आईजीपी कार्कीलाई बर्खास्त गर्न रास्वपा सांसद सुनारको माग


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौँ भ्रष्टाचारको आरोप लागेको भन्दै तत्काल छानबिन गरी बर्खास्त गर्न सरकारसँग माग गरेका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्री बर्खास्त भइसकेको अवस्थामा गम्भीर आरोप लागेका प्रहरी नेतृत्वमाथि सरकार मौन बसेको भन्दै प्रश्न उठाए ।

उनले भने, ‘सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्रीहरू बर्खास्त भइसक्नुभएको छ। तर अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमती लगायतका उच्च अधिकारीहरूमाथि करोडौँ भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ । उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म उजुरीको चाङ लागेको छ । तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजासमेत खाइदिएको आरोप उनीमाथि छ ।’

उनले करोडौँ भ्रष्टाचारको आरोप लाग्दा पनि सरकारले महानिरीक्षक कार्कीलाई बर्खास्त नगर्नु र छानबिन प्रक्रिया अघि नबढाउनुको कारणबारे स्पष्ट पार्न माग गरे । सुनारले प्रहरी संगठनमाथि लाग्ने यस्ता आरोपले गम्भीर अर्थ राख्ने बताए ।