पेगासस सफ्टवेयरको निर्माता कि ग्राहक दोषी ?



कूटनीतिज्ञ, पत्रकार र अधिकारकर्मीको फोन ह्याक गर्न प्रयोग गरिएको भनिएको शक्तिशाली जासुसी सफ्टवेयरका निर्माणकर्ताले गलत कार्यको दोष आफूलाई नभई ग्राहकलाई दिनुपर्ने बताएको छ । पेगासस सफ्टवेयरको निर्माता एनएसओ समूहले त्यसको दोष आफूलाई दिनु भनेको ‘रक्सीले मात्तिएको ड्राइभरले दुर्घटना गराउँदा कार उत्पादकको आलोचना गर्नुजस्तो’ भएको बताएको छ ।

निर्दोष मानिसहरूमाथि निगरानीका लागि प्रयोग गरिएको विवरण आएपछि इजरेलको एनएसओ समूहले अन्तर्राष्ट्रिय स्तरमा आलोचना खेपिरहेको छ । पत्रकारले प्राप्त गरेका ५० हजार फोन नम्बरको सूची सानो अंश मात्रै भएको भनिएको छ र यस विषयमा अनुसन्धान सुरु भएको छ । पेगाससले मोबाइल फोनमा प्रवेश गरेर त्यसका सन्देश, तस्बिर र इमेलहरू निगरानी गर्न, फोन सम्वाद रेकर्ड गर्न एवम् गोप्य रूपमा माइक्रोफोन र क्यामेरामार्फत निगरानी गर्न दिन्छ ।

एनएसओ समूहले उक्त सफ्टवेयरको उद्देश्य अपराध र आतङ्कवादविरुद्ध प्रयोग गर्नु रहेको जनाएको छ । र त्यो राम्रो मानवअधिकार अवस्था भएको देशका सेना, कानुन कार्यान्वयनकर्ता र गुप्तचर निकायहरूलाई मात्रै उपलब्ध गराइएको उक्त समूहको दाबी छ । फर्बिडन स्टोरिज नामको एक फ्रेन्च संस्थाको नेतृत्वमा संसारभरका सञ्चारसंस्थाको गठबन्धनले यसबारे दर्जनौँ समाचारहरू प्रकाशित गरेका छन् ।

उसले तयार पारेको एउटा सूचीमा फ्रेन्च राष्ट्रपति एमानुअल माँक्रोको नम्बर समेत निशानामा राखिएको दाबी गरिएको छ । एनएसओ समूहले उक्त सूची साइप्रस सर्भरबाट चोरी भएको आफूलाई बताइएको जनाएको छ । सो कम्पनीका प्रवक्तालाई बीबीसीलाई भने, ‘साइप्रसमा हाम्रो सर्भर छैन। र हामीसँग हाम्रा ग्राहकले सङ्कलन गर्ने विवरणमा पहुँच छैन।’ ‘साथै हाम्रा सेवाग्राहीहरू एकअर्कासँग सम्बन्धित छैनन्। सबै सेवाग्राही अलग्गै छन्।’ जसले गर्दा त्यस्तो सूची कतै पनि हुनु नपर्ने उक्त कम्पनीले जनाएको छ।

‘यो अचम्मलाग्दो बेतुकको सङ्ख्या हो,’ ती प्रवक्ताले भने । ‘हाम्रा सेवाग्राहीको औसतमा वर्षमा १०० जना जति निशाना हुन्छन्। सुरुदेखि नै हाम्रो कुल ५० हजार निशाना छैनन्।’

हालैका वर्षमा कयौँ पटक उक्त कम्पनीले दमनकारी सरकारहरूलाई निर्दोष मानिसलाई ह्याक गर्ने अनुमति दिएको आरोप लाग्ने गरेको छ । जसमा हत्या गरिएका वासिङ्टन पोस्टका स्तम्भकार जमाल खशोग्जी निकट मानिसहरू समेत परेका छन् । तर उक्त कम्पनीले त्यस्ता आरोपहरू अस्वीकार गरेको छ । उसले भनेको छ कि को–को निशानामा परेका छन् भनेर कम्पनीले नियमित छानबिन नगर्ने भए पनि आफूले सेवा बेचेकाहरूलाई जाँच्ने प्रणाली भने छ।

यसै महिनाको सुरुमा एनएसओ समूहले आफ्नो पारदर्शितासम्बन्धी एउटा प्रतिवेदन जारी गरेको थियो । जसमा भनिएको छ, ‘हामीले आफूलाई उच्चतम तहमा कायम राख्दै सुपरिवेक्षण र पारदर्शितासाथ काम गर्नुपर्छ… जसले सार्वजनिक सुरक्षा र मानव अधिकार एवं गोपनीयताको चासोलाई सुनिश्चित गर्न सकोस्।’ तर बुधवार उक्त कम्पनीका प्रवक्ताले भने, ‘यदि म कारको उत्पादक हुँ र यतिखेर तपाईँले कार लगेर रक्सीले मात्तिँदै चलाउँदा कसैलाई ठक्कर दिनुभयो भने तपाईँ कार उत्पादककोमा जानुहुन्न बरु चालककोमा जानुहुन्छ।’ ‘हामीले सरकारलाई यी प्रणाली पठाउँछौँ र सही व्यक्तिका स्वीकृति लिँदै त्यसलाई कानुनी रूपमा काम गर्छौँ।’ उनले कुनै सेवाग्राहीले प्रणालीको दुरुपयोग गरेमा उसले त्यसपछि सेवा नपाउने बताए। ‘तर सबै आरोप र औँलाहरू ती सेवाग्राहीप्रति तेर्स्याइनुपर्छ।’

उक्त सूचीमा फोन नम्बर परेकामध्येका ६७ जनाले फोन प्राविधिक जाँच लागि दिन स्वीकार गरेका छन् । एम्नेष्टी इन्टरनेशनल सेक्युरिटी ल्याब्सको उक्त अनुसन्धानले फेला पारे अनुसार पेगाससले तीमध्येका ३७ वटालाई निशानामा पारेको प्रमाण भेटिएको छ । तर एनएसओ समूहले उक्त सूचीमध्ये केहीमा सो स्पाईवेअरको प्रभाव कसरी देखियो भन्ने आफूलाई केही जानकारी नभएको जनाएको छ । ती प्रवक्ता भन्छन्, ‘यो एउटा संयोग हुनसक्छ।’

जो टिडी
बीबीसी साइबर संवाददाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कोशीमा शुक्रबारसम्म नयाँ सरकार गठनका लागि आह्वान

विराटनगर । कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८ को उपधारा

सर्बियामा चिनियाँ राष्ट्रपति सीलाई भव्य स्वागत

  सर्बियाका राष्ट्रपति अलेक्जेन्डर भुकिकले बुधबार ताइवानमा चीनको सार्वभौमसत्ताका लागि आफ्नो बलियो समर्थनको

युक्रेनका थप दुई गाउँ कब्जा गरेको रुसको भनाइ

  रुसले युक्रेनका थप दुई सीमावर्ती गाउँ कब्जा गरेको बुधबार बताएको छ ।

पितापुर्खाको सीप पछ्याउँदै अक्करे भिरमा मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम पारेपछि मह सिकारी