गगन थापाको प्रश्नः यतिखेर सरकार के गर्दैछ, कहाँ छ सरकार ?


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वदलीय बैठकमा सरकारको खोजी गरेका छन् ।

बुधबार बिहान रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा सभापति थापाले बैठकमा प्रधानमन्त्री उपस्थित नभएकोमा असन्तुष्टि जनाएका हुन् ।

सुनसरी घटनाकाबारेमा रास्वपा सभापति लामिछानेले सर्वदलीय बैठक आह्वान गरेकोमा धन्यवाद दिँदै भने, ‘यतिखेर सरकार के गर्दैछ, सरकार कहाँ छ ? सरकार स्ट्याटसमा सीमित छ । सरकारले अरुलाई विश्वास गर्नुपर्छ ।’

उनले प्रधानमन्त्रीले सर्वदलीय बैठक नबोलाउने, राष्ट्रपतिसँग नभेटेको भन्दै असन्तुष्टि जनाए । उनले भने, ‘यतिखेर त प्रधानमन्त्रीले तत्कालै सर्वदलीय बैठक बेलाउने, राष्ट्रपति भेट्ने र प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरेर साझा प्रयास गर्नु पर्ने हो ।’ उनले विपत्तिमा राजनीतिक दलहरु एक हुनुपर्ने बताए । उनले भने, ‘यस्तो बेला पनि प्रधानमन्त्रीले भाउ खाएर बस्ने, ठालू बनेर बस्ने ?’

सभापति थापाले सुनसरी घटनालाई कांग्रेसले आन्तरिक हिसाबले छानबिन गर्ने तर सरकारलाई अप्ठेरोमा नपार्ने बताए ।

सर्वदलीय बैठकमा नेपाली काग्रेसका सभापति गगन थापा, नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका महासचिव शङ्कर पोखरेल, जनमतका पार्टीका अध्यक्ष डा. सीके राउत, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, अर्थमन्त्री डा. स्वणिम वाग्ले, नेपाली काग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बे, रास्वपाका उपनेता गणेश पराजुली, रास्वपाका महामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक खुश्बु ओली, श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईलगायत सहभागी भएका थिए । तर बैठकमा प्रधानमन्त्री बालेन साह र गृहमन्त्री सुदन गुरुङ अनुपस्थित रहे ।