त्रिवि शिक्षा आयोगमा थापाको नियुक्तिमाथि एमालेले उठायो प्रश्न


काठमाडौँ । सरकारले त्रिवि शिक्षा आयोगको अध्यक्षमा पूर्वसचिव किशोर थापालाई नियुक्त गरेको भन्दै विपक्षी दलले प्रश्न उठाएको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले बालेन सरकारले आयोगमा राजनीतिक नियुक्ति गरिएको भन्दै प्रश्न उठाएका हुन् ।

उनले राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेशमार्फत रिक्त गरिएको पदमा राजनीतिक नियुक्ति गरिएको भन्दै प्रश्न उठाएका हुन् ।

महासचिव पोखरेलले भनेका छन्, ‘बालेन सरकारको गजबको तरिका, विश्वविद्यालयलाई राजनीतिमुक्त बनाउने दाबी गर्दै विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारको असली अनुहार मेयरको उम्मेदवार बनेका पूर्वसचिवलाई विश्वविद्यालय सेवा आयोगको अध्यक्षको कुर्सीमा पुर्याएर उदांगिएको छ । राजनीतिकरण अन्त्य गर्ने नाममा अध्यादेश मार्फत रिक्त गरिएको पदमा आफ्नो दलको खÞास मान्छे भर्ती गर्नेकुरा ‘जान्नेलाई छान्ने’ को गजबको तरिका रहेछ । हैन र !?’

अध्यादेशबाट सेवा आयोगको अध्यक्ष बर्खास्त भएपछि उक्त पद रिक्त थियो । थापा केही समय विवेकशील साझा पार्टीमा आवद्ध भएर २०७४ सालमा काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए । तर उनी निर्वाचनमा पराजित भएका थिए । त्यसपछि उनी पार्टी छाडेर बसेका थिए ।