सरकारको आध्यात्मिक पर्यटन नीतिलाई विश्वमञ्चमा सार्थकता दिने सद्गुरुदेवको महायोग अभियान


-शैलेन्द्रकुमार श्रेष्ठ

हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानले प्रत्येक वर्ष जुन २१ मा मनाइने अन्तर्राष्ट्रिय योग दिवसको विश्वव्यापी सन्देश तथा नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा धार्मिक, आध्यात्मिक तथा वेलनेस पर्यटनलाई राष्ट्रिय प्राथमिकतामा राखेको दूरदर्शी नीतिलाई मध्यनजर गर्दै करिब दुई सय पचास वर्षपछि नेपालकै तपोभूमिमा परमपूज्य सद्गुरुदेव जगद्गुरु महायोगी सिद्धबाबाले पुनर्जागृत गर्नुभएको दुर्लभ हिमालयन सिद्ध महायोगलाई विश्वसमक्ष परिचित गराउने ऐतिहासिक अभियान सञ्चालन गरिरहेको छ।

विश्वशान्ति, मानव स्वास्थ्य, मानसिक सन्तुलन, तनावमुक्त जीवन, प्रेम, सद्भाव र समृद्धिको सन्देश नेपालबाट सम्पूर्ण मानवजातिसम्म पुर्‍याउने उद्देश्यले सद्गुरुदेवको नेतृत्वमा ‘फ्रम द हिमालयाज अफ नेपाल टु क्यानाडा – अ मिसन अफ पिस, मेडिटेसन एन्ड युनिभर्सल हार्मोनी’ अभियान क्यानाडामा सञ्चालन भइरहेको छ। यो अभियान केवल योग वा आध्यात्मिक प्रवचनमा सीमित छैन; यसले नेपालको प्राचीन ऋषि–परम्परा, योग, ध्यान र ब्रह्मज्ञानलाई विश्वसामु पुनःस्थापित गर्ने राष्ट्रिय महत्त्वको दायित्व पनि निर्वाह गरिरहेको छ।

२७ जुनदेखि ११ अगस्ट २०२६ सम्म क्यानडाका विभिन्न प्रमुख सहरहरूमा सञ्चालन भइरहेको यो अभियानमा नेपाली तथा भारतीय मूलका समुदाय मात्र नभई विभिन्न देश, धर्म र संस्कृतिका नागरिकहरू पनि ठूलो उत्साह र श्रद्धाका साथ सहभागी भइरहेका छन्। यसले महायोग कुनै एक धर्म वा समुदायमा सीमित नभई सम्पूर्ण मानवताको साझा आध्यात्मिक सम्पदा भएको स्पष्ट सन्देश दिएको छ।

नेपाल सरकारले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘देवभूमि नेपाल’, तीर्थ कूटनीति, धार्मिक तथा वेलनेस पर्यटन, हिमाली क्षेत्रमा योग–ध्यान केन्द्र स्थापना तथा नेपाललाई ‘ग्लोबल वेलनेस टुरिजम डेस्टिनेसन’ बनाउने लक्ष्य अघि सारेको छ। सद्गुरुदेवको यो अभियानले सरकारको यही दृष्टिलाई अन्तर्राष्ट्रिय स्तरमा व्यवहारिक रूप दिन महत्त्वपूर्ण योगदान गरिरहेको छ। त्यसैले यसलाई केवल व्यक्तिगत धार्मिक अभियानका रूपमा नभई नेपालको सांस्कृतिक कूटनीति, आध्यात्मिक पर्यटन र राष्ट्रिय हितसँग जोडिएको अभियानका रूपमा हेर्नुपर्छ।

यस अभियानकै क्रममा क्यानडाको अल्बर्टा प्रान्तमा आयोजित हिमालयन मेडिटेसन एन्ड विज्डम टुर को उद्घाटन समारोहमा अल्बर्टाको आधिकारिक प्रतिपक्षका नेता नाहिद नेन्सी तथा विधायक ब्रुक्स आर्कान्ड-पलको तर्फबाट सद्गुरुदेवलाई वैदिक दर्शन र आध्यात्मिक जागरणका क्षेत्रमा जीवनभर पुर्‍याउनुभएको योगदानको सम्मानस्वरूप सर्टिफिकेट अफ रिकग्निसन प्रदान गरिएको थियो।

त्यसैगरी, अल्बर्टा प्रान्तीय विधानसभाका सदस्य तथा आर्थिक करिडोर विकाससम्बन्धी संसदीय सचिव माननीय शेन गेट्सनले विश्वशान्ति, ध्यान र सार्वभौमिक सद्भाव प्रवर्द्धनमा सद्गुरुदेवको योगदानको कदर गर्दै साइटेसन अफ रिकग्निसन प्रदान गर्नुभयो।

यी सम्मानहरू केवल सद्गुरुदेवप्रतिको सम्मान मात्र होइनन्; यी नेपालको सनातन वैदिक परम्परा, हिमालयको आध्यात्मिक सम्पदा र सम्पूर्ण नेपालीको राष्ट्रिय गौरवप्रतिको अन्तर्राष्ट्रिय सम्मान हुन्। हिमालयको प्राचीन ज्ञान र क्यानडाको बहुसांस्कृतिक समाजबीच बनेको यो आत्मीय सम्बन्धले नेपालको आध्यात्मिक पहिचान विश्वमञ्चमा थप सुदृढ भएको छ।

नेपालसँग संसारलाई दिन सक्ने सबैभन्दा ठूलो सम्पत्ति केवल हिमाल र प्राकृतिक सौन्दर्य मात्र होइन, हजारौँ वर्ष पुरानो योग, ध्यान, तपस्या, आयुर्वेद र ऋषि-परम्परा पनि हो। यदि यी सम्पदालाई व्यवस्थित रूपमा विश्वसमक्ष प्रस्तुत गर्न सकियो भने नेपाल विश्वकै अग्रणी आध्यात्मिक तथा वेलनेस पर्यटन केन्द्र बन्ने आधार बलियो बन्न सक्छ।

नेपालको आध्यात्मिक सम्पदा केवल धार्मिक आस्थाको विषय मात्र होइन; यो राष्ट्रको आर्थिक रूपान्तरणको बलियो आधार पनि बन्न सक्छ। सद्गुरुदेव स्वयं योग, आयुर्वेद र प्राकृतिक जीवनशैलीका ज्ञाता हुनुहुन्छ। उहाँको मार्गदर्शनमा नेपालको जडीबुटी, प्राकृतिक उपचार, योग, ध्यान र आयुर्वेदलाई एकीकृत गर्दै अन्तर्राष्ट्रिय स्तरका वेलनेस केन्द्र, आयुर्वेद अनुसन्धान संस्था तथा स्वास्थ्य पर्यटनको विकास गर्न सकिन्छ। हिमालयको स्वच्छ जल, जैविक उत्पादन र प्राकृतिक सम्पदालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न सकियो भने नेपालको अर्थतन्त्रले नयाँ दिशा लिन सक्छ।

यससँगै आध्यात्मिक पर्यटनको विस्तारले होटल, यातायात, कृषि, हस्तकला, स्थानीय उत्पादन र सेवा क्षेत्रलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछ। लाखौँ विदेशी साधक र पर्यटक नेपाल भित्र्याउन सकियो भने हजारौँ नेपाली युवाले स्वदेशमै सम्मानजनक रोजगारी र उद्यमका अवसर पाउनेछन्। यसले विदेशमा श्रम बेच्नुपर्ने बाध्यतालाई पनि क्रमशः कम गर्न महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

आज अमेरिका, बेलायत, क्यानडा, अस्ट्रेलिया, भारतलगायतका मुलुकहरूमा सद्गुरुदेवबाट प्रदान गरिने ब्रह्मज्ञान र हिमालयन सिद्ध महायोग तीव्र रूपमा फैलिरहेको छ। सीमित स्रोत र साधनका बाबजुद सद्गुरुदेवको दृढ संकल्प तथा हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानको निस्वार्थ प्रयासले अन्तर्राष्ट्रिय सम्मान र विश्वास जित्न सफल भएको छ। यो उपलब्धि स्वयंमा नेपालको आध्यात्मिक सम्पदाको विश्वव्यापी स्वीकारोक्तिको प्रमाण हो।

अब आवश्यक छ, नेपाल सरकारले यस अभियानलाई राष्ट्रिय प्राथमिकताका साथ हेर्ने। सरकारले अघि सारेको ‘देवभूमि नेपाल’, तीर्थ कूटनीति तथा वेलनेस पर्यटन सम्बन्धी नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न सद्गुरुदेवको यस अन्तर्राष्ट्रिय अभियानलाई औपचारिक रूपमा जोड्नु समयको आवश्यकता हो। नेपालका कूटनीतिक नियोग, नेपाल पर्यटन बोर्ड, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, निजी क्षेत्र र सञ्चारमाध्यमबीच समन्वय स्थापित गर्न सकियो भने यो अभियानले विश्वभर नेपालको सकारात्मक पहिचान निर्माण गर्न उल्लेखनीय योगदान पुर्‍याउन सक्छ।

आज नेपालसँग संसारलाई दिन सक्ने दुई दुर्लभ सम्पदा छन-एकातिर देवभूमि, तपोभूमि, हिमालय, अनुपम प्राकृतिक सौन्दर्य र जैविक विविधताले सम्पन्न भूमि; अर्कोतिर यही भूमिमा तपस्याद्वारा पुनर्जागृत भएको हिमालयन सिद्ध महायोग र त्यसको जीवन्त मार्गदर्शन गर्ने सिद्धपुरुष। यी दुवै सम्पदाको उचित संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय परिचय नेपालको ऐतिहासिक जिम्मेवारी पनि हो।

यदि हामीले यो अवसरलाई समयमै चिन्न र राष्ट्रिय अभियानका रूपमा अघि बढाउन सक्यौँ भने नेपाल केवल धार्मिक पर्यटनको गन्तव्यमा सीमित रहने छैन। नेपाल विश्वको आध्यात्मिक राजधानी, ग्लोबल वेलनेस टुरिजम डेस्टिनेसन, योग–ध्यान तथा आयुर्वेदको अन्तर्राष्ट्रिय केन्द्र र दिगो आर्थिक समृद्धिको नयाँ नमुनाका रूपमा स्थापित हुन सक्छ।

त्यसैले सद्गुरुदेवको क्यानडा भ्रमण र हिमालयन सिद्ध महायोगको विश्व अभियानलाई कुनै एक व्यक्ति वा संस्थाको कार्यक्रमका रूपमा मात्र नहेरी नेपालको राष्ट्रिय प्रतिष्ठा, सांस्कृतिक कूटनीति, आध्यात्मिक पर्यटन र आर्थिक भविष्यसँग जोडिएको राष्ट्रिय अवसरका रूपमा ग्रहण गर्नुपर्छ। क्यानडामा प्राप्त अन्तर्राष्ट्रिय सम्मानले यो अभियानको विश्वसनीयता र प्रभावलाई अझ बलियो बनाएको छ। अब यसको उचित मूल्याङ्कन गर्दै सरकार, निजी क्षेत्र र सम्पूर्ण नेपाली समाज एकजुट भएर साथ दिनु आवश्यक छ।

इतिहासले हरेक राष्ट्रलाई बारम्बार यस्ता अवसर दिँदैन। आज नेपाल त्यही दुर्लभ अवसरको संघारमा उभिएको छ। यदि हामीले सद्गुरुदेवको महायोग अभियानलाई राष्ट्रको साझा अभियानका रूपमा आत्मसात् गर्न सक्यौँ भने यसले नेपालको आध्यात्मिक पुनर्जागरण मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिष्ठा, पर्यटन प्रवर्द्धन र आर्थिक समृद्धिको नयाँ युगको पनि शुभारम्भ गर्न सक्छ।

(सशस्त्र प्रहरी बलका पूर्व प्रमुख श्रेष्ठ हिमालयन सिद्ध महायोग आध्यात्मिक प्रतिष्ठानका उपाध्यक्ष हुन् भने करिब डेढ दशकदेखि विभिन्न सामाजिक कार्यहरूमा सक्रिय रहँदै आएका छन्)