बालेनको ‘अग्र्यानिक प्रतिनिधित्व’ झापाबाट हुँदैन


-नारायण गाउँले ।

ओलीप्रति बालेन अलि ’पर्सनल’ छन् भन्ने आमबुझाइ छ । यदि ओलीलाई हराउनमात्रै जन्म र कर्म दुबै नजोडि़एको झापाबाट उठ्ने हो भने यो बुझाइ सत्य साबित हुनेछ । जेनजी विद्रोह र नागरिकको हत्यामा तत्कालीन प्रम र गृहमन्त्रीलाई कुनै कारबाही गर्नुको साटो ओलीलाई त घरमै पुगेर बयान लिए जस्तो मात्रै गरेकोले ओलीलाई चुनाबबाटै रोक्न पर्ने बाध्यता भएको तर्क केहीको रहेछ ।

जेनजी विद्रोहको म्यान्डेट आफूसँग रहेको दाबी गर्ने बालेनले त्यो विद्रोहको मुख्य टार्गेट रहेका ओलीलाई हराउन झापा झर्ने सङ्केत गरेको पढ्न पाइयो । यसो गर्दा त्यो विद्रोहलाई न्याय मिल्ने र बलियो राजनैतिक व्यक्तित्व पनि देखिने तर्क रहेछ ।
ओली हराउनै नसकिने नेता होइनन् । माओवादी उम्मेदवारले यसअघि हराएकै पनि हुन् । झापा उनको गृहजिल्ला हो । उनले त्यहाँ काम पनि गरेकै होलान् । राजनैतिक नियुक्तिहरूमा झापा सबैभन्दा अगाडि थियो । कर्णालीमा दर्जनौं झोलुङ्गे पुल बन्न सक्ने पैसा उनले झापामा भ्युटावर बनाउन खर्चेका छन् । उनले पछिल्लोपल्ट राम्रो मतान्तरले जित हासिल गरेका थिए ।
राजनीतिलाई अलि फरक कोर्समा लैजाने हो भने कम्तिमा शीर्ष भनिएका पुराना नेतालाई यसपालि सामूहिक बिदा गर्न सकिन्छ । त्यो निकै हदसम्म सम्भव पनि देखिन्छ ।

तर, तिनलाई तिनै जिल्लाका स्थानीय उम्मेदवार र ताकतले हटाउन सक्ने हो भने राम्रो हुन्छ । संसदीय चुनावमा कसैलाई हराउनुभन्दा पनि त्यहाँका जनता र भूगोलको प्रतिनिधित्व गर्नु ठूलो कुरा हो । प्रधानमन्त्री पद ताकेको नेताका लागि देशको जुनसुकै भूगोल आफ्नो हो भन्न पनि सकिएला तर बालेनको ’अग्र्यानिक प्रतिनिधित्व’ झापाबाट हुँदैन ।

कसले जित्छ, यसै भन्न नसकिएला । बालेन हेभिवेट नै देखिन्छन् । तर उनले साँच्चिकै झापा र केपी ओलीको क्षेत्र रोजे भने यसले देशमा नकारात्मक र व्यक्तिगत ईगोवाला राजनीतिलाई ठूलो बल दिनेछ । विगतमा यस्तो ईगोमैं अल्झिएर देशको ठूलो साधनस्रोत र समय खर्च भएको छ । ओली र माधव नेपालको ईगोले गर्दा झन्डै एक वर्ष संसद नै बन्द भएको अस्तिमात्रै हो । एउटा उम्मेदवारका रूपमा बालेन कहाँबाट लड्छन् भन्ने ठूलो कुरा नहोला, तर राजनैतिक सन्देश र संस्कार ठूलो कुरो हो ।
जितमात्रै ठूलो कुरा होइन । भोलि शासन र डेलिभरीका लागि देशमा सकारात्मक वातावरण र सहिष्णुता चाहिन्छ । कानुनहरू बनाउन र लागू गर्न धेरै पक्षबीच संवाद र सहमति चाहिन्छ ।

एउटा रोचक शो–डाउनको रोमाञ्चकताले गर्दा कतिले स्वाभाविकरूपमैं हौस्याएका होलान् । कतिले विभिन्न इन्ट्रेस्ट राखेर हावा भरेका पनि होलान् । तातो र उत्तेजक सुझाव छिटो बिक्ने र सहीजस्तो लाग्ने समय छ । सुन्ने समय पनि यतिबेला कम छ । जे हुने हो, त्यो भएरै छोड्ला । जे हामीलाई लाग्छ, वस्तुतथ्य त्यस्तो नहुन पनि सक्छ । तैपनि धेरै ढिलो हुनुअघि आफ्नो विचार राख्नु नागरिक कर्तव्य हो । तपाईंसँग फरक दृष्टिकोण र तर्क छ कि ?