–नारायण गाउँले ।
‘स्वर्णिम वाग्लेले आफ्नै संस्थाकी कर्मचारीलाई वाणिज्य ब्याङ्कको सञ्चालकमा नियुक्त गरेको’ खबर छापिएका रहेछन् । मलाई यो समयको, यो सरकारको र यो पुस्ताको न्यारेटिभ स्वर्णिमजीजस्ता विषयविज्ञ नेताहरूबाट निर्देशित हुनुपर्छ जस्तो लाग्छ । अबका हेडलाइन अर्थतन्त्र र समृद्धिमा केन्द्रित हुनुपर्छ भन्ने लाग्छ । तर उहाँको नाम जोडिएर यस्तो समाचार पढ्दै गर्दा दुःख लाग्नु स्वाभाविक हो । त्यसैले अलिकति समाचारभित्र पस्ने कोसिस गरेँ ।
हेडलाइन पढ्दा त्यो संस्था स्वर्णिम वाग्लेजीको निजी संस्था नै हो कि जस्तो लागेको थियो, तर IIDS भन्ने कुनै नाफामूलक या कमर्सियल संस्था नभएर देशको प्रतिष्ठित थिङ्क ट्याङ्क पो रहेछ । देशकै प्रतिष्ठित अर्थशास्त्री, कूटनीतिज्ञ र प्रशासक डा. भेखबहादुर थापा त्यसको संस्थापक हुनुहुँदो रहेछ । दिगो र सर्वाङ्गीण विकासका लागि नीतिगत अनुसन्धान र पैरवी गर्नु त्यो Institution For Integrated Development Studies (IIDS) संस्थाको मुख्य काम रहेछ । त्यहाँ देशकै विज्ञ अर्थशास्त्रीदेखि, राजनीतिज्ञ, प्रशासक र सामाजिक अध्येतासम्म जोडिएका रहेछन् । स्वर्णिमजी पनि अन्तर्राष्ट्रिय स्तरमा अनुभवी अर्थशास्त्रीका रूपमा त्यो संस्थासँग जोडिन पुगेको सजिलै बुझ्न सकिन्छ । त्यहाँ जोडिएर उहाँले नीतिगत अनुसन्धानमा योगदान गर्नुभएको र आफ्नो विद्वत्तालाई पनि अद्यावधिक राख्नुभएको देखियो । अहिले मन्त्री पदमा पुग्दा उहाँ त्यसको कार्यकारी पदमा हुनुहुन्न ।
यो तस्बिरमा देखिने आस्था भट्टजी त्यहाँ ’इकोनोमिक्स’ क्षेत्रको प्रोग्राम स्पेसलिस्ट हुनुहुँदो रहेछ । भारतदेखि पश्चिमी मुलुकसम्मका प्रतिष्ठित विश्वविद्यालयबाट अध्ययन र विश्वकै प्रतिष्ठितमध्येका कम्पनीहरूमा निर्देशकको रूपमा काम गर्नुभएको रहेछ । डेटा एनालिटिक्स र कन्सल्टिंगका क्षेत्रमा नेपालदेखि अमेरिकासम्म १३ वर्षको लामो अनुभव रहेछ । IIDS जोडिनुअघि विश्वकै ४ ठूलामध्येको एक अकाउन्टिङ्ग नेटवर्क PWC मा काम गर्नुभएको रहेछ ! मेरिट र विज्ञताकै कारण उहाँ उक्त थिंक ट्याङ्कमा जोडिनुभएको देखियो ।
गैरनाफामूलक र गैरराजनीतिक प्रकृतिको त्यस्तो उच्च संस्थामा सँगै काम गरेकै भरमा आस्थाजीको ’मेरिट’ शून्य हुने र उहाँको परिचय ‘स्वर्णिमजीको संस्थाको कर्मचारी’ मात्रै हुने पक्कै नहोला । यो आफैंमा अलि अमर्यादित पनि देखिन्छ । नजिकबाट उहाँको विज्ञता, दक्षता र क्षमता हेर्ने अवसर वाग्लेजीलाई मिलेको पनि हुन सक्छ ।
राष्ट्रिय वाणिज्य ब्याङ्कमा अन्य विज्ञहरूसँगै उहाँ पनि सञ्चालकमा नियुक्त हुनुभएको रहेछ । अन्य पुरुषहरूसँगै एउटा महिलाको नाम देख्दा खुशी लाग्यो । यो पद खजाञ्चीको होइन । कसरी ब्याङ्कलाई प्रतिष्पर्धी र राष्ट्रिय विकासको साझेदार बनाउने भन्ने नीति र कार्यक्रमगत जिम्मेबारीका लागि उहाँ कत्ति पनि अनुपयुक्त व्यक्ति लागेन ।
विधि मिचेर, योग्यतालाई लत्याएर या प्रक्रिया थिचेर भएको नियुक्ति हो भने यसमा मेरो पनि घोर आपत्ति छ । तर त्यस्तो प्रतिष्ठित थिङ्क ट्याङ्कमा सँगै काम गरेकै भरमा मेरिट मिचियो भन्ने आरोप हो भने मेरो त्यसैमा आपत्ति छ ! त्यहाँ स्पेसलिस्ट भएर काम गर्नु आफैंमा योग्यताको पूर्वसूचक हो । यसमा ’कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’को दाबी एकदम पातलो र हक नपुग्ने खालको देखिन्छ ।
हाम्रो समस्या न्यारेटिभमा पनि छ । पुराना नियुक्ति जति सबै भाइभरदारको या लेनदेनको हुन्थ्यो भन्ने होलसेल भाष्य बेचिएको छ र त्यसमा स्वर्णिमजीको पनि हिस्सा छ । तर देशमा कानुन छ । विधि छ । नियमावली, निर्देशिका र पद्धतिहरू छन् । अदालत छ । यसअघि पनि सबै नियुक्ति र बढुवा गलत थिएनन् । अहिले योजना आयोग पुग्नुभएका गुणाकर भट्ट पनि पहिले नै चुनिँदै आउनुभएको हो । अहिलेका मेरिटवाला त्रिवि उपकुलपतिलाई काठमाडौं विश्वविद्यालयको उपकुलपति यसअघिकै सरकारले बनाएको हो । स्वयं स्वर्णिमजीलाई राष्ट्रिय योजना आयोगमा पनि योग्यताकै कारण पुर्याइएको थियो । गलत भाष्यले केही समय आफूलाई लाभ होला तर घुमेर फेरि त्यो आफैंमाथि आउँछ ।
हेडलाइनमा यसपाली चित्त बुझेन । आस्थाजीको व्यक्तित्व, योग्यता र डिग्निटीलाई अलि हलुका र अनुपयुक्त नोटमा प्रस्तुत गरिएजस्तो लाग्यो । आस्था भट्टजीलाई बधाई !

प्रतिक्रिया