‘बालुवाटारले बर्दिया भन्नेबित्तिकै अग्लो बामदेवलाई चिन्छ र तरङ्ग ल्याइरहन्छ, जोधी जस्ता होचा प्राणीलाई त्यसले पनि के चिनोस् ?’



नारायण गाउँले ।

तपाईंसँग सानै भए पनि एउटा चल्ने मुटु छ भने जोधी प्रसाद गोडियाको दुःखान्त कथाले त्यसलाई पक्कै विचलित बनायो होला ।

बर्दियाको गोडियनपुरका अतिविपन्न ५५ वर्षीय जोधीराम गोडिया मजदुरी गर्न दुई छोरा सहित अछाम पुगेका रहेछन् ।

महिनौं लामो लकडाउनमा काम र मामविहीन भए । यता गाउँमा परिवारलाई छाक जुटाउन मुश्किल पर्दै थियो । भोकै मर्ने देखिएपछि उनी छोरा र अन्य मजदुरसँगै जेठ नौ गते लकडाउनको अवज्ञा गर्दै घरका लागि निक्लिए ।

मधेशी समुदायका ती मजदुरहरूलाई पहाड़मा बस्तीको बीचमा कसैले देखेर ‘स्वागत’ या सहयोग गर्ने अवस्था थिएन । तिनले चार दिन भोकभोकै जङ्गल पार गरे । कम्तिमा खोलानाला थिए र तिनको प्यास मेटियो ।

तर, दुर्दशा सुरु भयो, आफ्नै जिल्ला आइपुगेपछि । रित्तो गोजी, धुलोमैलो शरीर, गलेको ज्यान र थोत्रा कपड़ामा रहेका तिनलाई यो प्रचण्ड गर्मीमा कसैले खाना त दिएनन् नै, पिउने पानी पनि दिएनन् । झट्ट हेर्दा सरकार र हामी आफैलाई पनि खानै नपाएर त को मर्छ र भन्ने लाग्छ, तर हाम्रो धरातलीय यथार्थ भने भिन्नै छ ।

देशभित्रैबाट आएकालाई घरमैं क्वारेन्टीन गर्ने विश्वव्यापी नियम पालना भएको भए जोधी प्रसादले घरमैं आफ्नो ज्यान बिसाउने थिए र कम्तिमा तातो पानी पिउन पाउने थिए । तर उनीलाई अन्यसँगै जेठ १३ गते गुलरियाको प्रहरी चौकी लगिएछ । उनले त्यहाँ ठेकेदारले ठगेको ज्याला मागेनन्, बरु एक गिलास पानी मागे । तर कसैले उनलाई पानी दिएन । बेलुका सबैलाई बबई क्याम्पसमा अन्य भारतबाट आएकाहरूसँगै क्वारेन्टीनमा लगियो । त्यहाँ पनि धेरै दिनदेखि भोका उनलाई कसैले खाने कुरा अफर गरेन ।

त्यो रात उनी भोक र तिर्खासँग छटपटिँदै सुते । पहिलो दिन भएकाले आज नभए पनि भोलि पेटभर खाना र पिउने पानी पाइने उनले कल्पना गरेका हुँदा हुन् ।

तर, दुर्भाग्य त्यो रात सकिँदा उनको शरीरमा बाँकी रहेको सास पनि सकियो । उनी सधैँका लागि अस्ताए । समाचारमा उनी छापिए, ‘क्वारेन्टीनमा एक वृद्धको मृत्यु’ । त्यसपछि त्यो समाचार पनि अस्तायो । ५५ वर्षको कुनै नेतालाई वृद्ध भनिएको सुनिएको छैन, भोकले ५५ वर्षका मजदुरको मृत्युचाहिँ सबैका लागि ‘वृद्धको मृत्यु’ भयो ।

जोधी प्रसादले त त्यो क्वारेन्टीनमा पानी, खाना या सिटामल पाएनन् तर त्यहाँ काम गर्ने कर्मचारीले भने फ्रन्टलाइनमा खटिएको हुनाले पक्कै तलबको शतप्रतिशत प्रोत्साहन भत्ता पाउनेछन् । केही दिनअघि रातभर उल्टी गरेर छटपटिएका एक युवकको पनि क्वारेन्टीनमा मृत्यु भयो । त्यहाँ पानी पिलाउने सहयोगी या कुनै स्वास्थ्यकर्मी र एम्बुलेन्स नभएकाले युवकको त्यहीँ मृत्यु भयो र दिनभर शव उठाउने मान्छे समेत भएनन् भन्ने पढ़ियो । प्रोत्साहन भत्ता त्यता पनि धेरैले बाँडेर लिए होलान् । देशविदेशमा इष्टमित्र र छरछिमेकी हुनेहरूले सरकार या विदेशबाट समेत सहयोग पाउँदा हुन् तर आजको मितिसम्म गोडियन गाउँमा कोही पुगेको रहेनछ ।

प्रश्न त छन् नि, देशभित्रैका व्यक्तिलाई झन बढ़ी जोखिम हुने गरी क्वारेन्टीनका नाममा किन भीड़मा लगियो होला ? महिनौंसम्म लकडाउन मात्रै गर्ने तर निम्न वर्गीय मजदुरको जीवनबारे कुनै चासो नलिने किन होला ? मान्छेले मान्छेलाई पानी पिलाउनसम्म डराउने अवस्था पक्कै सही सूचनाको अभावले गर्दा हुनुपर्छ । यो हटाउने कसले होला ? पोजिटिभ नै देखिएका व्यक्तिलाई त दुई-तीन मिटरको दूरी कायम गरेर आवश्यक भौतिक सहयोग गर्न सकिन्छ, बातचित गर्न सकिन्छ भने हरेक मान्छेलाई शङ्काकै भरमा छि:छि: दुर्दुर् किन होला ? क्वारेन्टीनमैं मृत्यु हुनु हाम्रो समग्र व्यवस्थाका लागि ग्लानिको विषय हो । तर कुनै नेता या प्रधानमन्त्रीलाई यस्तो विषयले नछुने र यिनको नाम तिनको मुखमा नआउने किन होला ?

खर-खडाइको एउटा झुप्रोभित्र निरन्तर आँसु बगाइरहेकी उनकी श्रीमतीको तस्बीर हेरेर मन कटक्क हुन्छ । सरकारमाथि सबैको विश्वास छ । उनलाई कसैले बोकेर सिंहदरबारसम्म पुऱ्याउने हो भने सरकारले उनलाई पक्कै खाना दिनेछ । तर, शरीरमा एक्सरो राम्रो लुगा नभएको र नेपाली भाषासम्म राम्ररी बोल्न नसक्ने उनलाई सिंहदरबारसम्म पुऱ्याउँछ कसले ? महेश बस्नेत या किसान श्रेष्ठलाई पनि फुर्सद होला नहोला ।
हो, हामीले विश्वलाई छक्क पार्ने गरी विकास गरेका छौं, दक्षिण एशियामा सबैभन्दा राम्रो कोरोना व्यवस्थापन गरेका छौं । हाम्रो राज्यमा भोकले कोही मर्नुपर्दैन, कसैले सडकमा रात बिताउनु पर्दैन । तर दुर्भाग्य, सिंहदरबारको यो सुनिरहुँ जस्तो विकास जोधी प्रसादले बुझ्दैनन्, न हाम्रो विकासले जोधी प्रसादलाई बुझ्छ । अक्षर नचिनेका जोधी प्रसादले हाम्रो समाजवाद बुझ्ने कुरो भएन, अमेरिकादेखि क्युवा र रसियादेखि भेनेजुएलाजस्ता ठूला मुद्दामा व्यस्त हाम्रो समाजवादले धुलोमा जन्मेर धुलोमैं हराउने जोधी प्रसादहरूलाई झन के बुझोस् । बालुवाटारले बर्दिया भन्नेबित्तिकै अग्लो बामदेवलाई चिन्छ र तरङ्ग ल्याइरहन्छ, जोधी जस्ता त्यही माटोका होचा प्राणीलाई त्यसले पनि के चिनोस् ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
वेदमा राष्ट्रगान

केशवप्रसाद भट्टराई । (यजुर्वेद २२. २२) आ ब्रह्मन् ब्राह्मणो ब्रह्मवर्चसी जायतामा राष्ट्रे राजन्य:

‘भन त सरकार, आफू अघाएपछि तिमीले हात उठाउन मिल्छ भने जनताले पनि हात उठाउन किन मिल्दैन ?’

नारायण गाउँले । -करोड़पति ओलीले उपचारका लागि राज्यबाट बारम्बार करोडौं रुपियाँ लिनुभो –

‘विदेशीको झोला बोकेर उनीहरूका विचार लाद्नेहरू देश र संस्कृतिका सच्चा मित्र हुनै सक्दैनन्’

डा. गोविन्दशरण उपाध्याय । म मुस्लिम, इसाई, यहुदी वा अन्य कुनैका विरोधी होइनौं

‘दुर्गालाई’ अपमान गर्ने उखान हटाउने कि ?

डा. अरुणा उप्रेती । लामा–लामा वाक्यहरूको साटो एउटै उखान टुक्काले मनको भाव गजबसँग