प्रधानमन्त्रीको दम्भका कारण अहिलेको अवस्था



नारायण गाउँले ।

यो प्रचण्ड गर्मीमा सयौं किलोमिटर हिँड्दा हिँड्दै गलेर हाम्रा मजदुरहरू बोर्डरमैं ढल्न थाले । बोर्डर पार गर्न सफल हुनेहरू क्वारेन्टीन भन्ने ठाउँसम्म आइपुग्दा नपुग्दै अस्ताउन थाले । आज पनि भारतबाट डडेल्धुराको क्वारेन्टीनसम्म आइपुगेकी ३० वर्षीय महिला घरको आँगन टेक्न नपाई बिदा भइन् भन्ने खबर आयो ।

कति कष्ट, कति जोखिम र कस्तो कठोर परिस्थितिमा होलान् भारतमा श्रम गर्न बाध्य हाम्रा लाखौं मजदुरहरू !
थाप्लोमा टिनको बाकस र काखमा बच्चा बोकेर बोर्डरको लाइनमा उभिएका महिलाको अनुहारमा कति पीड़ा होला ? न तिनलाई माटोले खुलेर स्वागत गरेको छ, न कसैले दुई शब्द सम्मानपूर्वक सोध्छ । न काखको बच्चामाथि करुणा राखेर कसैले एक मुठी दूध दिन्छ । हामी तिनलाई व्यक्ति होइन, एउटा जीवनको कारुणिक कथा होइन, हूल देख्छौं । हूलको एउटा हिस्सा देख्छौं । हूललाई कसले सम्मान गरोस् ?

आत्मसम्मान र माटोको माया त तिनले पाएनन्, आधिकारिक सूचना पनि तिनले पाउँदैनन् । कहिले कसरी र कहाँबाट सुरक्षित नेपाल प्रवेश गर्ने भन्ने सूचनासम्म पाएको भए तिनले हजारौंको भीड़को हिस्सा बन्नु पर्दैनथ्यो । हामी पनि बोर्डरबाट पस्ने अव्यवस्थित हूल देखेरे तर्सिनु पर्दैनथ्यो । धेरै मजदुरलाई बोर्डरको लाइनमा बस्दा बस्दै सङ्क्रमण भएको होला ।

हाम्रो प्रमले त तिनलाई बोर्डरमा होटेल नै बुक गरेको तर ती त्यसमा नबसेर बोर्डरमा उपद्रव मच्चाउन आएको जस्तो बयान दिनुभो । होटेल नै बुक भएको सुनेपछि अरू पनि बोर्डरसम्म आउने नै भए । तर हजारौं नागरिकलाई कुन होटल कतिमा कसलाई बुक गरिएको थियो भन्ने कसैलाई थाहा भएन । अपमान, भोक र तिरस्कार सहेर ती बोर्डरमा धेरै दिन खुला आकाशमुनि बस्न बाध्य भए । अहिले पनि कसैसँग सही सूचना छैन । छ त अन्योल, अव्यवस्था र सन्त्रासमात्रै । पस्नेहरू पसेकै छन्, रोकिनेहरू रोकिएकै छन् ।

५०-६० हजार ऋण खोजेर विदेश जान सक्नेहरू प्रायः भारतमा मजदुरी गर्न जाँदैनन् । त्यही ५० हजार पनि कसैले ऋण नपत्याउनेहरू त्यहाँ पुग्छन् । दिनहुँ बहादुर, डोट्याल, दरबानजस्ता अपमानका शब्दहरू घुटुघुटु पिउँछन् । न पेन्सन छ, न सामाजिक सुरक्षा छ, न न्यूनतम तलबको ग्यारेन्टी छ, न काम सधैँ पाइन्छ भन्ने छ, न बिरामी हुँदा उपचारको सुनिश्चितता छ । एकपल्ट बिरामी भए पाँच वर्षको कमाइ स्वाहा हुन सक्छ ।

कम्तिमा सङ्कटको बेला देश र सरकार छ भन्ने विश्वास सबैलाई हुन्छ । अहिले त तिनको त्यो विश्वास पनि साह्रै पातलो होला । काम गर्ने ठाउँमा अभाव, अपमान र भोक थियो । बाटोभरि भोक र थकान थियो । बोर्डरमा तिरस्कार र त्रास थियो । केही गरी छिर्न सफल हुनेहरू पनि तिनीहरू आफैमा कोरोनाभाइरस हुन् कि झैँ पत्रिकामा पोतिएका छन् । गाउँमा झन् ठूलो अस्वीकार र तिरस्कार कुरेर बसेको छ । गौंडाहरू थुनिएका छन् । शरीर रोग र भोकले थकित छ, गलित छ । केही गरी घरको आँगन टेक्न सकियो भने पनि भोलि के खाने भन्ने अर्को चिन्ता त बाँकी नै छ ।

धन्न तिनको घरमा टेलिभिजन छैन र पत्रिका त्यहाँसम्म पुग्दैन । नत्र विश्व नै चकित पर्ने समृद्धिका खबर सुनेर ती पनि चकित पर्दा हुन् ।

हेर्नुस् प्रधानमन्त्रीका  अभिव्यक्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चिन्तन, धारणा तथा स्मृति

डा. गोविन्दशरण उपाध्याय । धीलाई मनुस्मृतिले धर्मको सातौं लक्षणमा, याग्यबल्क्यले पाँचौं र अन्य

आफू मात्रै होइन,काङ्ग्रेसलाई सखाप पर्ने भयो एमालेले !

केशवप्रसाद भट्टराई । १. एमाले भित्रको कायरतापूर्ण आपसी किचकिचले गएको सरकारको आधा कार्यकाल

राजनीतिका नाममा ढाँट्ने, खेल्ने र लुट्नेको नकाव उतारेर शिक्षित युवालाई नेतृत्वमा पुर्याउनुपर्छ

डा. युवराज संग्रौला । सन् १९०९ मा सांघाइमा युथ भन्ने पत्रीका प्रकाशित गर्ने

ओलीजी, देउवाजी र प्रचण्डजीहरूको यो सन्दर्भ

केशवप्रसाद भट्टराई । १. ओलीजी जस्ता कहाँ सीधा जानु पर्दछ र कहाँ बाँकटे