निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने एकीकृत समाजवादीको निर्णय


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारी गर्ने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शुक्रबार बसेको सचिवालय बैठकले निर्वाचनको तयारीसँगै देशभर पार्टीका सबै जनवर्गीय सङ्गठन सक्रिय बनाउने निर्णय गरेको हो ।

संविधान र लोकतान्त्रिक प्रणालीको रक्षाका लागि निर्वाचनमा सहभागी हुने निर्णय गरिएको पार्टीका केन्द्रीय उपाध्यक्ष एवं प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

उनका अनुसार त्यसका लागि निर्वाचन अगाडि समान विचारधारा भएका दलबीच तथा वाम समाजवादी पार्टीहरूको सहकार्य र एकता टुङ्गो लगाउने कार्यसूची बैठकले पारित गरेको छ ।

आजको बैठकमा मुलुकको समसामयिक विषय, पछिल्लो विकसित राजनीतिक घटनाक्रमलगायत विषयबारे समीक्षा गरेको प्रचार विभाग प्रमुख ज्वालाले जानकारी दिए । उनका अनुसार बैठकमा जनवर्गीय सङ्गठनहरूले हालसम्मका कार्यप्रगतिबारे छलफल भएको छ ।