मेरो शरीरमा बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस छः गगन थापा


काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनले कहाँ गएर टुंगिन्छ भन्ने आफूलाई नै थाहा नभएको बताएका छन् ।

आइतबार विशेष महाधिवेशनको उद्घाटन समारोहलाई भृकुटीमण्डपमा सम्बोधन गर्दै महामन्त्री थापाले जे हुन्छ विशेष महाधिवेशनको बन्दसत्रले गर्ने बताएका हुन् । उनले केन्द्रीय समितिले आयोजना गरेको भए एजेण्डा सेट गर्ने तर केन्द्रीय समितिले नमानेपछि अब हलले निर्णय गर्ने बताए ।

उनले हलले नेता र नीति बदल्न सक्ने भएकाले त्यसलाई सबैले मान्नुपर्ने बताए । उनले भने, ‘मलाई थाहा छैन, कहाँ गएर यो टुंगिन्छ । तपाईंहरू नीति र नेता बदल्न यहाँ आउनुभएको छ । मलाई अझै पनि कहाँ गएर टुंगिन्छ, थाहा छैन । जे गर्छ भोलि यही हलले गर्छ । यसको नतिजालाई मैले पनि मान्नुपर्छ । अरुले पनि मान्नुपर्छ ।’

महामन्त्री थापाले कांग्रेस दास र लासको पार्टी नभएको बताए । उनले भने, ‘कांग्रेस दास र लासहरूको पार्टी होइन । कांग्रेस ज्युँदो मानिसहरूको पार्टी हो । यहाँ प्रश्न मरेको छैन ।’ त्यस्तै उनले कांग्रेसमा अरु पार्टीमा जस्तो बोल्न नपाइने कोही ’बा’हरू पनि नभएको बताए ।

उनले पार्टी सभापतिलाई आफूले अब मार्ग प्रशस्त गर्नु भनेर पटक पटक भनेपनि त्यसलाई वेवास्ता गरेको बताए । महामन्त्री थापाले आफ्नो शरीरमा दिगंवत नेता बीपी कोइरालाको विचार र गणेशमान सिंहको साहस रहेको बताए ।

उनले भने, ‘हामीले कसैको अपमान गर्दैनौैँ । गणेशमान, बीपीको छोरा म होइन । मेरो शरीरमा गणेशमानको रगत छैन, बीपीको रगत छैन । तर, बीपीको विचार छ, गणेशमानको साहस छ । त्यो बोकेर बसेको हो ।’