महिनावारी र मेरो अनुभव



शारदा पुरी । 

महिनावारीलाई नेपाली समाजमा धेरै नामले बुझ्ने गरिन्छ । जस्तै नछुने, पर सर्ने, छुई हुने जस्ता आदि नाम अहिलेपनि प्रयोगमा आईरहेका पाईन्छ । नामको भावबाट झल्किन्छ कि छुनु हुँदैन । महिनावारी भनेको नछुने र अछुतो कुरा हो त्यो बाहेक अरु बुझ्ने कोशिस गरिँदैन । पहिलेको तुलनामा धेरै काम भईरहेका छन् महिनावारीको मुद्धा बोकेर हिँड्ने धेरै अभियन्ताहरु हुनुहन्छ । उहाँहरुलाई एकदम सम्मान गर्न चाहन्छु । महिनावारी भएको बेला अँध्यारो कोठामा बस्नुपर्ने, पुरुषलाई हेर्न र छुन नहुने, जनावरलाई छोयो भने मर्छ, हरियो बोटविरुवा छुँदा सुक्छ भन्ने सोचबाट जनचेतनाको स्तर पनि अलिकति भएपनि माथि उठेको छ जस्तो लाग्छ ।

मेरो महिनावारीसँग जोडिएको अनुभवको बारेमा बताउनु पर्दा मेरो जन्मस्थान सल्यान जिल्ला हो । जतिबेला बुझ्ने भएँ त्यतिबेलादेखि मैले पनि महिनावारीलाई नछुने कुरा हो भनेर बुझेकी थिएँ । मेरी आमा महिनाको एकपटक बाहिर बस्ने, बाहिर खाने गर्नुहुन्थ्यो अनि ४ दिनपछि मात्र चोखो भएर चुलोमा जाने गर्नुहुन्थ्यो । मेरी आमाले गरे जसरी गाउँका सबै जना आमा, दिदी, भाउजुहरुले पनि महिनाको एकपटक पर बसेको देख्थें । न त मलाई कसैले महिनावारीको बारेमा सिकायो न त कसैले मलाई बुझायो । स्कुलमा शारीरिक शिक्षाको किशोरावस्थाका परिवर्तन भन्ने पाठ पढाउँदा सरले कहिले राम्रोसँग बुझाउन सकेनन् । त्यो बाहेक कुनै अवसर पाईनँ मैले महिनावारीलाई बुझ्ने । जब म पहिलो पटक महिनावारी भएँ त्यो बेलामा भावनात्मक पीडा, छट्पटी सम्झदा अहिले पनि गाह्रो हुन्छ । त्यति बेला महिनावारी भएको कुरा कसैलाई भन्न नसकेर भैंसीको दुध छोएकी थिएँ । मैले पहिलोपटक महिनावारी हुँदा भैंसीको दुध छोएको पछुतो धेरै वर्षसम्म रह्यो । मलाई भैंसी मर्छ कि भन्ने कुराको ठूलो डर थियो मेरो मनमा । तर कसैलाई भनिन झण्डै स्नातक पढिरहँदा पनि त्यो डर कायम थियो । तर हाम्रो भैंसी कहिले मरेन त्यसमा एकदम खुसी थिएँ म । अनि मेरी आमा महिनावारीको बेला छोएको पाप कटाउनको लागि ऋषि पञ्चमीको ब्रर्त बस्नु हुन्थ्यो अनि मलाई पनि रहर थियो ठूली भएर आफ्नो पाप कटाउन ब्रत बस्ने तर त्यो दिन कहिले आएन ।

जब मैले सामाजिक क्षेत्रमा काम गर्न थालें सामाजिक सवालहरु बुझ्दै गएँ । हाम्रो समाजमा महिलाहरुमाथि कस्ता खालका हिंसा हुन्छन् हिंसाका कारण के के हुन् । महिलाहरुको अवस्था कस्तो छ भन्ने कुरा बुझें । मेरो विषय पनि समाजशास्त्र भएकोले समाजलाई बुझ्न अझ सहयोग गर्यो । आफू महिला भएको कारणले पनि महिला माथि भएको कुनै पनि प्रकारको हिंसा, दुव्र्यवहार शोषणको कुराले एकदम पीडा दिने गर्छ । कामसँगै महिनावारी सम्बन्धी थुप्रै तालिम लिने अवसर मिल्यो । त्यपछि मैले महिनावारी प्रक्रियालाई राम्रोसँग बुझें र सबै कुराले म भित्रको अन्धकारको जालोलाई चिर्न मद्दत गर्यो ।

सबैभन्दा पहिले मैले सिकेको कुरालाई पूर्ण रुपमा व्यवहारमा उतारें ,मेरो सोच परिवर्तन गरें महिनावारी भनेको प्राकृतिक प्रक्रिया हो । प्रकृतिले हामीलाई जे कुरा आवश्यकता छ त्यो कुरा दिएको छ । यदि संसारमा कोही महिला महिनावारी हुने प्रक्रिया थिएन भने मानिस जन्मने प्रक्रिया नै बन्द हुन्थ्यो । आमा बन्नको लागि हामी महिनावारी हुन जरुरी छ । त्यही महिवारीको कारण हामी यो संसारमा छौं । महिलाको पूरै जीवनचक्र महिनावारीसँग जोडिएको हुन्छ । मैले झण्डै ५/६ सय महिला तथा किशोरीहरुलाई महिनावारी सम्बन्धी तालिम प्रदान गर्ने मौका पाएँ । विभिन्न अनुभवले यो बताउँछ कि महिला होस् वा पुरुष हामी सबै हरेक कुरामा आधुनिक भयौं तर सोच पुरानै छ । जसले गर्दा विभेद झन् बढिरहेको छ । महिनावारीलाई नकारात्मक दृष्टिकोणले नहेरों । सकारात्मक परिवर्तको लागि पहिले आफूलाई परिवर्तन गर्नु एकदम जरुरी छ ।

अहिलेको अवस्थामा पनि महिनावारी भएकै कारण छुवाछुत, विभेद, हिंसा सँगै धेरैजना महिला तथा किशोरीले मृत्युबरणसम्म गर्नु परेको अवस्था छ । यो भन्दा दर्दनाक पीडा अरु के हुन्छ होला । पढेलेखेका व्यक्तिहरुको कमी छैन हाम्रो समाजमा जति पढे पनि हामी व्यववहारिक हुन सकेनौं । थोरै मात्र परिवर्तनले हाम्रो पूरै समाज परिवर्तन हुँदैन । अझै पनि महिनावारीलाई यो पाप हो महिनावारीको बेलामा छोयो भने भगवान रिसाउँछन् भन्ने मनोभाव परिवर्तन भएको छैन । अनि डर छ कि भगवान रिसाए अनिष्ठ हुन्छ भन्ने । यहाँ ठूला ठूला सवालका मुद्धा बोकेर हिंड्नेको पनि मानसिकता उही छ । सामाजिक क्षेत्रमा आवद्ध धेरै कार्यकर्ताको पनि मानसिकता उही छ । लेखिएका कुरा भन्दा परम्परागत रुपमा चल्दै आएका कतिपय चलन, प्रचलनले जरो गाडेको छ हाम्रो समाजमा । अनि हामी पूर्णरुपले साथ दिइरहेका छौं ।

कुनै एउटा कार्यक्रममा महिनावारीलाई बार्नु हुँदैन भनेर भाषण गरेको आधारमा विभेद हट्ने छैन । बोल्नु धेरै पर्दैन जहाँ तपाईंले व्यवहारमा उतार्नु भयो भने । हाम्रो मनोविज्ञानले अरुले भनेको र बोलेको कुरा भन्दा देखेका कुरा छिटो टिप्न सक्छ अनि त्यहि अनुसारको मानसिकता विकास गर्छ त्यसकारण गरेर देखाऔं । महिनावारीको वारेमा खुलेर कुरा गरौं, सानासाना नानीहरुलाई पनि बुझाउँ यो प्रक्रियाको बारेमा डर पैदा नगरौं । महिनावारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आयो भने मात्र पनि धेरै हिंसा र विभेदका घटना आफैं हटेर जानेछन् । सकेसम्म अरुलाई बुझाउने कोसिस गर्नुहोस् यदि अरुलाई बुझाउन सक्नु भएन भनेपनि आफू परिवर्तन हुनुहोस् । एकएक व्यक्ति परिवर्तन भएपछि अरु केही गर्नुपर्दैन । महिनावारीको कारण कुनै पाप लाग्ने छैन ढुक्क हुनुहोस् । देखावटी रुपमा मात्र होईन भित्रदेखि परिवर्तन हुने कोसिस गर्नुहोस् सफलता पक्कै मिल्नेछ ।

महिनावारीको वेला अपनाउनु पर्ने कुराहरुमा जोड दिन राम्रो हुन्छ । जस्तै अरु समयको तुलनामा आराम धेरै गर्ने, आफ्नो वातावरणमा अनुकूल हुने पौष्टिक आहार खाने ,सकारात्मक सोचको विकास गर्ने सरसफाईमा ध्यान दिने कुराहरु चाहिँ महिनावारीको बेलामा गर्नैपर्ने कुरा हुन् । जुन बेलामा सहयोगको जरुरी हुन्छ स्याहारको जरुरी हुन्छ त्यो बेलामा विभेद होइन सम्मान र सहयोग गरौं । स्वास्थ्य र मर्यादित महिनावारी बनाउनको लागि सबैले मद्दत गरौं । अन्तर्राष्ट्रिय महिनावारी दिवसको अवसरमा सबैमा शुभकामना धन्यवाद ।
कार्यक्रम संयोजक. 
छोरी संस्था ,ललितपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सबै दललाई ‘रियलाइजेशन’ मा पुर्याउने र ईख नराखी अलिअलि बाँडेर दिने माओवादी सानो होइन

नारायण गाउँले । कांग्रेस र एमाले दुई ठूला शक्ति थिए, स्ट्राइकर थिए ।

महिला र पेवा-संस्कृति

डा. गोविन्दशरण उपाध्याय । डलरेहरूले जति मनुस्मृतिको आलोचना गर्छन्, यसको शक्ति त्यतिनै बढ्छ

हिंसाको सहारा लिएर फुटपाथका व्यापारी हटाउनु समाधान होइन

सोविता गौतम । सशस्त्र द्वन्द्वको बेला मानिसहरू गाउँ–गाउँबाट सुरक्षा खोज्न, ज्यान जोगाउन काठमाडौंमा

हिन्दूकट्टरताको बहस

डा. गोविन्दशरण उपाध्याय । भारतमा हिन्दूवादी सरकार, त्यसको दोश्रो कार्यकालमा अयोध्यामा राममन्दिरको उद्घाटन