर्न” रहर गर्ने अभिभावकहरूलाई जवर्जस्ती “ओल्ड-हाउस” नामको जेलखाना कोच्ने षड्यन्त्र हुँदैछ | वास्तविकता के हो भने – गाउँका दोस्रो पुस्ता पनि एस्ता “ओल्ड-हाउस”मा आफ्ना अभिभावकहरूलाई पठाउन तयार छैन |

नेपाली संस्कृति र परिवारको जग सामूहिक-पारिवारिक प्रणालीमा खडा भएको छ | पश्चिमाहरूको नक्कल गर्दै ओल्डएज हाउसको पक्षमा वहस गर्ने बृद्धवृद्धाहरू, आफ्ना बूढा अभिभावकलाई ओल्डएज हाउसमा पठाएर पैसा तिर्न आतुर सन्तानहरू र ओल्डएज हाउसको पक्षमा वहस गर्ने सरकारी पक्षकारहरू सबै नेपाली सामाजिक तथा सांस्कृतिक मूल्यका शत्रु हुन् | विदेशीशैलीको नक्कल गरेर आफ्नो दायित्वबाट उन्मुक्ति चाहने केही “प्रगतिशील”हरूको विचारलाई नेपाली समाजले प्रतिनिधित्व गर्दैन |

शहरिया होस् वा गाउँले हरेक बृद्धवृद्धाहरूलाई आफ्नै परिवारको काखमा मर्ने प्राकृतिक अधिकार छ र तेस्तो अधिकारको सुरक्षा गर्ने काम सरकार तथा स्थानीय सरकारहरूको हो | तेसमा पनि गाउँले परिवेशमा आफ्नो जीवनको अन्तिम अवस्थामा उभिएका अभिभावकहरूले आफ्नो परिवारको काखमा मर्ने व्यबस्था सरकारले नै गर्नुपर्छ | आर्थिकस्तर नराम्रो भएका परिवारलाई आफ्ना अभिभावकहरूको हेरविचार गर्न सरकारले वरू घरमै आर्थिक, स्वस्थ्यागत सहयोगहरू गर्नुपर्छ |

वैदेशिक रोजगार र आधुनिक शिक्षाका कारण टुक्रिदै गरेको परिवारलाई प्रत्यक्ष रूपमा सरकारले जोगाउन सक्दैन तर सन्तानहरूलाई आफ्ना बृद्धभएका आमावुवाहरूको हेरविचार गर्न मदत गर्न सक्छ | खासगरी गाउँले बृद्धवृद्धाहरूको हकमा उनीहरूको बुढ्यौलीलाई सहज र सरल बनाउँन तिनका युवापुस्तालाई स्थानीयतहमै खेतीपाती वा अन्य आयआर्जनको कामका लागि आर्थिक सहयोग गर्नुपर्छ | गाउँ कै चौपारी, मन्दिर, पाटी, वा हेल्थ-पोष्टमा बृद्धवृद्धाहरूका लागि मनोरंजनको व्यबस्था गर्न सकिन्छ | मन्दिरमा सत्संग गर्ने/गराउने, हेल्थपोस्टमा हेल्थ-सम्वन्धि भिडीयो र मनोसामाजिक सहयोगी वार्ता वा परामर्श दिने र महिनाको एक पटक भए पनि परिवारमै पुगेर खोजखवर लिने प्रणाली विकास गर्न सकिन्छ |

परम्परागत गाउँले परिवारमा हुर्केका सन्तानहरूको मन पश्चिमाको झैं स्वार्थी भैसकेको छ भन्ने कुरामा मलाई पटक्कै विश्वास लाग्दैन | वदलिँदो परिवेशमा सन्तानहरूका लागि सजिलो छैन तथापि गाउँमै शहरमा पाइने सुविधाहरूको केवल २०% सुविधा प्राप्त हुने ग्यारेन्टी हुन्छ भने नेपाली युवायुवततिहरू आफ्ना अभिभावकहरूको उत्तरदायित्व लिएर वस्न सहज रूपमा तयार हुनेछन् | एस्तो वातावरण तयार गर्न सर्वप्रथम पश्चिमा मोडेलको “ओल्डएज होम” सबै वहसहरूमा रोक लगाएर पारिवारिक घरपरिवारको परम्परागत प्रणालीलाई प्रोमोट गर्नुपर्छ | धेरैलाई मेरो यो सुझाव परम्परावादी लाग्ला तर नेपाली सामाजिक र सांस्कृतिक मूल्यभित्र “सामूहिक परिवार” मोडेल नै फाप्छ | न्यूक्लियर फेमिलिको पाश्चात्य रोगलाई समयमैं नियन्त्रण गरेको राम्रो |

रोग र बुढ्यौली मान्छेले भोग्नै पर्ने तर कत्ति पनि नरुचाइने अवस्था हुन् | बुढ्यौलीलाई उपयोग गर्न सके उनीहरूका अमूल्य अनुभवहरू सहजरूपमा पुस्तान्तरण हुन्छन् | बुझ्न नसके “खुर्पाको बीड़” ठहरिन्छ | कोरोनाको महासंकटले परिवारहरूलाई एकठाउँमा आउँन वा एकआपसमा संवाद गर्न बाध्य पारेको छ | एकान्तमा वस्दा एकैछिन बूढा भएका आफ्ना अभिभावकको वारेमा सोचौं, उनीहरूले तपाईंलाई हुर्काउन र मान्छे मान्छे बनाउँन गरेको त्याग र सङ्घर्षको मनन गरौँ | सङ्कल्प गरौँ, आफ्ना बूढा अभिभावकहरूको देखरेख घरमै गरिने छ र आफ्नो बुढ्यौली पनि आफ्नै छोराछोरीको काखमा वित्ने छ | खासगरी गाउँका बृद्धवृद्धाहरूप्रति हाम्रो कर्तव्य अझैं गहन र व्याबहारिक हुन आवश्यक छ | कुनै पनि गाउँले बृद्धवृद्धाहरूले आफ्ना सन्तानहरूको माया-ममताबाट टाढारहन नपरोस् भन्ने सङ्कल्प गरौँ |

अभिवादनशीलस्य नित्यं वृद्धोपसेविनः। चत्वारि तस्य वर्धन्ते आयुर्विद्या यशो बलम् || अर्थात् “जसले दैनिक रूपमा बृद्धवृद्धाहरूको सेवा गर्छ तेसले आयु, यश:, विद्या तथा वल प्राप्त गर्छ” भन्ने नीति कथनलाई सबैले आफ्नो घरमा देख्ने गरी राखौं, आफुले बुझौं र आफ्ना सन्तानहरूलाई पनि बुझाएर मनन गर्न आग्रह गरौँ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेदमा राष्ट्रगान

केशवप्रसाद भट्टराई । (यजुर्वेद २२. २२) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य:

‘भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?’

नारायण गाउँले । -करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो –

‘विदेशीको झोला बोकेर उनीहरूका विचार लाद्नेहरू देश र संस्कृतिका सच्चा मित्र हुनै सक्दैनन्’

डा. गोविन्दशरण उपाध्याय । म मुस्लिम, इसाई, यहुदी वा अन्य कुनैका विरोधी होइनौं

‘दुर्गालाई’ अपमान गर्ने उखान हटाउने कि ?

डा. अरुणा उप्रेती । लामा–लामा वाक्यहरूको साटो एउटै उखान टुक्काले मनको भाव गजबसँग