कोटेश्वर–कलङ्की सडकखण्डमा चैत २ गतेदेखि सवारीलाई नयाँ नियम
काठमाडौं । ट्राफिक प्रहरीले कोटेश्वर–कलङ्की सडक खण्डमा गुड्ने सवारीसाधनलाई नयाँ नियम लागू गर्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी आगमनलाई सहज बनाउँदै दुर्घटना न्यूनीकरणका लागि चैत २ गतेदेखि लागू गर्ने गरी नयाँ नियम ल्याउन लागेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले सार्वजनिक तथा मालबाहक कम गतिमा गुड्ने सवारीसाधनलाई सडकको बाँया तथा निजी र साना तीव्र गतिमा गुड्ने सवारीसाधनलाई सडकको दायाँ गुड्ने गरी व्यवस्था गर्न लागेको जानकारी दिए । महाशाखाले उक्त सडकखण्डलाई व्यवस्थित गर्न सरोकारवाला निकायसँग छलफल गरेको थियो ।
महाशाखाले यसभन्दा पहिले भक्तपुरको सूर्य्विनायकदेखि कोटेश्वरसम्म उक्त नियम लागू गरिसकेको छ । महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले कोटेश्वरदेखि कलङ्कीसम्मको १० किलोमिटर सडकमा मासिक ८० भन्दा बढी सवारी दुर्घटना हुने गरेको बताउँदै दुर्घटना न्यूनीकरणका लागि उक्त नियम लागू गर्न लागेको जानकारी दिए ।
महाशाखाले उक्त सडकखण्डमा मुख्य लेनमा ५० किलोमिटर प्रतिघण्टा तथा सर्भिस लेनमा २० किलोमिटर प्रतिघण्टाको दरले गति निर्धारण गरिसकेको छ ।