–तोया नारायण पौडेल ।
शिक्षा कुनै पनि देशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासको संवाहक हो। देश विकासमा विद्यालय, विश्वविद्यालय र उच्च शिक्षाको ठूलो महत्त्व हुने गर्दछ । नेपाल एक बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक हो। यहाँको शिक्षा प्रणाली विगत केही दशकदेखि विस्तार हुँदै आएको छ । नेपालमा औपचारिक शिक्षा प्रणालीको सुरुवात वि.सं. २००७ सालपछि मात्र संस्थागत रूपमा भएको हो । त्यसयता शिक्षामा उल्लेखनीय विकास भए तापनि गुणात्मक सुधार भने सन्तोषजनक रूपमा देखिएको छैन । नेपालको विश्वविद्यालय शिक्षाको इतिहास त्रिभुवन विश्वविद्यालयको स्थापना वि.सं. २०१६ सालबाट सुरु हुन्छ। पछिल्ला वर्षहरूमा काठमाडौं, पूर्वाञ्चल, पोखरा, लुम्बिनी, सुदूरपश्चिम, कृषि तथा वन विश्वविद्यालयजस्ता केन्द्रीय विश्वविद्यालयका साथै प्रदेशीय तहमा मनमोहन प्राविधिक विश्वविद्यालय, मधेश विश्वविद्यालय, गण्डकी विश्वविद्यालय, बागमती प्रदेश विश्वविद्यालय आदि स्थापना भइसकेका छन् । लगभग देशको जुनसुकै स्थानमा विद्यार्थीले आफूले चाहेको र देशलाई आवश्यक पर्ने विषय पढ्न पाउने स्थिति देखिन्छ। तर धेरैजसो युवाले यहाँको पढाइलाई त्यति मन नपराएर हो कि विदेश जाने मोहले हो, विकसित देश होस् वा जुनसुकै देश जान पाए पनि जान तयार देखिन्छन्, जुन कुरा ती युवा, देश र समाजकै लागि राम्रो होइन ।
हाम्रा विश्वविद्यालयमा पनि धेरै समस्या नभएका होइनन्, तर ती समाधान गर्न सकिने नै छन्। कतिपय विद्यार्थीको चाहनाअनुसारको पाठ्यक्रम र पठनपाठन विधि नभएको विद्यार्थीहरूले मन नपराएको देखिन्छ । परीक्षा प्रणालीलगायत शैक्षिक क्यालेन्डर लागू गर्ने विषयमा हाम्रा विश्वविद्यालय पछाडि नै देखिन्छन्। नयाँ सरकारले यस विषयमा राम्रोसँग ध्यान दिएको जस्तो देखिन्छ, जसका कारण आगामी वर्ष यी समस्याले निश्चित रूपमा समाधान पाउनेछन् भन्ने अपेक्षा गर्न सकिन्छ। जबसम्म देशले शैक्षिक जनशक्तिलाई आफ्नै देशमा उपयोग गर्न सक्दैन, तबसम्म देश बन्दैन। देश बनाउने जिम्मा युवाको काँधमा नै हुन आउँछ, तर युवालाई यहीँ बस्ने र उद्यमशील बनाउने कर्तव्य राज्यको हुन आउँछ। शिक्षा प्रणाली पनि समयअनुकूल हुनुपर्छ । आजको विश्वले योग्यता प्रमाणपत्रमा मात्र होइन, समस्या समाधान गर्ने क्षमता, सीप, प्रविधि, अनुसन्धान र सिर्जनशीलतामा खोजिरहेको छ। शिक्षालाई व्यावहारिक बनाई अनुसन्धान र उद्यमशीलतासँग जोड्न सके बेरोजगारीको समस्या धेरै हदसम्म घट्न सक्छ।
नेपाल सरकारले देशका सबै प्रदेशमा पुग्ने गरी प्राविधिकलगायत अन्य विषयका पठनपाठन हुने सरकारी, सामुदायिक तथा निजी कलेजको व्यवस्था गरेको छ। विभिन्न वर्गलाई लक्षित गर्दै पूर्ण छात्रवृत्तिलगायत आंशिक छात्रवृत्तिको व्यवस्था पनि गरेको छ। निजी क्षेत्रबाट सञ्चालित कलेजहरूले कम्तीमा १० प्रतिशत छात्रवृत्ति दिनुपर्ने नियम छ नै । त्यो हुँदाहुँदै पनि सरकारी र सामुदायिक कलेजसँग मिलाउँदा जम्मा सिटको करिब २० प्रतिशत छात्रवृत्ति विद्यार्थीले पाउने अवस्था छ । त्यस विषयमा जानकारी लिनका लागि अहिलेको सूचना प्रविधिको समयमा विद्यार्थी अलि चनाखो हुनुपर्ने देखिन्छ। यतिबेला स्नातक तहमा पढ्ने विद्यार्थीका लागि भर्ना गर्ने बेला हो । लगभग सबैजसो विद्यार्थीले विभिन्न विश्वविद्यालयको छात्रवृत्तिका लागि फाराम भरिसक्नुभएको होला । विद्यार्थीको अर्को कमजोरी के पनि देखिन्छ भने कुनै एउटामा मात्र फाराम भरेर अरूको मतलब नगरी बस्दा केही विद्यार्थीले भर्नासमेत नपाउने स्थिति देखिन्छ ।
विद्यार्थीले सबैभन्दा पहिला गर्नुपर्ने कुरा के हो भने आफूले कुन विषय, कहाँ र कसरी पढ्ने तथा कुन–कुन ठाउँमा उक्त विषय उपलब्ध छ भनेर बुझेर बस्नुपर्छ। त्यो पढ्नका लागि कम्तीमा कुन–कुन कागजपत्र र प्रमाणपत्रको आवश्यकता पर्छ भन्ने जानकारी हुनुपर्छ । स्नातक तहमा विद्यार्थीले जुनसुकै विषय पढे पनि फरक पर्दैन, तर मेहनत चाहिन्छ । इन्जिनियरिङ सङ्कायमा त भर्ना भएका विद्यार्थीमध्ये लगभग ३० प्रतिशत विद्यार्थीले उत्तीर्ण गर्न सक्दैनन् । हाम्रो प्लस टुको प्रणाली र स्नातकको पाठ्यक्रमको प्रणालीमा धेरै नै फरक भएकोले विद्यार्थीले प्लस टुकै तरिकाले अध्ययन गर्दा असफल हुने गरेको देखिन्छ। तर हाम्रा सबै विश्वविद्यालयको पाठ्यक्रम संसारका उत्कृष्ट १०० विश्वविद्यालयको भन्दा फरक छैन, तर पढाउने तरिकामा केही फरक छ नै । हामी हाम्रो माटो र समुदायलाई आवश्यक हुने तरिकाले पढाउने गर्दछौँ। केही वर्षअघि काठमाडौं केन्द्रित पठनपाठन हुन्थ्यो भने अहिले लगभग सातै प्रदेशमा धेरैजसो विषयका जनशक्ति पाउन सकिन्छ, जसले गर्दा विद्यार्थीले पनि सही मार्गदर्शन पाउने गरेका छन् ।
विद्यार्थीले सकभर छात्रवृत्तिमा अध्ययन गर्ने गरौँ, जुन विश्वविद्यालयमा आफूले रोजेको विषय लिएर पढौँ । यदि छात्रवृत्तिमा पढ्न पाइएन भने आफूलाई पायक पर्ने जुनसुकै कलेजमा गएर पढ्दा हुन्छ। धेरै महँगो कलेजमा गएर पढ्नुपर्ने आवश्यकता पर्दैन। अहिले सबै कलेजहरूले शिक्षक, प्रयोगशाला, पुस्तकालयलगायत भौतिक संरचनामा धेरै नै लगानी गरेको देखिन्छ, सुनिन्छ। धेरै शुल्क तिर्दैमा राम्रो हुने त होइन, तर विद्यार्थीलाई पाठ्यक्रमबाहेक विश्वसामु प्रतिस्पर्धा गर्न सक्ने पाठ्यक्रमलाई पनि जोड्दै जान सक्नुपर्छ । अहिले बजारमा स्नातक तहका विभिन्न सङ्कायमा पठनपाठन गर्नका लागि कतिपय निजी कलेजहरूले शुल्कको प्रतिस्पर्धा गरेको देखिन्छ, सुनिन्छ। निजी कलेजमा निजी लगानी हुने भएकाले सरकारीभन्दा केही महँगो हुनु स्वाभाविक हो, तर विभिन्न बहाना बनाएर धेरै महँगो कलेजमा जानका लागि हतार नगर्नुहोस् भन्ने मेरो आशय हो ।
सकभर भर्खरै प्लस टु सकेका विद्यार्थीले नेपालमै आफ्नै समाज र परिवारसँग बसेर स्नातक तह पास गर्नुस्। स्नातक तह भनेको हामी सबैको गरिखाने विषय हो, जसले हाम्रो परिवार र समाजलाई मार्गदर्शन गर्न सकिन्छ । पढ्नु मात्र ठूलो कुरा होइन, त्यसलाई उपयोगमा ल्याउन सक्नु अर्को उपलब्धि हुन आउँछ। सबै पढ्नेले जागिर खाने भन्ने मात्र होइन, आफू कसरी उद्यमशील बन्ने र देश तथा विदेशमा कसरी बिक्न सकिन्छ भन्ने ठूलो कुरा हो ।
अन्तमा, हामी नेपालमा जन्म लिएको भनेको यही देशमा बस्न र कार्यस्थल बनाउनका लागि हो । युवा यही सुन्दर देशमा बस्ने वातावरण बनाउने जिम्मेवारी सरकारकै हो । हाम्रा युवा कोही पनि यो देश छाडेर बाहिर जान चाहेका छैनन्, तर अहिलेसम्मको स्थितिलाई हेर्दा कोही नेपाल बस्न खोजेको जस्तो पनि देखिँदैन । केही कमजोरी अवश्य छन्। अब सबै मिलेर यो देशलाई सुन्दर र उत्कृष्ट बनाउने हामी सबैको जिम्मेवारी हो । हेरौँ, नयाँ सरकारले सबै कुरा बुझेको छ, बिस्तारै गर्दै जान्छ होला। आशा गरौँ, यो सरकारले संकल्प गरेका वाचाहरू व्यवहारमा देखिनेछन्। युवाले आफ्नो सीप, श्रम र सपना आफ्नै माटोमा समर्पित गर्ने वातावरण बन्नेछ। समाजमा एकता, सद्भाव र सहकार्यको भावना जीवित रहनेछ। अनि देश समृद्धिको बाटोमा अगाडि बढ्नेछ ।
(साढे दुई दशकभन्दा लामो समयदेखि नेपालको इन्जिनियरिङ शिक्षा क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका पौडेल हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय शिक्षा विभागका सदस्य छन्।)

प्रतिक्रिया